अमेरिकामा निजी विद्यालय छन् तर नाममात्रका

    एउटा पुरानो सिद्धान्त थियो– ‘घोकन्ते विद्या, धावन्ति खेती’ अर्थात् विद्या घोकेरै पाउन सकिन्छ भने खेती गर्न धाउनैपर्छ।

    २००७ सालपछि नेपाल नयाँ, आधुनिक युगमा प्रवेश गर्यो, तर रातारात युगानुसारको शिक्षा, चेतना प्रवाहको लागि आवश्यक पृष्ठभूमि तयार हुनु असम्भव थियो। समग्रमा उही शिक्षा प्राणाली, उस्तै शिक्षक, पुरानै पद्धति कायमै रहिरह्यो।

    म प्राथमिक तहमा पढ्दा जुनसुकै विषय पनि घोक्नुपर्थ्यो। शिक्षकले पाठ लगाउने गर्नुहुन्थ्यो, अर्थात् पुस्तकका पानामा ‘यहाँदेखि यहाँसम्म घोकेर सुनाऊ’ भन्नुहुन्थ्यो। टन्न घोक्यो र नहेरी शिक्षकलाई सुनायो। त्यही नै थियो पढ्नु भनेको।

    शिक्षकले हाम्रो घोक्ने योग्यता जाँचेपछि पुग्थ्यो, हुन्थ्यो। सन् १९८० तिर म स्नातकोत्तर पढ्थें। त्यतिवेलासम्म साथीहरूले घोकेर पढेको देखेको छु। यस्ता सामाजिक सोच, आदतहरू आजको भोलि नै परिवर्तन हुँदैनन्।

    आलोचनात्मक चेतको अभाव
    हाम्रो शिक्षा प्रणालीमा आलोचनात्मक सोचाइ (क्रिटिकल थिंकिङ)को अभाव छ। केही दशकअघि म अमेरिकाबाट नेपाल आएको थिएँ। यहाँ मेरो एक विदेशी शिक्षिकासँग भेट भयो। उनका श्रीमान् नेपालमै काम गर्दा रहेछन् र उनी प्राथमिक तहमा पढाउन थालेकी रहिछिन्।

    उनले पढाउने पुस्तकमा रंगहरू पढाउन रातो, पहेंलो, हरियो लगायत थोप्लाहरू पानाभरि रहेछन्। उनले विद्यार्थीलाई चौरमा ल्याइछन् जहाँ चारैतिर हरियो दुबो, अलिक पर हरिया पात सहितका रुख रहेछन्। उनले विद्यार्थीलाई, ‘यहाँ हरियो रंग देखाऊ त !’ भनिन्। विद्यार्थीले हत्तपत्त किताब पल्टाएर किताबको त्यही रंग पढाउने पानाको हरियो थोप्लो देखाएछन्।

    शिक्षाको नाममा घोक्ने र पछि त्यही घोकेको कुरा ओकल्न लगाउनु मानिसलाई टेप रेकर्डरमा रुपान्तरण गर्नु हो। मान्छेलाई मेसिन बनाए जस्तो भयो। विद्यार्थीलाई घोक्ने भन्दा सोच्ने बनाउने खालको शिक्षा दिनुपर्छ भन्ने लाग्छ। त्यसैगरी शिक्षक र अभिभावकको रुचि भन्दा पनि शिक्षार्थीको रुचिको क्षेत्रलाई ख्याल राख्नुपर्छ कि ?

    मानिस अनुसार रुचि फरक हुन्छन्। हामी सन्तानलाई सानैदेखि डाक्टर, इन्जिनियर बन्न सपनाको भारी बोकाउँछौं। घरमा आएका पाहुनाले सोध्छन्, ‘तिमी ठूलो भएर के बन्ने ?’

    बच्चाले डाक्टर/इन्जिनियर बन्छु भन्छ। हाम्रो सामाजिक परिवेश नै यस्तो बनेको छ। यो हाम्रो देशमा मात्र होइन, अन्य देशमा पनि छ।

    म अमेरिकाको एउटा विश्वविद्यालयमा विद्यार्थी छनोट गर्ने एउटा कमिटीमा थिएँ। मेरो पालामा त्यस्तो भएन, तर समितिका केही सदस्यले आफ्नो अनुभव बाँड्दै भन्थे, ‘कतिपय भारतीय विद्यार्थीले मलाई छनोट नगरिदिनू, म त अभिभावकको दबाबले मात्र यहाँ आएको हुँ भने।’

    ‘हामी सबै एकै/उस्तै होइनौं’
    हाम्रोमा सबै विद्यार्थीलाई एकै ठाउँमा राखिन्छ। कक्षामा सबै विद्यार्थीले एकै प्रकारले सिक्दैनन्। कोही अलि विस्तारै सिक्ने हुन्छन् भने कोही छिट्टै सिक्छन्। विस्तारै तर गहन तरिकाले सिक्नेलाई कमजोर सोचेर खरर्र आउनेलाई स्मार्ट भन्ने चलन छ।

    अमेरिकामा मैले विद्यावारिधिरत विद्यार्थीलाई पढाउँदा एक जना चिनियाँ विद्यार्थीले अघिल्लो तहमा विश्वविद्यालयले दिएको सिफारिस पत्र ल्याए। त्यसमा लेखिएको थियो, ‘यी विद्यार्थीले विस्तारै सिक्छन्। अलि समय दिनू।’ उनले गृहकार्य पनि अरूले भन्दा दुई दिन ढिला ल्याउँथे।

    कुन मान्छेले कसरी सिक्छ ? मान्छे चिनेर व्यवहार गर्ने अभ्यास हाम्रोमा छैन। सबैलाई भेडाबाख्रा जस्तो एउटै कोठामा राखेर उस्तै व्यवहार गर्ने हाम्रो अभ्यास छ।

    त्यसो त कुनै पनि समाज एउटा मात्रै कुरा भयो भने नचल्ने मात्र होइन, खत्तम हुन्छ। तपाईं हामी सबै मानिसमा एउटै/उस्तै जिन भएको भए सायद हामी एउटै रोगले उहिल्यै सखाप हुन्थ्यौं। किनकि प्रतिरोध गर्नै सकिंदैन। जस्तो, कि त कोभिड महामारीले हामी सबैलाई सिध्याउँथ्यो, कि कसैलाई कोभिड संक्रमण नै हुँदैनथ्यो। तर हाम्रो समाजमा विद्यमान विविधता/बहुलताले हामीलाई जोगाउँछ। राजनीतिमा भनिने सयौं थुङ्गाको विविधताको महत्व पनि यहींनेर छ।

    इन्जिनियरले कुनै संरचना बनाउँदा एउटा सिंगो एउटा फ्ल्याट बनाउँदैनन् नफुटोस् भनेर होला। लुगा एउटा सानो रेसाबाट बनेको हुन्छ। प्रकृतिको यो विशेषता गज्जब छ। फलामको एउटा मोटो डण्डाभन्दा त्यसबाट बनेका स–साना डोरीले बनेको लठारोमा बढी लचक हुन्छ। हाम्रो समाजलाई सबै प्रकारका जनशक्ति चाहिन्छ। कोही संगीतज्ञ पनि चाहिन्छ। सबै इन्जिनियर मात्रै भएर समाज चल्दैन। एकैप्रकारको जनशक्तिले समाजलाई यान्त्रिकीकरण गर्दछ।

    त्यसैले सबै प्रकारका विषय पढाउनुपर्छ, विद्यार्थीलाई उसको रुचि विपरीत विषय अध्ययन गराउनुहुँदैन। शिक्षा प्रणालीले विविधता प्रवर्धन गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ। तब मात्रै समाज हराभरा बन्दछ। सबै फूल फुल्न दिनुपर्छ। फूल कुनै राम्रो कुनै नराम्रो भन्ने हुँदैन। महत्वको हिसाबले फूल कुनै ठूलो वा सानो हुँदैन। मान्छे-मान्छे बीच ठूलो–सानोको सोच प्रकृति विरुद्ध छ। तर हाम्रो समाजमा यस्तो सोचको अभाव छ। यो एक दुई जनाको प्रयासबाट मात्र बदलिंदैन। सामाजिक चेतनाको लहर ल्याउनुपर्छ।

    सांस्कृतिक रुपान्तरणका लागि लामो समय लाग्छ। आजको भोलि नै मान्छेको दृष्टिकोण बदलिंदैन। हाम्रो शैक्षिक अभ्यासमा यी कमजोरीहरू छन्।

    मैले नेपालमा स-साना केटाकेटीहरू आफूभन्दा ठूलो झोला बोकेर स्कुल गइरहेको देखेको छु। अमेरिकामा साना केटाकेटी विद्यालय जाने भनेको सामाजिकीकरणका लागि हो। एकअर्कासँग खेल्छन्। शिक्षकले घुमाउन लैजान्छन्। रुख–बिरुवा देखाउँछन्। चराचुरुङ्गी देखाउँछन्। विद्यार्थीले विस्तारै पढ्न सिक्छन्। अंक किताबमा होइन, व्यवहारमा प्रयोगात्मक रूपमा देखाएर सिकाइन्छ। विद्यार्थीले पत्तै नपाई खेल्दाखेल्दै सिक्छन्।

    यहाँ सिकाउने अभ्यास फरक छ। अनावश्यक होमवर्क दिइन्छ। हामीले बुझ्नैपर्ने कुरा के हो भने व्यक्तिअनुसार ग्रहण गर्ने क्षमता फरक हुन्छ। सबैलाई एउटै व्यवहार गर्नुहुँदैन। हरेक बालबालिकाको मनोविज्ञान फरक हुन्छ।
    म नेपाल छँदा गणित पढाउँथें। नतिजा नराम्रो आयो भने विद्यार्थीको दोष हुन्छ। अमेरिकामा विद्यार्थीले बुझेन भने शिक्षकले दोष लिनुपर्छ। शिक्षकले बुझाउन नसकेर विद्यार्थीले बुझेनन् भन्ने हुन्छ। सेमेस्टरको अन्तिममा जसरी शिक्षकले विद्यार्थीको जाँच लिन्छन्, विद्यार्थीले शिक्षकको बारेमा भन्नुपर्छ।

    सीपमूलक शिक्षा
    नेपालको सबैभन्दा ठूलो सबल पक्ष कृषि क्षेत्र नै हो। कोभिडको बेला अमेरिकाबाट चीन बंगुर निर्यात कम भयो। नेपालले पनि सकेजति उत्पादन गरेर चीन निर्यात गर्न सक्छ। यति ठूलो बजारको सदुपयोग हामीले किन नगर्ने ? फिलिपिन्स र ब्राजिलले चीनलाई अरबौंको केरा निर्यात गर्छन्। के नेपालले केरा उत्पादन गर्न सक्दैन ? हामीले विमान, रकेट पो बनाएर निर्यात गर्न सक्दैनौं त! हाम्रा पहाडमा मनग्य स्याउ फलाएर निर्यात गर्न सक्छौं।

    गर्न सकिने धेरै विषय छन्। कोही न कोही लागिपर्नुपर्छ। स्थिर सरकार हुनुपर्छ। नीतिगत अप्ठ्यारा हटाइनुपर्छ। उद्यमशीलतामैत्री वातावरण हुनुपर्छ। तर यी सबै कामको जग भने शिक्षा नै हो। कस्तो शिक्षा लिइरहेका/दिइरहेका छौं ? यसमा विचार गर्नुपर्छ।

    मैले थाहा पाएसम्म अमेरिकामा प्राविधिक जनशक्तिको कमाइ झण्डै–झण्डै प्राध्यापकलाई जत्ति नै हुन्छ। उदाहरणको लागि प्लम्बर र प्राध्यापकको उस्तै–उस्तै तलब हुन्छ। फुटबलर, कलाकार वा अरु जुनसुकै क्षेत्रका सेलिब्रेटी वा विशिष्ट मानिसहरूको कुरा फरक भयो। तर अरुलाई पेशाले खासै फरक परेको हुँदैन।

    आदत बदलौं, आत्मविश्वास जगाऔं
    आलोचनात्मक चेत प्रवर्धन गर्ने शिक्षा, शैक्षिक नीति तथा कार्यक्रम जरुरी छ। क्रिटिकल थिंकिङ भनेर जसले पनि भन्छन् अचेल। तर व्यावहारिक कार्यान्वयन सामान्य काम होइन। किनकि आदत बदल्नु कम चुनौतीपूर्ण काम होइन। यसको लागि सोच र तपस्या चाहिन्छ। परिवर्तन असाध्यै सुस्तरी हुन्छ। यसको लागि ठूलो प्रयत्न हुनुपर्छ।

    हाम्रो सन्दर्भमा हामीलाई आवश्यक पर्ने मौलिक शिक्षा नीति कस्तो हुनुपर्छ ? शिक्षाविद्हरूको एउटा कमिटी बनाएर समाधान खोज्नुपर्छ। किनभने नीतिनिर्माण सरकारको सचिव/सहसचिवले गर्ने काम होइन, उहाँहरूले त कार्यान्वयन गर्ने हो। विषयविज्ञहरूले एउटा क्रान्ति नै ल्याउने गरी काम गर्नुपर्छ। तर पनि आजको भोलि नै परिवर्तन हुँदैन।

    मैले सुनेको छु, नेपालमा सरकारी विद्यालयहरूको अवस्था आजकल त्यति राम्रो छैन। हाम्रो पालामा सरकारी विद्यालयहरू राम्रै हुन्थे। निजी शिक्षालयहरूको मोटिभेसन के छ ? हाम्रो शिक्षाको उद्देश्य के छ ? हामी प्रष्ट हुनुपर्छ।

    आजकल विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेश जानुको विकल्प देख्न छाडेका छन्। त्रिभुवन युनिभर्सिटी छाडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेको लर्को लागिरहेको छ। देशमा बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास नागरिकले गुमाउँदै जानु दुर्भाग्यपूर्ण अवस्था हो।

    हामी केही साथीहरू मिलेर कुनैवेला नेपालमा मेची-महाकाली नहर बनाउने योजनाका कुरा गरेका थियौं। यो महत्वाकांक्षी योजना सुनाउँदा कसैले पत्याएनन्। हामी सबैले आफ्नो सामर्थ्य गुमाइरहेको संकेत थियो त्यो।

    मैले भन्ने गर्थें, ‘सुरुमा हवाईजहाज उडाउने कुरा गर्दा पश्चिमाहरूले पनि भन्ने गर्थे कि यदि भगवानले मानिस उडोस् भन्ने चाहेको भए चराको जस्तो पखेंटा हाल्दिइहाल्थे नि! यो त भगवानको सोचाइविरुद्ध भयो।’

    कुनै नयाँ परियोजना ल्याउनुभयो भने त्यसले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्छ। मेची-महाकाली नहर बनाउन सकियो भने मोटरबोट चलाउन सकिन्छ, सिंचाइको सुविधा बढ्छ जसले उत्पादन बढाउँछ। पर्यटन उद्योग फस्टाउँछ।

    व्यापार व्यवसाय फस्टाउँछ। रिक्रिएसन सेन्टरहरू खुल्छन्। कति कतै नहरको माथि खाली ठाउँबाट सौर्य ऊर्जाबाट बिजुली निकाल्न सकिन्छ। तराईमा जमिनमुनिको पानी रित्तिंदैछ, त्यसको पुनर्भरण गर्न सकिन्छ।

    यी सबैले गर्दा रोजगारीका थुप्रै अवसर उत्पन्न हुन्छन् र फलतः देशको आर्थिक अवस्थामा नयाँ ऊर्जा, नयाँ रक्तसञ्चार प्रवाहित हुन्छ। एउटाको प्रगतिले अर्कोलाई सघाउँछ। सकारात्मक प्रभाव सबैतिर पर्छ।

    मैले एउटा उदाहरणको रूपमा कुरा गरिरहेको छु। यही हुनुपर्छ, यही गर्नुपर्छ भन्ने होइन। एउटा ठूलो परियोजना बन्यो भने त्यसले कति धेरै रोजगारी सिर्जना गर्छ ? तर परियोजनाको कुरा गर्दा यी सब कुराको चर्चा सुन्ने गरेको छैन, बरु कमिसन, लागत, असफलता लगायत कुराको चर्चा भने सुन्ने गरको छु।

    हाम्रोमा सहायक कर्मचारी (सपोर्ट स्टाफ)हरूको कुनै महत्व नै छैन। विकसित देशमा सपोर्ट स्टाफहरूको अत्यधिक महत्व छ। उदाहरणका लागि सहायक कर्मचारी विना मस्तिष्क शल्यक्रिया गर्ने चिकित्सकले शल्यक्रियाको काम गर्न सक्दैनन्। कतिपय अवस्थामा नयाँ–नयाँ आविष्कारका लागि सहायक स्टाफहरूले निर्णायक भूमिका नै खेलिदिन्छन्। संसारमा यस्ता धेरै उदाहरण छन्।

    त्यसैले जे–जस्तो काम गरे पनि आत्मसम्मानको अवस्था हुन्छ। काम सानो–ठूलो हुँदैन। हाम्रोमा कामलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा समस्या देखिन्छ।

    नेपालमा आधुनिक प्रविधि प्रयोग गर्न केही अवरोध र अप्ठ्याराहरू छन्। हामी कामहरू अलि पुरानै पाराले गर्छौं।

    म स्कुल पढ्दा तमसुक लेख्न जान्दिनथें। गाउँमा तमसुक लेख्न आएन भने तैंले पढेर के भयो र ? भन्ने प्रश्न गरिन्थ्यो। तमसुक लेख्न जान्ने भनेको ‘लिखितम् धनीका नाम… ‘ भन्ने जुन शैली छ, त्यही लेख्नुपर्ने हुन्थ्यो। पछि बुझ्ने भएपछि मैले तमसुक लेख्ने शैली बदल्न थालें।

    बिरालो बाँधेर श्राद्ध गर्ने तौरतरिका र परम्परामा बदलाव ल्याउनुपर्छ। संसारसँग पदचाप मिलाउन प्रयास गर्नुपर्छ। यसको सुरुवात शिक्षा प्रणालीमा परिवर्तन गरेर गर्नुपर्छ। हाम्रो चिन्तन प्रणालीले सिर्जना गर्ने अवरोधहरू तोड्दै अगाडि बढ्नुपर्छ।

    यी सबै कुरा गर्न समय लाग्छ। रातारात हुँदैन। एक प्रकारको ध्यान/साधना गर्नुपर्छ। अभियान चलाउनुपर्छ, आन्दोलन नै गर्नुपर्छ। यसको नेतृत्व सरकारले नै गर्नुपर्छ। आन्दोलन भनेको जथाभावी जे मन लाग्यो त्यही गर्ने होइन। यसरी काम गर्दा कम्तीमा परिवर्तनको सुरुवात हुन्छ।

    शिक्षालाई नाफा कमाउने साधन नबनाऔं
    शिक्षा नाफा कमाउने साधन बन्नुहुँदैन। यसमा राज्यले लगानी गर्नुपर्छ र राज्यले शिक्षामा गरेको लगानीबाट तत्काल नाफा खोज्नुहुँदैन।

    अमेरिकाको उदाहरण हेरौं। एउटा ठूलो शहरमा सबै सुविधा हुन्छन्। मान्छे त्यहीं बस्न खोज्छन्। तर रेल, शिक्षा, स्वास्थ्य लगायत सुविधा शहरभन्दा टाढाटाढासम्म पुर्याइएको हुन्छ। उद्देश्य मानिसहरू शहरभन्दा टाढाटाढासम्म बसून् भन्ने हो। रेलमा यात्रा गर्दा सहुलियत दिन्छ। शहरबाट अलि टाढा पनि मानिसहरूले जग्गा किन्छन्। यसरी गाउँतिरको पनि अर्थतन्त्र विकास हुन्छ।

    म बोस्टन बस्दा नगरले चलाएको रेल घाटामा थियो तर राज्यले त्यसलाई सञ्चालन गर्न छाडेन। सरकारले ग्रामीण इलाकासम्म मानिसको चहलपहल र बसोबास बढाएर अरु तरिकाले नाफा-घाटाको सन्तुलन कायम गर्न खोज्छ।

    सरकारले शिक्षामा तत्कालीन नाफा खोज्नुहुँदैन। तर कालान्तरमा त्यसले अप्रत्यक्ष रूपमा धेरै क्षेत्रबाट नाफाका लागि आधार बनाउँछ। पर्याप्त मात्रामा रोजगारी सिर्जना हुन्छ। शिक्षा र स्वास्थ्यलाई सरकारले नाफा कमाउने साधनको रूपमा बेरोकतोक छाड्नुहुँदैन। शिक्षा र स्वास्थ्यको प्रमुख जिम्मेवारी राज्यले नै लिनुपर्छ। केही निजी शैक्षिक संस्था सरकारी नियमभित्र बसेर प्रतिस्पर्धा गर्न आउँछन् भने छाडिदिनुपर्छ तर आधारभूत रूपमा यसको दायित्व र स्वामित्व राज्यले नै लिनुपर्छ।

    अमेरिकामा पनि निजी शिक्षालयहरू छन्। तर ती नाममात्रको निजी छन्। मैले काम गरेको हार्वर्ड युनिभर्सिटी र भेन्डरबिल्ट विश्वविद्यालय निजी नै हो। त्यहाँ कैयौं मानिसले छात्रवृत्तिका लागि रकम जम्मा गरेका हुन्छन् अक्षय कोषको रूपमा। त्यसको बैंकबाट आउने ब्याजले धेरै विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउँछन्। अनुसन्धान गर्ने प्राध्यापकहरुले सरकारलाई निवेदन दिन्छन्।

    शैक्षिक खासगरी अनुसन्धानमूलक परियोजनामा सरकारले मन खोलेर लगानी गर्छ। शैक्षिक संस्था निजी भए पनि प्राध्यापकले प्रतिस्पर्धा गरेर आएको सरकारी कोषबाट तलब खाइरहेका हुन्छन्।

    मैले विश्वविद्यालयबाट पाउने तलबको ७५ प्रतिशत जति सरकारले व्यहोर्थ्यो भने बाँकी २५ प्रतिशत अस्पतालमा बिरामीले तिर्ने कोषबाट आउँथ्यो।

    विद्यालय शिक्षामा पनि अधिकांशमा सरकारको लगानी छ। केही रहेका निजी भए पनि दुई बीचमा शिक्षाको गुणस्तरमा तात्विक भिन्नता हुँदैन। फरक परिहाल्यो भने पनि त्यो विद्यालय रहेको कम्युनिटीको प्रभाव हो। धनी कम्युनिटी भएको क्षेत्रको विद्यालय अलि बढी स्रोतसाधन सम्पन्न हुन्छन्। गरिब कम्युनिटीबाट आउने कर अलि कम होला। तर सरकारले आधारभूत रूपमा फरक पर्ने अवस्था सिर्जना हुन दिंदैन। फलतः आफ्नो आर्थिक अवस्था हेरेर मात्र पढ्न पाउने/नपाउने अवस्था बन्दैन।

    यही भएर होला, हार्वर्ड धेरै राम्रो भन्छन् तर त्यहाँ निजी भन्दा सरकारी/सामुदायिक विद्यालय पढेका विद्यार्थी धेरै पुग्छन्। यो नतिजा शिक्षामा राज्यले जिम्मेवारी लिनुको परिणाम हो।

    यसरी हेर्दा नेपालमा शैक्षिक सुधारको सुरुवात राज्यले मुख्य जिम्मेवारी लिएर गर्नुपर्छ न कि नागरिकलाई शिक्षा दिने दायित्वबाट पन्छिएर। तब मात्र नागरिकले आफ्नो सम्पत्तिको आधारमा भन्दा प्रतिभा र क्षमताको आधारमा प्रतिस्पर्धा गर्न सक्छन्, अवसर पाउन सक्छन्।

    शिक्षामा नाफा अर्को पुस्तामा गएर मात्र देखिन्छ। हामीले कस्तो जनशक्ति तयार गरिरहेका छौं भन्ने आधारमा देशको भविष्यको चित्र देखिन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *