२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

‘रुटिन अफ नेपाल बन्द’ को कथा

बुबा रामप्रकाश पौडेल प्रहरीको जागिरे । घर बागलुङ बलेवा भए पनि जता सरुवा भयो, त्यतै परिवारको अस्थायी बसाइसराइ हुन्थ्यो । यहि शिलशिलामा पाल्पामा पोस्टिङ हुँदा भिक्टर त्यहीँ जन्मिए ।

कक्षा ५ सम्म उनको पढाई हरेक वर्ष फरक फरक स्कूलमा भयो । माओवादी सशस्त्र युद्धमा प्युठान छँदा बुबाको खुट्टामा गोली लाग्यो । उपचारका लागि काठमाडौं लगियो । परिवार भने बागलुङ फर्कियो । त्यतिखेर भिक्टर १ कक्षामा पढ्थे ।

उपचारपछि बुबा रामप्रकाशको पोस्टिङ बाजुरा भयो । तर परिवारलाई बाजुरा पोस्टिङ कुनै नियमित र स्वभाविक प्रक्रिया लागेन । तत्कालीन समयमा गृहमन्त्री गोविन्दराज जोशी थिए ।

प्युठानमा काँग्रेसको निकै गुण्डागर्दी चल्थ्यो । त्यसलाई रामप्रकाशले साथ दिएनन् र गुण्डागर्दीप्रति कडा रुपमै प्रस्तुत भए । संभवतः उनको यही व्यवहार देखेर हुनुपर्छ तत्कालीन माओवादीले उनलाई राम्रो नजरले हेर्न थाले ।

युद्धको क्रममा गोली लागेर घाइते हुँदा कब्जामा लिएर सुरुवाती उपचार माओवादीले नै गरे । अनि बिनासर्त रिहा गरिदिए

माओवादीले युद्धको क्रममा रामप्रकाशप्रति देखाएको नरम व्यवहार तत्कालीन सत्तासीन काँग्रेसलाई भने पचेको थिएन । सायद त्यसैको परिणाम हुनुपर्छ उनको बाजुरा पोस्टिङ । बुबाको बाजुरा पोस्टिङपछि भने भिक्टर आमासँगै बागलुङ फर्किए ।

प्रहरीको परिवार भएका कारण युद्धकालीन समयमा प्रायः एक किसिमको तनाव परिवारमा छाइरहन्थ्यो । सानो छँदा गाविस कार्यालयहरुमा माओवादीले आगजनी गर्दा रातारात गाउँ छोडेर भाग्नुपरेको सम्झना भिक्टरको मनमा ताजै छ ।

इन्स्पेक्टरबाट डीएसपी हुने बेला बुबा रिटायर भए । त्यसपछि भने स्थायी बसोबास नै काठमाडौं बन्यो ।

भिक्टर पौडेल
एसएलसी सकेर प्लस टू ज्वाइन हुन भिक्टर ब्रिज कोर्षको तयारीमा थिए । त्यतिखेर देशमा गणतन्त्र आइसकेको थियो । बन्द गर्दैनौं भनेर घोषणापत्र निकालेका राजनीतिक पार्टीहरु एकपछि अर्को नेपाल बन्दको होडमा थिए ।

उज्वल थापा लगायतले नेपाल बन्दको विरोधमा विभिन्न कार्यक्रम र प्रदर्शनको आयोजना गरिरहन्थे । बन्दलाई व्यंग्य गर्न र बन्द बिरोधी अभियानलाई साथ दिने मनसाय अनुरुप भिक्टरले २०६८ सालताका फेसबुकमा रुटिन अफ नेपाल बन्द नामक पेज सुरु गरे ।

भिक्टरले एकल रुपमा सुरु गरेको पेजमा दिनमा ४/५ वटा हाइलाइट पोस्टहरु हुनेगर्थे । बन्दको विरोध गर्दै त्यसकै जानकारी दिने पेज छोटो समयमा धेरैले मन पराए ।

फलोअरहरुले नै फोटो तथा जानकारी म्यासेज गरेर पठाउन थाले । यसरी चोक चोकको फोटो पेजमा पोस्ट हुँदा बन्दको वास्तविक प्रभाव कति छ भन्ने कुरा मानिसहरुले तत्कालै थाहा पाउँथे । अर्कोतर्फ देशमा १७/१८ घण्टा लोडशेडिङ भइरहेको हुन्थ्यो । त्यसको जानकारी पनि पेजबाटै दिन थाले ।

बन्दको विषयलाई लिएर मुलधारकै सञ्चार माध्यम दुविधामा देखिन्थे । बन्दको समाचार लेख्दा बन्दलाई सफल बनाउन सहयोग पुगिरहेको हुन्थ्यो । नलेख्दा घरबाहिर निस्किएका सर्वसाधारणले बन्दका कारण दुःख पाउँथे ।

पेजको नाम नै रुटिन अफ नेपाल बन्द भएका कारण यो दुविधा भिक्टरलाई अझ बढी हुने गर्थ्यो । पेजको नामअनुरुप कतै बन्द छ कि छैन भन्ने कुराको जानकारीको अपेक्षा पनि जायज नै थियो ।

भिक्टरका लागि बन्दको आधिकारिक सूचनाको स्रोत बन्दकर्ता नभएर प्रहरी हुने गर्थे । प्रहरीको आँकलन जे हुथ्यो, त्यसैअनुरुप रुटिन अफ नेपाल बन्दमा बन्द पोस्ट हुन थाले ।

बन्दलाई सहयोग नपुगोस् भनेरै भोलिपल्ट कसैले बन्दको घोषणा गरेको छ भने पनि पोस्ट गर्न हतार गरेनन् । प्रहरीसँगको परामर्शमा बन्दले कत्तिको प्रभाव पार्न सक्छ भन्ने कुराको जानकारी बिहान ६ बजेको पोस्टमार्फत दिन्थे ।

त्यसका लागि बिहान पाँच बजे नै उठेर अनेक स्रोतबाट विभिन्न ठाउँको तोडफोड, आगजनी, बाटो अवरुद्ध भएको छ कि छैन लगायतको जानकारी बटुल्थे ।

त्यसो त तत्कालीन समयमा बन्द नेपालीहरुका लागि एउटा नियति बनिसकेको थियो । बन्द गराउँदै हिँड्ने शक्ति प्रायः उनै हुन्थे । जसले गर्दा बन्दले कत्तिको प्रभाव छोड्छ भन्ने कुराको अन्दाज गर्न त्यति मुस्किल थिएन ।

तर पनि सकेसम्म बन्दलाई असफल बनाउने उद्देश्यका साथ नै रुटिन अफ नेपाल बन्दले एक प्रकारको भूमिका निभाइरह्यो । राजनीतिक दलहरुले गर्ने नेपाल बन्दलाई विषय बनाएर सुरु भएको पेज पछि गएर सार्वजनिक विदालाई समेत समेट्न थाल्यो ।

त्यसो त भिक्टर अरु पेजमा समेत एड्मिनको भूमिकामा थिए । जोक (हाँस्य व्यंग्य सम्बन्धी) पेजमा मिम र जोकहरु पोस्ट गरिरहन्थे । नेपाल पुलिस क्लवका खेलकुद सम्बन्धी पोस्टहरु पनि उनैले तयार पार्थे । यस हिसावले उनी खेल पत्रकारितामा पनि संलग्न भइसकेका थिए ।

यसैक्रममा अन्य पत्रकारहरुसँग चिनजान बढ्दै गयो । त्यतिखेर १६/१७ वर्षका भिक्टरको आवाज बालकको जस्तै सुनिन्थ्यो । प्रहरीलाई फोन गर्दा कहिलेकाहीँ सूचना र जानकारी माग्दा पत्याउँदैन थे । यस्तोमा उनी सिनियर पत्रकार दाइहरुलाई बुझिदिन आग्रह गर्थे ।

