चाडपर्वका बेला हुने कालोबजारी र ठगी रोक्न सरकारले असोज १ गतेदेखि विशेष टोली परिचालन गर्ने

    सरकारले दशैँलगायत मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी राेक्न गर्न जिल्ला प्रशासन कार्यालयसहित उपभोक्तासँग सरोकार राख्ने नौ वटा विभागका अधिकारी सम्मिलत कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने भएको छ ।

    चाडपर्वमा हुने कालोबजारी र मनलाग्दी मूल्यवृद्धि रोक्न असोजको १ गतेदेखि कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो । बजार अनुगमनमा जाने विशेष टोलीमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

    यसअघि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्दै आएको थियो । विभाग एक्लैले अनुगमन गर्दा प्रभावकारी काम हुन नसकेको भन्दै आलोचना हुने गरेको थियो । सचिव मरासिनीले जिल्ला प्रशासन कार्यालय र विभिन्न नौ विभागका प्रतिनिधिको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।

    यातायात क्षेत्र, राष्ट्रिय राजमागर्का होटेल तथा रेष्टुँरा, खुद्रा तथा थोक पसल र बजार, खाद्यान्न, माछामासु, दूध, पानी, मिठाई, दूध, लत्ताकपडा, फलफूललगायतका क्षेत्रमा अनुगमन हुने विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

    बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमनको अधिकार प्रत्यायोजन गर्नुको साथै सात सय ५३ वटै पालिकामा बजार अनुगमनको व्यवस्था गर्ने निर्णय गरेको सचिव मरासिनीले बताउनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *