यसरी भएको रहेछ मनले चिताएको पुरा गर्ने दक्षिणकालीमाताको उत्पत्ति
दक्षिणकाली शक्तिकी देवी हुन् । उनलाई मानोकामना पुरा गर्ने देवीको रुपमा पुज्ने गरिन्छ । किम्वदन्तीअनुसार दक्षप्रजापतिको तेत्तिसकोटी कन्या मध्ये दक्षिणकाली पनि एक हुन् ।
आफूले चिताएको काम पुरा हुने अर्थात मनोकामना पूर्ण गर्ने देवीको रुपमा दक्षिणमातालाई पुज्ने गरिन्छ । उहाँको यहि शक्तिका कारण नेपाल, भारतलगाएत विभिन्न देशहरुवाट हिन्दु धर्मावलम्बीहरु यस मन्दिरमा आएर पुजाआजा तथा आरधना गर्ने गर्छन् ।
प्राय सधै हजारौं दर्शनार्थीहरुको भिड लाग्ने दक्षिणकालीमाताको मन्दिर काठमाडौंबाट २२ किलोमिटर दक्षिणमा अवस्थित रहेको छ । हरेक साता शनिबार, मंगलबार र बिहीबार विशेष भिडलाग्ने यो मन्दिरमा दैनिक नित्य पूजा तथा आरधना हुने गर्दछ ।
हरेक वर्ष महाअष्टमीको दिन कालरात्री गर्नको लागि धेरै कुटुम्बहरू माताको मन्दिरमा पुग्ने गर्दछन् । महाअष्टमीको दिन आधा रातमा कालिमातालाई भोग चढाउने परम्परा रहि आएको छ ।
यसका साथै माताको नियमति पूजाका साथै बडा दशैंको अष्टमीमा भोग दिने चलन छ । पहिला माताको मूर्ति मै बलि दिने दिने चलन थियो । पछिल्ला केही वर्षयता मन्दिर परिसरकै छुट्टै शिलामा भोग दिने चलन छ । मातालाई खुशी बनाउनका लागि भोग नदिनेले नरिवल चढाउने प्रचलन चल्दै आएको छ ।
कहाँ उत्पत्ति हुनु भएको हो माता दक्षिणकाली ?
दक्षिणकाmीमाताले आसन लिने क्रममा फर्पिङ शिखरापुर नगरको शिरोभाग अर्थात नगरचो डाँडा (शेषनारायणको शिरमा रहेको गोरखनाथ माथिको डाँडामा विराजमान भएकी हुन् । जंगलको मध्य भागमा शिलामा बिराजमान भएकी दक्षिणकालीको बारेमा कसैलाई पनि जानकारी थिएन र पुजाआजा समेत हुने गरेको थिएन ।
कसको सपनामा आएकी थिइन माता दक्षिणकाली ?
वि.सं. १८२५ तिर प्रताप मल्ललाई राति सपनामा दक्षिणकालीले आफू दक्षिणकाली भएको र फर्पिङ देखि माथि नगरचो डाँडामा शिलामा बिराजमान भएको बताइन् । सपनामा त्यति देखाएतापनि राजाले त्यति ख्याल नदिएकाले दरवारकै पञ्चकन्या मध्य एउटी कन्यालाई दक्षिणकाली प्रकट भई आफू बसेको स्थान र पुजाआजाको बारेमा बताएकी हुन् भन्ने किम्वदन्ती रहि आएको छ ।
कसले स्थापना गरेको हो दक्षिणकालीको मन्दिर
यति थाहा पाए पछि राजा प्रताप मल्लद्वारा तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा प्राचिन दक्षिणकालीको शिला भएको स्थानमा गर्ई विधि पूर्वक पूजा गरियोे । त्यसपछि भूषाकर्ण नामक दुई राक्षस उत्पन्न भई राजाको सपना अनुसार गर्न आदेश दिएको भन्ने गरिन्छ । उनको सपना अनुसार दक्षिणकाली र उनको गण सहित एक रातमा बोकी त्यहाँ देखि दक्षिण तर्फको दुई नदिको शिरोभागमा अर्थात हालको दक्षिणकाली माताको मन्दिर भएको स्थानमा उक्त शिला नै स्थापना गरियो हो ।
त्यसै क्रममा कुमारीलाई हालको कुमारी मन्दिर भएको स्थानमा स्थापना गरियो । गणेशलाई भने लैजाने क्रममा बिहानको भाले बासेपछि पौचो डाँडामा बिसाएर सोही ठाउँमा सिद्ध गराइएको किम्बदन्ति पाइन्छ । दक्षिणकालीको उक्त मन्दिर यदि माताले आशन गरेकै स्थान जंगलको बीचमा, डाँडाको टुप्पोमा गुफा भित्र राखिएकाले उक्त स्थलमा मानिसहरु जाने थिएनन् । माताको दर्शन गर्न गएका मानिसहरुमध्ये पनि पछिल्लो व्यक्ति नफर्कने भन्ने जनश्रुति रहि आएको थियो ।