यदि कुनै कुराको पुष्टी गर्न नसकेको खण्डमा पोस्ट गर्न कुनै किसिमको हतारो उनमा हुन्नथ्यो । ‘एउटा पोस्ट नहाल्दैमा केही फरक पर्दैन भन्ने सोच्थें,’ उनी भन्छन्, ‘देशमा हजारौं अनि विश्वमा लाखौं घटना दिनहुँ घटिरहेका हुन्छन् । सबै कुरा त चाहेर पनि हामीले समेट्न सक्दैनौं । तर पनि कुनै विशेष कुरा छ भने त त्यसलाई अनेक जुक्ती लगाएर भेरिफाइ गरेर पोस्ट गरिन्थ्यो ।’

पेजका फ्यान फलोअरहरुले अरुभन्दा फरक अनि वास्तविक समाचार स्रोतको रुपमा प्रसंसा गर्न थाले । त्यो विश्वास तोडेर दायाँबायाँ गर्ने आँट भिक्टरले गर्ने सकेनन् ।

‘सुरुवाती समयदेखिको विश्वास कायम राख्दै आज हामी यो स्थानसम्म आइपुगेका हौं,’ उनी भन्छन्, ‘समय र परिस्थितिले नै मान्छेलाई कतातिर धकेल्ने भन्ने कुराको निर्धारण गर्दो रहेछ । हामीलाई विश्वास गर्नेहरु नै हामीलाई समाचार पठाउन थाले । एक किसिमले हामीले सिटिजन जर्नलिजमको रुपमा काम गर्‍यौं । कसैको विश्वासमा ठेस पुर्‍याउनै नहुने परिस्थिति बन्दै गयो । त्यसले नै हामीलाई झन् राम्रो गर्नतिर प्रेरित गर्दै लग्यो । ’

इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै समाचार तथा जानकारीका अनेक स्रोतहरु उपलब्ध छन् । परम्परागत सञ्चार माध्यम समेत अनलाइन र सामाजिक सञ्जालमा आइसके ।

सूचनाका अन्य सबै माध्यमबीच फेसबुकमा रुटिन अफ नेपाल बन्दले आफूलाई एउटा फरक चिनाउँदै लग्यो । पेजले आफ्ना फलोअरको विश्वास यतिसम्म जितिसकेको छ कि उनीहरु अन्य सञ्चार माध्यममा आइसकेको कुनै सूचना रुटिन अफ नेपाल बन्दले पोस्ट नगरेसम्म सितिमिति विश्वास गर्न तयार हुँदैनन् ।

यस हिसावले रुटिन अफ नेपाल बन्दले आफूलाई विश्वसनीयताको अर्को नामको रुपमा खडा गर्दै लगेको छ । सञ्चार माध्यमको रुपमा समेत नरहेको एउटा फेसबुक पेजले यो स्तरको विश्वसनीयता बटुल्ने कुरा आफैमा चानचुने होइन ।

कुनै पोस्ट गर्नु अघि आफूहरुले त्यसलाई मल्टिपल सोर्स (दुई वा दुईभन्दा बढी स्रोत) बाट पुष्टी गर्ने गरेको भिक्टर बताउँछन् । अहिले रुटिन अफ नेपाल बन्दमा स्वयम्‌सेवीको रुपमा सहयोग गर्ने धेरै व्यक्तिहरु जोडिएका छन् ।

‘कुनै जानकारी आउँदा कम्तिमा दुई जना भोलेन्टियरलाई क्रश चेक गर्न लगाउँछौं,’ भिक्टर भन्छन्, ‘कुनै शंका लाग्ने वा पुष्टी गर्न नसकिएको समाचार छ भने हामी पोस्ट गर्दैनौं ।’

भिक्टर पौडेल
अहिले नेपालका प्रायः सबैजसो जिल्लामा रुटिन अफ नेपाल बन्दलाई सूचना दिने स्वयम्‌सेवकहरु छन् । त्यस्ता स्वयम्‌सेवकहरु मध्ये धेरै त भिक्टरसँग प्रत्यक्ष रुपमा फेसबुकमा जोडिएका छन् ।

सुरुवात भिक्टर एक्लैले गरेको भए पनि अहिले रुटिन अफ नेपाल बन्द चलाउने स्वयम्‌सेवक सहित छुट्टै कोर टिम बनेको छ । कोर टिममा भिक्टर सहित तीन जना छन्, जसले पेजमा पोस्टहरु गरिरहेका हुन्छन् ।

कुनै संवेदनशील सूचना छ भने भिक्टरले नहेरेसम्म पेजमा पोस्ट हुँदैन । समाचार संकलनका लागि भने दश जनाको टिम छ ।

त्यसो त रुटिन अफ नेपाल बन्दमा अरु सञ्चार माध्यममा आइसकेका सूचना तथा जानकारी पनि देख्न पाइएकै हुन्छ । सञ्चार माध्यम नै चुकिरहँदा रुटिन अफ नेपाल बन्द चाहिँ कसरी जोगिन सक्छ ?

भिक्टर दाबीका साथ भन्छन्, ‘मिडिया चुकिरहेको कुरा हामीले थाहा पाइरहेका हुन्छौं । चिनजानको सञ्चार माध्यम छ भने त हामी समाचारमा यस्तो कमजोरी छ भनेर सुझाव पनि दिइरहेका हुन्छौं ।’

प्रायः जसो सञ्चार माध्यमहरु एउटा समाचारका लागि एक जना स्रोतमा मात्रै भर पर्दा कहिले काहिँ चुक्ने गरेको उनको बुझाई छ । त्यसो त रुटिन अफ नेपाल बन्दका पोस्टहरुमा कहिल्यै कमजोरी नहुने भने होइन ।

टाइपिङ र भाषागत अनि तथ्यगत त्रुटी भने बेलाबखत भइरहेका हुन्छन् । ‘तर त्यस्तो तनाव नै हुने किसिमको गल्ती खासै गरिएजस्तो लाग्दैन,’ भिक्टर भन्छन् ।

पेजको (ग्रोथ) वृद्धि सधैं एकनासको रह्यो । हाल पेज लाइक संख्या करिब २१ लाख हाराहारी पुगेको छ । लाइकमा अरु पेज नै अघि भए पनि इन्गेजमेन्टको हिसाबले भने रुटिन अफ नेपाल बन्द नेपालकै संभवतः पहिलो नम्बरको पेज हो ।

रुटिन अफ नेपाल बन्दका हरेक पोस्टले दश बीस हजारभन्दा धेरै लाइक पाउनु अब सामान्य जस्तै भइसकेको छ । नेपालमा फेसबुकको विज्ञापन कम हुनु पेजको रिच र इन्गेजमेन्टका लागि प्लस प्वाइन्ट भएको भिक्टरको बुझाई छ ।

भिक्टर पौडेल
लाइक बटुल्नका लागि भ्रामक र सनसनीपूर्ण पोस्ट गर्ने पेजहरु फेसबुकमा अनगिन्ति नै छन् । धार्मिक अन्धतादेखि राजनीतिक वितृष्णाले भरिएका पोस्टहरु शेयर गर्ने पेजहरुको भिडमा सुरुवाती समयदेखि नै रुटिन अफ नेपाल बन्दले आफूलाई फरक राख्दै आएको छ ।

त्यसो त अहिलेको समयमा पनि सामाजिक सञ्जालमा वास्तविक र सही विषयवस्तु भन्दा भ्रामक विषयवस्तु नै हिट र भाइरल भइरहेका हुन्छन् । त्यसको उदाहरण युट्युवको ट्रेन्डिङ लिस्टमा देखिन कुरुप चित्र पनि हो ।

‘हो, सही विषयवस्तुको आधारमा मानिसहरुलाई आफूतिर तान्न त्यति सजिलो छैन । त्यसमा धेरै समय पनि लाग्छ । भिक्टर भन्छन्, ‘हामीसँगै सुरु भएका पेजहरुले अनेक हत्कण्डा अपनाएर १०/२० हजार लाइक बटुलिसकेका थिए, जब कि हाम्रोमा दुई चार सय मात्रै हुन्थ्यो । सबैतिर फेक न्युज शेयर भइरहेको अवस्थामा हामीले आफूलाई फरक रुपमा लैजानुपर्छ भनेर नै सुरुदेखि काम गर्दै आयौं ।’

देशको राजनीतिक तथा आर्थिक अवस्था र बेरोजगारीले थुप्रै मानिसमा एक प्रकारको फ्रस्ट्रेसन छाएको छ । समाजको यस किसिमको पृष्ठभुमीमा भड्किलो पोस्ट गर्दा लाइक, कमेन्ट र शेयर धेरै आउने कुरा भिक्टरले नबुझेका होइनन् ।

‘हामीलाई मन पराउने मान्छेहरुलाई वास्तविक सूचना नै दिनुपर्छ भन्ने सधैं लागिरह्यो,’ उनी भन्छन्, ‘हामीलाई हाम्रा फलोअरले आफ्नै मानिरहेका हुन्छन्, आफ्नै साथी जस्तो ठानिरहेका हुन्छन् । दायाँबायाँ गर्नु उनीहरुमाथि गद्दारी गरेजस्तो हुन्थ्यो ।’

अहिले रुटिन अफ नेपाल बन्दलाई समाचार र जानकारीको अभाव छैन । पेजमा दैनिक सयौं, हजारौं म्यासेजहरु आइरहेका हुन्छन् । यस्ता सबै म्यासेज रुटिन अफ नेपाल बन्दको टिमले हेर्न समेत भ्याइरहेको हुँदैन ।

‘दुई वर्ष अघिसम्म पनि मेरो दैनिक दुई घण्टा पेजमा आउने म्यासेज हेर्दैमा वित्ने गर्थ्यो । तर पनि सबै म्यासेज राम्रोसँग हेर्न भ्याइन्थेन,’ भिक्टर भन्छन्, ‘धेरै म्यासेज आउन थालेपछि अहिले हामीले सूचना सामग्रीहरु छानिएर आउन् भन्ने हिसाबले ईमेल गर्न लगाइरहेका छौं ।’

लाइक, शेयर, सब्सक्राइब, भ्यूजको लागि उच्छृङ्खल र सनसनीपूर्ण हेडलाइन सहितका सामग्री नै पस्किनुपर्छ भन्ने मान्यता विपरीत रुटिन अफ नेपाल बन्द एक प्रकारले शतीसालको रुपमा खडा भएको छ ।

एउटा फेसबुक पेजबाटै विश्वसनीयताको आधार खडा गर्नेमा रुटिन अफ नेपाल बन्दको छुट्टै पहिचान छ । निरन्तरको यही प्रयासले अहिले रुटिन अफ नेपाल बन्द एउटा फेसबुक पेज मात्र नभएर ब्राण्ड नै बन्न सफल भएको छ ।

सामाजिक सञ्जालमै रमाउने भिक्टर सामाजिक सञ्जालमा हुने बेथितिको विषयमा कसरी बेखबर रहन सक्थे ! त्यसैले उनी सामाजिक सञ्जालको दुरुपयोग रोक्न भ्रामक समाचार तथा जानकारीहरुमा अन्यत्र जस्तै नेपालमा पनि फ्याक्ट चेकिङको आवश्यकता देख्छन् ।

