२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

डिप्रेसन भएको कसरी थाहा पाउने ?

खुसी हुनु र दु:खी हुनु मानिसको प्राकृतिक गुण नै हो । तर यसको मात्रा र अवधि धेरथोर भने हुन सक्छ । कुनै कुरा गुमाउँदा, अपर्झट हुनै अप्रिय घटना हुँदा, जीवनमा अप्ठ्यारो परिस्थिति आउँदा मानिस स्वभावैले दु:खी हुन्छ । केही समय उदास हुनु सामान्य नै हो तर कतिपय व्यक्तिमा निराशा र एक्लोपनले यतिसम्म घेरिरहेको हुन्छ कि महिनौंसम्म उनीहरु उदास भएर बसिरहेका हुन्छन् । असामान्य भावना, सोच र व्यवहार दुई हप्ता वा त्योभन्दा बढी अवधिसम्म रहेर व्यक्तिको दैनिकी, सम्बन्ध र जिम्मेवारीमा नकारात्मक असर देखा देखिनुलाई डिप्रेसन भनिन्छ ।

कारण
डिप्रेसन प्रायः मनोवैज्ञानिक, वंशाणुगत, सामाजिक कारणको प्रभावले हुन सक्छ । यसको प्रभाव दिमागमा एकपटक परेपछि त्यसकै बारेमा गहिरिएर सोच्दा दिमागको सोच्ने तरिका परिवर्तन हुन्छ । डिप्रेसन बालक, किशोरावस्था र वृद्ध सबै उमेर समूहलाई हुन सक्छ ।

जागिर गुमाउनु, सम्बन्ध विच्छेद हुनु, काममा समस्या आउनु, गम्भीर स्वास्थ्य समस्या, पारिवारिक कलह, कसैलाई गुमाउने पीडा वा कसैको मानसिक दबाबबाट उम्किन नसक्नु कारणले डिप्रेसनको समस्या हुन सक्छ । महिलामा सुत्केरी र महिनावारीको अवस्था पनि यसको कारण बनिरहेको हुन्छ । यस्तै मौसम परिवर्तनलाई पनि सहजै ग्रहण गर्न नसक्दा पनि कतिपयलाई डिप्रेसनको तहसम्म पुर्‍याउँछ ।

डिप्रेसन भएको कसरी थाहा पाउने ?
कुनै कुराले उदास बनाएको महसुस सजिलै गर्न सकिन्छ । तर उदासीनता दिनहुँ जस्तै भइरह्यो भने त्यसको महसुस नहुन पनि सक्छ । यस्तोमा दुई साताभन्दा बढी लगातार उदास हुने मात्र नभई असामान्य खालका शारीरिक, भावनात्मक र मानिसक लक्षण देखिन सक्छन् । यद्यपि, कोही आफ्नो जीवनमा एकपटक मात्र डिप्रेसनमा गएका छन् भने एक समयपछि आफैं ठीक पनि हुन्छ ।

यदि बारम्बार उदासीनता, रातमा जति सुत्ने प्रयास गर्दा पनि निद्रा नलाग्ने, कुनै कुराको भयले पेट पोल्ने, खानेकुरा पटक्कै खान मन नलाग्ने, कुनै कुरा वा काममा रुचि नै हुँदैन वा केहीको उत्साह छैन भने डिप्रेसन भएको मान्नुपर्छ ।

आत्मविश्वासको कमी, शारीरिक थकान र सुस्तता महसुस हुनेु, यौन उत्तेजना नहुनु, एकाग्रता कायम गर्न कठिन हुनु पनि डिप्रेसनका लक्षण हुन् । डिप्रेसन भइरहँदा व्यक्तिले आफूलाई महत्वहीन ठान्ने, जीवनमा भइरहेको उथलपुथलको दोष आफैंलाई दिने र त्यसबाट छुट्कारा पाउन आत्महत्या गर्ने विचार मात्रै आउने भएमा डिप्रेसन गम्भीर अवस्थामा पुगेको बुझ्न सकिन्छ । यद्यपि, यसको निर्क्योल मनोचिकित्सकले लक्षणको आधारमा गर्न सक्छन् ।

डिप्रेसन भएको अनुभव भए के गर्न सकिन्छ त ?
लक्षण देखिए पनि वेवास्ता गर्दै गएमा दैनिकी नै कठिन हुँदै जान्छ । सानो परिस्थिति पनि सामना गर्न पहाड जत्तिकै जटिल बन्छ । यस्तोमा उदासीनता बाहिर निस्किनका लागि आफ्नो मनले खाएका नजिकका व्यक्तिसँग खुलेर समस्या पोख्ने, अरु कसैसँग भावना व्यक्त गर्न सकिंदैन वा वातावरण नभए डायरीमा उतार्ने गर्न सकिन्छ । लेख्दा मनमा भएको कुण्ठाहरु पोखिन्छन् ।

त्यस्तै, व्यायामले पनि शरीरमा सकारात्मक उर्जाको सञ्चार गर्छ । व्यायाम गर्दा सेरोटोनिन र टेस्टोस्टेरोनजस्ता हार्मोनहरु रिलिज हुन्छन् जसले दिमागलाई स्थिर गर्छ । यसले डिप्रेसनलाई बढाउने खालका विचारहरु आउन रोकिन्छ ।

एउटा आनन्दको निद्राले हामीलाई सकारात्मक ऊर्जाले भरिदिने हुँदा आठ घण्टा अनिवार्य सुत्ने प्रयास गर्ने, असल साथीहरुसँग नजिक हुन खोज्ने, नकारात्मक विचारले भरिएका व्यक्तिहरुसँग टाढा रहने, संगीत तथा प्रेरणादायक भिडियोहरु हेर्ने र सुन्ने जस्ता क्रियाकलापमा अग्रसर हुनुपर्छ । रमाइला संगीत र प्रेरणादायक भिडियोहरुले मानिसको मुड बदल्ने र मनलाई उदासीबाट बाहिर निकाल्न मद्दत हुन्छ ।

यदि यस्ता क्रियाकलापले पनि प्रभाव नपारे मनोचिकित्सकबाट परामर्श लिन सकिन्छ । मनोचिकित्सकले लक्षण, घटना, अवस्थालाई मूल्यांकन गरेर सोहीअनुसार उपचार प्रक्रिया अघि बढ्छ । डिप्रेसनका लागि दुई मुख्य प्रकारका उपचारहरू प्रयोग गरिन्छ, औषधि र थेरापी । उपचार व्यक्ति र डिप्रेसनको प्रकारअनुसार फरक-फरक हुन सक्छ । केहीलाई औषधि कोहीले व्यक्तिगत थेरापी आवश्यक पर्न सक्छ ।

You might also like