मेस्सीको भविष्य बारे आयो लेटेस्ट अपडेट, सन् २०२४ मा कोपा अमेरिका खेल्ने-नखेल्ने टुंगो लाग्यो ?
एजेन्सी – लियोनेल मेस्सीले कोपा अमेरिका २०२४ संयुक्त राज्य अमेरिकामा खेल्ने कि नखेल्ने भन्ने बारे स्पष्ट रुपमा केहि पनि भनेका छैनन्। तत्काल राष्ट्रिय टोलीबाट सन्यास नलिने घोषणा गरिसकेपनि मेस्सीले कोपा अमेरिका खेल्ने कि नखेल्ने भन्ने बारे स्पष्र पार्न बाँकी नै छ।
संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा कोपा अमेरिकाको आयोजना गर्नेछ र सन् २०२६ मा हुने फिफा विश्वकपको लागि आफ्नो आयोजक क्षमता विश्वलाई प्रमाणित गर्ने मौका पाउनेछ।
कोपा अमेरिकाका लागि एक वर्ष भन्दा बढी समय बाँकी रहँदै सो प्रतियोगितामा मेस्सी हुन्छन् कि हुँदैनन् भन्ने विषयमा बहस सुरु भएको छ। विभिन्न मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने मेस्सी सन् २०२४ को कोपा अमेरिकामा सहभागी हुने पक्षमा रहेका छन्।
हालसालै युएसए टुडेले पनि मेस्सी कोपा अमेरिकामा मेस्सी अर्जेन्टिनाको टोलीमा हुने दावी गरेको छ। अर्जेन्टिनाले कोपा अमेरिका उपाधिको रक्षा गर्दा मेस्सीले पनि साथ दिने युएसए टुडेले जनाएको छ।
अर्जेन्टिना वर्तमान दक्षिण अमेरिकी च्याम्पियन हो। अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गरेको थियो। मेस्सी एण्ड कम्पनी वर्तमान विश्व च्याम्पियन पनि हुन् । उनीहरूले टूर्नामेंटको फाइनलमा फ्रान्सलाई पेनाल्टी मार्फत हराएर कतारमा २०२२ फिफा विश्वकप ट्रफी उचालेका थिए।
कतारमा विश्वकप जितेपछि मेस्सीले आफू अहिले नै फुटबलबाट सन्यास लिने पक्षमा नरहेको बताएका थिए। विश्वकप जिते लगत्तै मेस्सीले च्याम्पियनको रुपमा केहि समय खल्ने आफ्नो चाहना रहेको बताएका थिए।
कतारमा विजय पछि मेस्सीले आफ्नो भविष्यको बारे भनेका थिए,”मैले छोटो समयमै कोपा अमेरिका र विश्वकप जितेको छु। राष्ट्रिय टोलीमा हुँदा म जे पनि गर्छु मन पराउँछु। र म विश्व च्याम्पियन भएर अझै केही खेलमा बाँच्न चाहन्छु।”
यसैबीच, लियोनल स्कालोनीले पनि पेरिस सेन्ट-जर्मेन (पीएसजी)का सुपरस्टारलाई सन् २०२६ को विश्वकपमा देख्ने आफ्नो चाहना रहेको बताएका थिए।
स्कालोनीले भने,”सबैभन्दा पहिले, हामीले उनलाई विश्वकप २०२६ को लागि ठाउँ बचाउनु पर्छ। यदि उसले खेलिरहन चाहन्छन् भने, उनी हामीसँग हुनेछन्। मलाई लाग्छ कि उनले खेलिरहन वा के चाहन्छन् भन्ने निर्णय गर्ने अधिकार उनलाई छ।”
अर्को वर्ष कोपा अमेरिका प्रतिष्ठित प्रतियोगिताको ४८ औं संस्करण हुनेछ। प्रतियोगितामा दक्षिण अमेरिकाका उत्कृष्ट टोलीका अलावा उत्तर र मध्य अमेरिका र क्यारेबियनका ६ टोलीले पनि सहभागिता जनाउनेछन् ।
लियोनेल मेस्सी एन्ड कम्पनीले २०२१ मा लियोनेल स्कालोनीको नेतृत्वमा कोपा अमेरिका जितेको थियो। ब्राजिलविरुद्धको फाइनलमा अर्जेन्टिनाका लागि एन्जल डि मारियाले गोल गरेका थिए।