उनी नेपाली समाजको अवस्थालाई नै यसमा जिम्मेवार देख्छन्, ‘हामी अरु कुरामा विकास नहुँदै एकै पटक सामाजिक सञ्जालको दुनियाँमा पुग्यौं । बाटो पिच हुनु र पुल बन्नु अघि नै हात हातमा मोबाइल आयो । मान्छेहरुमा आधारभूत चेतनास्तर विकास नहुँदै सामाजिक सञ्जालको पहुँच मिल्यो । त्यही कुरा अहिले सामाजिक सञ्जालमा भ्रमको खेती फस्टाउने प्रमुख कारण बनेको हो ।’

भिक्टर फेसबुकभन्दा युट्युव झनै विकृत भएको ठान्छन् । सामान्य घरायसी विषयहरुलाई सनसनिपूर्ण बनाएर ट्रेन्डिङमा ल्याइदिने, अनेक काण्डको नाममा भ्रामक टाइटल सहितका थम्बनेल बनाउने र भ्युअर बटुल्ने प्रवृत्तिदेखि उनी पनि वाक्क छन् ।

भन्छन्, ‘यहाँ त देशभित्र र बाहिर बस्ने सबैलाई भेडा बनाउने काम भइरहेको छ । यस्ता कुराहरुलाई सम्बन्धित प्लेटफर्मले नै नियन्त्रण गर्न सक्नुपर्छ । सरकारले पनि यस्ता विषयवस्तुमा कडिकडाउ गरेर साइबर अपराधको रुपमा कारबाही गर्न आवश्यक छ ।’

पछिल्लो समय रुटिन अफ नेपाल बन्दको ख्यातीकै कारण फेसबुकमै बिभिन्न फेक पेजहरु समेत खुलेका छन् । जहाँबाट फेक न्युजहरु शेयर गरेर रुटिन अफ नेपाल बन्दलाई बदनाम गर्ने कार्य भइरहेको प्रति भिक्टर चिन्तित देखिन्छन् ।

फेक पेजहरुबाट फेक न्युज शेयर गरिएका कारण आफूले गाली खानुपरेको तीतो भोगाई पनि उनीसँग छ । आखिर भिक्टरका लागि सत्यता र विश्वसनीयताको आधार के हो त ?

उनी स्पष्ट छन्, ‘तपाईंले आफ्नो विचारलाई अलग राख्न सक्नु नै सत्यताको सबैभन्दा विश्वसनीय र बलियो आधार हो । यसमा आफ्नो कोसँग के सम्बन्ध छ र म कुन सिद्धान्त वा पार्टीसँग नजिक छु भन्ने जस्ता कुराहरु बिर्सेरै लाग्न सक्नुपर्छ ।’

सही र सत्य जानकारी दिएरै सामाजिक सञ्जाल तथा अनलाइन दुनियामा आफूलाई स्थापित गर्न सकिन्छ भन्ने एउटा गतिलो नमूना नै हो रुटिन अफ नेपाल बन्द । ‘वास्तविक कुराहरु राख्दा एकै पटक तपाईं भाइरल नहुनुहोला ।

तर विस्तारै मान्छेहरुमा तपाईंलाई चिन्दै जाँदा एक प्रकारको विश्वास बढ्दै जान्छ । आफूले राम्रो र जेन्युन काम गर्दै जाँदा ग्रोथ विस्तारै होला । तर, त्यो नै दीगो हुन्छ,’ भिक्टर स्पष्ट छन् ।

सामान्य विषयलाई उछालेर राष्ट्रिय विषयवस्तु बनाइदिँदा कतिपयको घरपरिवार भाँडिएको उनले आँखैसामु देखेका छन् ।

‘यसले तपाईंलाई हलुका बनाइरहेको हुन्छ,’ उनी सुझाव दिँदै भन्छन्, ‘सत्य, सन्तुलित र विश्वसनीय आधारलाई पछ्याउँदै जानु भयो भने एक न एक दिन तपाईं पनि सफल र स्थापित बन्न सक्नुहुन्छ । बरु नयाँ प्रविधि, किवर्ड, अल्गोरिदम आदि जस्ता विषयहरु ख्याल राख्नु उचित हुन्छ ।’

स्नातक पुरा गरेपछि घरमा पैसा माग्न असहज लाग्न थालेपछि आम्दानीको स्रोत जुटाउनुपर्ने बाध्यतामा थिए भिक्टर । चलचित्रहरुलाई सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने प्रचलन भर्खर भर्खर सुरु हुँदै थियो ।

त्यसपछि भने रुटिन अफ नेपाल बन्दमा फिल्म, गीत आदिको प्रमोसनको अफर आउन थाले । त्यहीँबाट भिक्टरको आम्दानी हुन थाल्यो । फेसबुक पेज जो कसैले एकै छिनमा बिना खर्च बनाउन सक्छन् ।

बुस्ट गर्दा हजारौं लाखौं लाइक जुटाउन सक्छन् । तर पनि ठूला ठूला कम्पनी अहिले एउटा पोस्टको लागि रुटिन अफ नेपाल बन्दलाई दशौं हजार रुपैयाँ तिर्न तयार भइरहेका छन् ।

गीत, चलचित्र मात्र होइन अहिले रुटिन अफ नेपाल बन्दमा प्रमोसनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थादेखि अनेकौं स्थापित ब्राण्डहरु लालायित हुन थालेका छन् । पेजलाई आम्दानीको स्रोत बनाए पनि भिक्टरले आफ्ना फ्यान फलोअरलाई अन्याय भने हुन दिएका छैनन् ।

‘पेजमा पोस्ट गरिने प्रमोसनल कन्टेन्टले अडियन्सलाई कत्तिको फाइदा पुग्छ भन्ने कुरा पनि हेर्छौं,’ उनी भन्छन्, ‘यदि कुनै ब्राण्डले ज्याकेट विज्ञापन जस्तै पोस्टका लागि आग्रह गरेको खण्डमा हामी त्यसलाई राख्दैनौं । बरु कुनै युनिक कुरा छ र त्यसले हाम्रो इंगेजमेन्ट पनि बढाउँछ भने मात्रै त्यस्ता सूचनामूलक प्रमोसनल कन्टेन्टहरु पोस्ट गर्छौं ।’

विज्ञापनलाई विज्ञापनको दायरामा मात्रै हेर्न भिक्टर तयार छैनन् । किन भने रुटिन अफ नेपाल बन्द फ्यान फलोअरहरुको विश्वासले नै तयार भएको पेज हो । त्यो विश्वास गुम्नसक्नेप्रति उनी सचेत छन् ।

स्नातक तहसम्मको पढाई र पकेट खर्चका लागि भिक्टर घरपरिवारमाथि नै आश्रित थिए । फुटबलको समाचार तथा अपडेटका लागि चलाएको वेबसाइटबाट सानोतिनो खर्च जुट्थ्यो । तर त्यो पनि बन्द भइसकेको थियो ।

भिक्टर पौडेल
‘हामीसँग अन्य कुनै किसिमको आम्दानीको स्रोत भइदिएको भए अहिले गरिरहेको प्रमोसन पनि गर्ने थिएनौं,’ उनी भन्छन्, ‘अहिले हामी प्रमोसनका लागि आउने ७० प्रतिशत जति अफरहरु फिल्टर गरेर स्वीकार गरिरहेका छैनौं । वैकल्पिक आम्दानीको स्रोत जुटेको खण्डमा अझ त्यसलाई बढाएर ५ देखि १० प्रतिशत अफरहरु मात्रै स्वीकार गर्ने पक्षमा हामी छौं ।’

वैकल्पिक आम्दानीको स्रोत खोजी गर्ने दिशामा अहिले भिक्टरको टिमले विभिन्न कम्पनी तथा ब्राण्डको डिजिटल मिडिया परामर्श तथा ह्याण्डलिङ लगायतको काम गर्दै आएको छ । साथै ई कर्मकाण्डको रुपमा छुट्टै स्टार्टअप कम्पनी समेत सुरु गरिसकेका छन् ।

भविष्यमा रुटिन अफ नेपाल बन्दलाई गैरनाफामूलक सिटिजन जर्नलिजम रुपमा अगाडि बढाउने भिक्टरको आकांक्षा छ । अहिले पकेट मनीदेखि कोर टिममा पोस्टका लागि खट्ने टिम, सरकारी निकायहरुमा दर्ता भइसकेपछि तिर्नुपर्ने कर आदि कारणले प्रमोसनल कन्टेन्टलाई समावेश गराउनुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

‘यही पेजबाट धेरै कमाऔं र आफ्नो जीवनस्तर नै परिवर्तन गरौं भन्ने कुनै कुरा छैन,’ उनी भन्छन् । समाचारमूलक पेज भइसकेपछि अनेक खालका कानूनी चुनौती आइपर्ने संभावनाप्रति पनि भिक्टर सचेत छन् ।

फेसबुक पेजलाई सञ्चार माध्यमको रुपमा दर्ता गर्न नमिल्ने भएपछि प्रक्रिया पुरा गर्नकै लागि आरओएनबीपोस्ट नामक डोमेन लिएर सूचना विभागमा दर्ता गराए । ‘मानिसहरुले अनेक हिसाबले फसाउन खोजिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘हामी कुनै पनि हिसाबले चुक्नु हुन्न भनेर नै सरकारका सम्बन्धित निकायमा दर्ता गरेका हौं ।’

लामो समय मोबाइलबाटै चलेको रुटिन अफ नेपाल बन्द दर्ता भएसँगै एउटा सानो कोठामा कार्यालयको रुपमा रहन थालेको छ ।

पेजको एक्टिभनेस गुम्ने र ट्र्याक परिवर्तन हुने भएका कारण अनलाइन मिडिया सुरु गर्ने सोँच भने कहिल्यै नआएको भिक्टर सुनाउँछन् । उनी भन्छन्, ‘अब छिट्टै आरओएनबी पोस्ट नामक ब्लग सुरु गर्दै छौं । तर ब्लगमा गरिने पोस्टहरु रुटिन अफ नेपाल बन्दको पेजमा भने शेयर गर्दैनौं ।’

त्यसो त कहिले काहिँ विभिन्न राजनीतिक पार्टीहरुले दबाब दिने गरेको अनुभव भिक्टरसँग नभएको होइन । कसैले धम्की दिए त्यसको स्क्रिन शट सहित पोस्ट गरिदिन्थे ।

अहिले रुटिन अफ नेपाल बन्दले हचुवा तालमा कुनै पोस्ट गर्दैन भन्ने एक किसिमको मान्यता बनिसकेको छ । जसले गर्दा प्रभावित पार्न खोज्नेहरु पछिल्लो समय कम हुँदै गएको भिक्टरको अनुभव छ ।

हाल पेजमा दैनिक २० देखि २५ वटा पोस्ट हुन्छन् । पिक आवरमा आधा घण्टाको अन्तर र अरु समयमा एक घण्टाको अन्तरमा पोस्टहरु भइरहेका छन् । पोस्ट गर्दा पछिल्लो पोस्टको इंगेजमेन्टलाई पनि ख्याल राख्ने गरिएको भिक्टर बताउँछन् ।

कम्प्युटर साइन्सका विद्यार्थी भिक्टर अहिले रुटिन अफ नेपाल बन्दको छुट्टै एप डेभलप गर्ने काममा पनि जुटेका छन् । जसलाई घटस्थापनासम्म लञ्च गर्ने योजना उनले बनाएका छन् । फेसबुकबाट सुरु भएको रुटिन अफ नेपाल बन्द इन्स्टाग्राम, टिकटक हुँदै युट्युवसम्म विस्तार भइसकेको छ ।

You might also like