शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई हटाउन दबाब

    शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई हटाउन दबाब

    सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने दुई वरिष्ठ प्रहरी अधिकृतको सरुवा गर्ने तयारी थालेको छ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबपछि सरकारले प्रहरीका महत्वपूर्ण कार्यालयको नेतृत्व फेरबदल गर्ने तयारी गरेको हो ।
    सरकारले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको सरुवा गर्न लागेको हो ।

    उच्च सरकारी स्रोतका अनुसार सत्ता साझेदार कांग्रेस सभापति देउवाले हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा शरणार्थी प्रकरणको अनुसन्धानसँग जोडिने दुई निकायको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । त्यसक्रममा उनले उपत्यका प्रहरी प्रमुख र अपराध अनुसन्धान कार्यालयको नेतृत्व परिवर्तन गर्न भनेको स्रोतको दाबी छ ।

    सरकारमा सहभागी सबैभन्दा ठूलो दल कांग्रेस सभापति देउवाको दबाबपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष दुवैलाई परिवर्तन गर्ने दबाब बढेको हो । गृह मन्त्रालय स्रोतले पनि नेतृत्व फेरबदलका लागि छलफल भइरहेको पुष्टि गरेको छ ।

    कानूनतः एआईजी सरुवाको निर्णय मन्त्रिपरिषद् बैठक मार्फत गर्नुपर्छ । त्यसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा एआईजी सरुवाको प्रस्ताव लैजाने गृह मन्त्रालयको तयारी थियो । तर अन्तिम समयमा प्रस्ताव रोकियो ।

    स्रोतका अनुसार, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ज्ञवालीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने तयारी थियो । उनको ठाउँमा प्रशासन विभागका एआईजी दीपक थापालाई पठाउने तयारी छ ।

    प्रहरी एकेडेमीका एआईजी टेकप्रसाद राईलाई प्रशासन विभागमा पठाउने गरी गृहकार्य भएको छ । यसबारे छनक पाएका राईले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई फोन गरेर असन्तुष्टि व्यक्त गरेका छन् ।

    प्रहरी एकेडेमीको जिम्मेवारी पाएको साढे ४ महिनामै विना कारण जिम्मेवारीबाट हटाउन लागेपछि राईले असन्तुष्टि जनाएका हुन् । ‘कि त मैले कुनै गल्ती गरेको हुनुपर्‍यो, नभए अरूका कारण म किन कोपभाजनमा पर्नु ?’ उनले महानिरीक्षक (आईजीपी) कुँवरसँग गुनासो गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *