आज जनैपूर्णिमा तथा रक्षा बन्धन, यस्तो छ जनैपूर्णिमाको महिमा र महत्व

    आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीवार मनाउनुपर्ने जनाएको छ ।यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिले जनाएको हो ।भोलि बिहीवार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो ।

    विशेष गरी नेवार समुदायमा मनाइने गाईजात्रा पर्वका लागि केही पालिकाले आज जनैपूर्णिमा र भोलि बिहिवार गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन् ।तर यसपालि तिथि घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा बिहीवार एकैदिन परेको समितिले विज्ञप्ति निकालेर जनाएको छ ।प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ ।यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने

    आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । नेवार समुदायमा ‘क्वाँटी’ खाने चलन समेत रहेकाे छ ।जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्णु महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुने विश्वार रहीआएको छ ।

    जनैकाे शास्त्रीय महत्व:

    वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् ।

    त्यसपछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यसपछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन् ।

    वैदिक ग्रन्थअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *