२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा एकै दिन

स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन् ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको छ । यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. देवमणि भट्टराईले जानकारी दिए ।
उनका अनुसार रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइन्छ ।

पूर्णिमा तिथि रहेका बेला सूर्योदय भएको दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाउनुपर्ने भएकाले भदौ १४ गतेलाई निर्णय गरिएको प्रा. भट्टराईले बताए । ‘गाईजात्रा पर्व भने भाद्रकृष्ण प्रतिपदाका दिन मनाइन्छ । भदौ १४ गते बिहान पूर्णिमा तिथि छ,’ उनले भने, ‘सोही दिनको बिहान ७:४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा अर्थात सापारु पर्व पनि त्यसै दिन मनाउनुपर्ने निर्णय समितिले गरेको हो ।’

भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको छ । नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले भक्तपुरस्थित तलेजु मन्दिरका मूलपुजारी र तान्त्रिकहरुको निर्णयका आधारमा यस्तो निर्णय गरिएको बताए ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकामा यससम्बन्धी छलफल गरी पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको निर्णयअनुसार भदौ १४ गते नै दुवै पर्व मनाउने निर्णय गरिएको शङ्खधर साख्वा प्रतिष्ठानका पूर्वअध्यक्ष श्याम मानन्धरले जानकारी दिए । नगर क्षेत्रमा भाद्रकृष्ण द्वितीयाका दिन मनाइने भैरव र नीलबाराहीको नाच भने भदौ १५ गते मनाउने निर्णय भएको उनले बताए ।

ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते रक्षाबन्धन एवम् जनैपूर्णिमा र १४ गते गाईजात्रा पर्व मनाउने निर्णय गरेका छन् । पाटन क्षेत्रमा विशेषगरी क्वा बहाः अर्थात् हीरण्यवर्ण महाविहारले चाडपर्वसम्बन्धी निर्णय गर्ने गरेको छ ।

यो निर्णय पनि शास्त्रसम्मत् नभएको समितिका सदस्य भट्टराईले बताए । भदौ १३ गते भद्रा परेकाले यस दिन पुण्यकर्म गर्नु नहुने उनको भनाइ थियो ।काठमाडौँका केही सांस्कृतिक संस्थाले पनि भदौ १४ गते रक्षाबन्धन एवं जनैपूर्णिमा र १५ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी चाडपर्व, तिथि, मितिसम्बन्धी निर्णय गर्ने जिम्मेवारी तोकेको थियो । समितिको उक्त गठन आदेश विसं २०७८ साउनमा नेपाल राजपत्रमा सूचनाका रुपमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो । स्थानीय तह र गैरसरकारी संस्थाका रुपमा दर्ता भएका सांस्कृतिक संस्थाले पनि यस विषयमा निर्णय गरी सार्वजनिक गर्न थालेपछि चाडपर्वका बारेमा बेलाबेलामा अन्योल हुने गरेको छ ।

You might also like