बजेट खर्च गर्न बालेन संघीयतायताकै कमजोर: सुरु नै भएनन् घोषणा गरेका चर्चित आयोजनाहरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पहिलो बजेट खर्च संघीयता आएपछिकै सबैभन्दा कमजोर बनेको छ । स्थानीय सरकार बनेपछि पहिलो पटक २०७४ मा मेयर निर्वाचित विद्यासुन्दर शाक्यको काम कमजोर रहेको भनेर आलोचना हुँदै आएको छ । तर, बालेनले ल्याएको बजेट खर्च विद्यासुन्दरको भन्दा पनि कमजोर देखिएको छ ।

    गत आर्थिक वर्ष (आव) २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको काठमाडौंले आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार मात्रै खर्च गरेको छ । यो ३६ दशमलव ०४ प्रतिशत मात्रै हो, जुन २०७४ मा पहिलोपटक स्थानीय चुनाव भएपछिकै सबैभन्दा कम हो । विद्यासुन्दरले ल्याएका पाँच आर्थिक वर्षको बजेटको औसत खर्च ४३ दशमलव ३७ प्रतिशत थियो ।

    महानगरको अघिल्लो आर्थिक वर्षमा तत्कालीन मेयर विद्यासुन्दर शाक्यले आफ्नो अन्तिम बजेटको रुपमा ल्याएको ०७८/७९ बजेट भन्दा कम कार्यान्वयन गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा १६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँको बजेट विनियोजन गरेकोमा ७ अर्ब ३० करोड ८९ लाख खर्च भएको छ । जुन अनुमानित खर्चको ४४ दशमलव २५ प्रतिशत रहेको थियो ।

    आर्थिक वर्ष ०७७/७८ मा १५ अर्ब ५६ करोड १५ लाख बजेट विनियोजन गरेकोमा ५ अर्ब ७१ करोड ९ लाख अर्थात ३६ दशमलव ६९ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा १४ अर्ब ४७ करोड ८७ लाख विनियोजन गरेकोमा ६ अर्ब ७१ करोड ३ लाख खर्च अर्थात ४३ दशमलव २७ प्रतिशत खर्च भएको थियो ।

    आव ०७५/७६ मा १२ अर्ब ४ करोड ११ लाख बजेट ल्याएकोमा महानगरले ५ अर्ब ९९ करोड ९२ लाख अर्थात ४९ दशमलव १ प्रतिशत खर्च गरेको थियो ।यस्तै विद्यासुन्दर शाक्यले ल्याएको पहिलो बजेट १२ अर्ब ४ करोड ३९ लाख रुपैयाँ मध्ये ४ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ खर्च भएको थियो । जुन ३८ दशमलव ७८ प्रतिशत मात्रै हो ।

    सुरु नै भएनन् बालेनले घोषणा गरेका चर्चित आयोजनाहरु: काठमाडौं महानगरपालिकाले बजेट, नीति कार्यक्रममा घोषणा गरेको कतिपय चर्चित कार्यक्रम सुरु नै नगरी आर्थिक वर्ष अन्त्य गरेको छ । महानगरपालिकाको मेयर शाहले बजेटमा राखेका महत्वकाङ्‍क्षी योजनाहरु नै कार्यान्वयन गर्न नसकेका हुन् ।

    महानगरले गत आर्थिक वर्षको बजेटमा एम्फी थिएटर निर्माण गर्ने र डबली पुनः निर्माण गर्ने घोषणा गरेको थियो । तर, महानगरले त्यो काम सुरु नै गरेको छैन । बालेनले बस स्टेसनमा परम्परागत शैलीमा फाल्चा निर्माणको घोषणा गरेका थिए, जुन घोषणा मै सीमित भएको छ ।

    त्यस्तै बालेनले रैथाने पेय पदार्थ ‘ऐला’को ब्रान्डिङ गर्ने घोषणा गरेका थिए, त्यसमा काम नै सुरु गर्न सकेनन् । यस्तै, महानगरभित्र होमस्टे सञ्चालन गर्ने र त्यसको थालनी हाँडीगाउँबाट गर्ने बताएका थिए तर अहिलेसम्म महानगरले सुरु नै गर्न सकेका छैनन् ।

    घोषणा गरेका कतिपय कार्यक्रमहरु प्राविधिक कारणहरुले गर्न नसकिएको काठमाडौं महनगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आर्थिक वर्ष ०७९/८० मा बजेट कार्यान्वयन प्रभावकारी रुपमा हुन नसकको स्वीकार गरे ।

    ‘हामीले अबको आर्थिक वर्षमा बजेट खर्चमा प्रगति गर्छौं, गत आवमा कार्यालय व्यवस्थापन, खरिद हुनुपर्ने सामग्रीहरु खरिद हुन नसक्ने जस्ता कुराहरुले समस्या भएको थियो,’ अधिकारीले भने । उनले चालु आवमा खर्च गर्न सक्ने विषयमा बजेट राखेको भन्दै खर्च प्रतिशत अहिलेको भन्दा दोब्बर हुने बताए ।

    मेयर बालेनको सचिवालयले चाहेर पनि खर्चको अनुपात बढाउन नसकेको जनाएको छ । सार्वजनिक निर्माणमा ठेक्का सम्झौता नहुँदा चाहेर पनि काम गर्न नसकेको बालेनका सचिवालय सदस्य सुनिल लम्साल बताउँछन् । आह्वान गरेको अधिकांश ठेक्काहरुमा ठेकेदारहरुले सम्झौता नगर्दा पुनः ठेक्का आह्वान गर्नुपर्ने अवस्था आएको उनले बताए ।

    चालु आवमा महानगरले बजेट निर्माण गर्दा नै खर्चको उचित योजना पनि बनाएकाले खर्च धेरै हुने उनले बताए । ‘चालु आवमा बजेट मै योजनाको वर्गीकरण गरेर खर्च हुनेगरी निर्माण गरिएको छ, योजना आयोग पनि गठन भएकोले यो पटक प्रभावकारी बजेट कार्यान्वयन हुन्छ,’ लम्साल भन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *