यस्ता बिरामी जसले बस्न हुन्न तीजको व्रत

    यस्ता बिरामी जसले बस्न हुन्न तीजको व्रत

    तीजको व्रत अरू व्रत भन्दा कठोर मानिन्छ । किनकि तीजको व्रत पानी पनि नखाई बस्दा मनले आँटेको पूरा हुने जनविश्वास छ । व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो तर स्वास्थ्यमा ख्याल गरिएन भने यसले गम्भीर असर गर्छ । त्यसैले कस्ता महिलाले तीजको व्रत बस्नु हुन्छ कस्ताले हुँदैन ? भन्नेबारे डाइटिसियन अनुश्री आचार्यको सुझाव यस्तो छ :

    मधुमेह
    मधुमेहका बिरामीहरू निराहार बस्नु घातक साबित हुनसक्छ । यस्ता महिलाहरू व्रत बस्दा रगतमा चिनीको मात्रा कम भई शरीर शिथिल हुन्छ । पानीको कमीले उनीहरूको समस्या विकराल बनाउँछ । तीजमा दरका रूपमा बढी गुलियो तथा चिल्लो खानेकुरा खाने चलन छ । यसले मधुमेहका बिरामीलाई असर गर्छ ।

    मधुमेहका बिरामी भोकै बस्दा स्वास्थ्यमा असर पर्छ । यस्ता बिरामीले इन्सुलिन लिइरहेको अवस्थामा व्रत बस्नु हुँदैन । किनभने रगतमा सुगरको मात्रा कम भई हाइपोग्ल्यासिमिया हुन सक्छ । कतिपय अवस्थामा बिरामी अचेत अवस्थामा जान सक्छन् । मधुमेहका बिरामीले व्रत बसे पनि तीन–तीन घण्टाको फरकमा केही खाइरहनुपर्छ । यति बेला फलफूल, दही, दूध, सलाद आदि खान सकिन्छ ।

    प्रेसर
    उच्च रक्तचापका बिरामीले व्रत लिनै नहुने भन्दा पनि व्रतलाई परिष्कृत गरेर बस्न सकिन्छ । तरm व्रत बस्दा औषधि कुनै पनि हालतमा छुटाउन हुँदैन । निराहार व्रत बस्दा रिँगटा लाग्न सक्छ । रक्तचाप तलमाथि हुनसक्छ भने शरीरमा अक्सिजनको मात्रा पनि कम हुने सम्भावना हुन्छ ।
    त्यस्तै, कम रक्तचाप भएका महिलाले पानी नपिई व्रत बस्दा ह्वात्तै रक्तचाप कम भएर हाइपोटेन्सी एट्याक हुनसक्छ । यस्तोमा कमजोरी महसुस भई रिँगटा लागेर बेहोससमेत हुन सक्छन् । रक्तचाप भएकाहरूले व्रतका क्रममा पानी, जुस, चिया, कफी एवं झोल खानेकुरा सेवन गर्नुपर्छ ।

    ग्यास्ट्रिक
    ग्यास्ट्रिक हुनुको मुख्य कारण नै भोको पेट बस्नु हो । त्यसैले ग्यास्ट्रिकका बिरामीले व्रत नबसेकै बेस । अघिल्लो दिन खाएको खानाले भोलिपल्टसम्म पुग्दैन । यस्ता बिरामीले दुई–तीन घण्टाको अन्तरालमा फलफूल, जुस एवं पानी सेवन गरिरहनुपर्छ ।

    थाइरोइड
    थाइरोइडको बिरामीले व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो । कुनै–कुनै खानेकुरा थाइरोइडका बिरामीले बार्नु पनि पर्छ । तर, कुनै बेला थाइरोइड भएका महिलाहरू कमजोर हुन्छन् । त्यस्तो अवस्थामा निराहार नबसी फलफूल, सलाद खाएर व्रत बस्न सक्छन् ।

    दम
    दमका बिरामीले दिनभर केही नखाई व्रत बस्दा उनीहरूलाई श्वासप्रश्वासमा समस्या आउन सक्छ । त्यसैले निराहार व्रत बस्नु भन्दा पानी, दूध, फलफूल आदिको सेवन गरेर बस्नुपर्छ । आफ्नो स्वास्थ्य अवस्था कस्तो छ म व्रत बस्न सक्छु कि सक्दिन भन्ने कुरा बिरामीहरूलाई नै थाहा हुन्छ । त्यसैले आफ्नो स्वास्थ्य अवस्था हेरेर र चिकित्सकको सल्लाह लिएर मात्र व्रत बस्नु पर्छ ।

    क्यान्सर, मुटु र मिर्गौलाका बिरामी
    क्यान्सर, मिर्गौला, मुटुका बिरामीले नियमित औषधि सेवन गरिरहेका हुन्छन् । औषधिले रोग प्रतिरोधक क्षमता कम गरिरहेको हुन्छ । त्यसैले यस्ता बिरामीलाई पौष्टिक आहारको आवश्यकता हुन्छ । यस्ता बिरामीले व्रत बस्नु उचित हुँदैन । यस्तो अवस्थामा खाना नखाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ । दैनिक औषधि खाएकाले र रोग लागेकाहरूले व्रत बस्नुअघि विज्ञसँग परामर्श लिनुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *