अन्तर्राष्ट्रियस्तरमै अर्थात् स्रोत देशमै मूल्यवृद्धि भयो भने त्यो चामल आउँदा हाम्रो बजारमा त्यसको असर पर्ने नै हुन्छ । तर भएको मौज्दातमा मूल्यवृद्धि गर्नुपर्ने कारण छैन । व्यवसायीहरूले पनि पुरानो मौज्दातमा मूल्यवृद्धि हुन दिने छैनौँ र अनुगमनलाई पनि सहजीकरण गर्छाैँ भनेर भनेका छन् । हामीहरू निरन्तर सम्पर्कमै छौँ । तर पनि हामीले बजार अनुगमन गर्दा यदाकदा खुद्रा पसलहरूमा मूल्यवृद्धि भएकोजस्तो देखिएको छ ।
किन मूल्यवृद्धि भयो भन्दा उनीहरूले थोक बिक्रेताहरूबाटै भाउ बढेर आएकाे छ भन्ने गरेका छन् । हामी त्योभन्दा बाहेक अर्को चरणमा गएर अध्ययन गर्दैछौँ । त्यो अध्ययन गर्दा थोक बिक्रेताहरूबाट पनि अर्को आयातकर्ता वा उत्पादककहाँ पुग्नुपर्नेजस्तो अवस्था देखिएको छ । उनीहरूले केही तर्कहरू दिएका छन् । ती तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ । जस्तो व्यवसायीहरूका अनुसार चामलको मूल्य बढ्ने कारण भनेको धान किनेर राखेपछि घुनपुत्ला लाग्छ, सुकेर भुस सात/आठ प्रतिशत जान्छ भन्ने छ । केही हदसम्म किरा लाग्छ । बैंकको ब्याज पनि बढिरहेको हुन्छ । अर्को भनेको ढुवानी खर्च पनि बढी छ । त्यो भनेको नेपालगञ्जको धान विराटनगर गयो, अनि विराटनगरमा कुटेर प्याक गरेर काठमाण्डौ पुर्यायाे भने ढुवानी खर्च बढी लाग्ने हाे । यसो गर्दा दोहोरो ढुवानी खर्च लाग्यो । अहिले ढुवानीमा पनि भ्याट लाग्ने गरेको छ । यो व्यवसायीहरूको कुरा भयो । यतातिर नजाउँ । यी तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ ।
अर्को कुरा, सरकारले बजार हस्तक्षेप गर्ने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशनको आठ वटा बिक्री केन्द्रबाट काठमाण्डौ उपत्यकाभित्र सुपथ मूल्य पसलबाट चामल बिक्री गर्दैछ । यसको अर्थ मूल्यवृद्धि हुन नदिनका लागि सरकार निरन्तर लागिरहेको छ । अवाञ्छित रूपले मूल्यवृद्धि भएको पाइएमा कानुन बमोजिम कारबाही हुन्छ ।
भारतमा अहिले नाकाबन्दीको कारण देखाउँदै व्यापारीहरूले मूल्यवृद्धि गर्ने सम्भावना देखिन्छ । अर्को कुरा भारतले अहिले नै मूल्यवृद्धि गर्याे भने पनि त्यो आजको भोलि नै मूल्यवृद्धि हुने त होइन । त्यसमा तीन महिना पुग्ने चामल मौज्दात छ भन्ने कुरा तथ्याङ्कले देखाउँछ । त्यसकारण पनि हाम्रो बजार अनुसन्धान केतर्फ केन्द्रित छ भने भन्सार विन्दुमा आइपुग्दाको मूल्य के थियो र यहाँसम्म आइपुग्दा त्यो कहिलेसम्म मौज्दात रहेको छ । हामी यिनै कुराको अध्ययन गरिरहेका छौँ । व्यवसायीहरूलाई पनि हाम्रो विनम्र आग्रह के छ भने पहिले आएर मौज्दात भएको सामग्री साविकको मूल्यमा नै जानुपर्छ ।
हामीले अनुगमन गर्दा पुरानो मौज्दातमा अवाञ्छित रूपले मूल्यवृद्धि भएको पायौँ भने कानुन बमोजिम कारबाहीमा जानैपर्ने हुन्छ ।
हामीले अनुगमनमा जाँदा काठमाण्डौ, ललितपुर र भक्तपुरबाट केही मूल्य सूचीहरू सङ्कलन गरेका थियौँ । त्यसमा केही व्यापारीहरूले कतै कतै थोक व्यापारीहरूबाटै भाउ बढेर आयो भनेका छन् । त्यसकारण हामी त्यस क्षेत्रमा चामल आपूर्ति गर्ने थाेक व्यापारीहरूसम्म पुग्ने कोसिस गरिरहेका छौँ । हाम्रो नियमित अनुगमनमा नागरिकको आधारभूत आवश्यकताका वस्तुहरू नै पर्छन् । एक हप्ताभित्रमा अर्थात् गएको ११ देखि १७ गतेसम्मको कुरा गर्दा ८६ वटा बिक्रेता फर्म, पसल तथा आउटलेटमा अनुगमन गरिसकेका छौँ । त्यसमा २३ वटा फर्मलाई कारबाही भएर नौ लाख १० हजार रुपैयाँ जरिबानासमेत गरिएको छ । याे जानकारी वेबसाइटमा पनि राखेका छौँ ।