२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

स्वस्थकर खानपानः यसरी मनाउनुस् दसैं

चाडपर्व भनेको पुजापाठ, आशीर्वाद, मिष्ठान्न भोजन, दक्षिणा र मनोरञ्जनको एकीकृत उत्सव भन्ने बुझिन्छ । चाडपर्वमा बच्चादेखी बुढोसम्म, निरोगीदेखी बिरामी व्यक्ति, धनीदेखी गरिब सबैमा खुसी र आनन्दको अनुभुति गर्दछ । हामी सबैभन्दा ठुलो र महान चाडको रुपमा बडादसैं र तिहार मनाउने गर्दछौ । वर्ष दिनमा एकपटक आउने यो चाडमा मानिसले दुःख, पिर, व्यथासँगै दैनिक सन्तुलित खाना खान नै बिर्सन्छन् । अहिले पनि दसैं तिहारमा जतिसक्दो खानुपर्छ भन्ने मान्यता रहिआएको छ ।

चाडवाड बाहेक वर्षभरी दुःखसुखो आधा पेट खाने गरिब वर्गको त के कुरा ? मध्यम वर्गहरुले समेत सन्तुलित स्वास्थ्यकर खाना नखाँदा अधिकांश गरिब कुपोषणले अति दुब्ला, धनीहरु बढी पोषणले अति मोटा र आधा जति मध्यम वर्गीय नेपाली अनियमित आहार विहारका कारण विविध रोगग्रस्त छन् । वर्षभरीमा सन्तुलन मिलाएर खान पुग्ने मासु प्रायः धेरै नेपालीले दसैँको अवधिमा खाने चलन छ । अन्य बेलामा भन्दा पर्वका बेलामा मासुका विभिन्न परिकार बनाएर खाँदा वा मासुसँग मदिरा सेवन गर्ने चलन छ । यसका साथै मासु खाँदा मदिरा नपिउनेहरुले बजारमा पाइने धेरै चिनीको मात्रा भएको रेडिमेड चिसो पेय पदार्थ पिउने गर्छन् । मासुसँग त्यस्ता पेय पदार्थ र मदिरा धेरै पिउँदा स्वास्थ्यमा नकारात्मक असर गर्दछ । दसैंमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाड्रियसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्ने लगायतका समस्या देखापर्दछ ।

यस्तै मासु तथा रक्सी नपचेर झाडापखाला हुने, फुड पोइजन हुने, चाडपर्वमा शारीरिक व्यायाम नगर्नाले पनि कोलेस्ट्रोल तथा चिल्लो बढ्ने र मुटुमा असर परेको पाइन्छ । रक्सीले सबैभन्दा बढी मस्तिष्कमा र त्यसपछि मुटु तथा कलेजोमा असर गर्दछ । रक्सीको पाचन नै कलेजोमा हुन्छ । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रगतको नली र मुटुमा जम्मा हुनपुग्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकाले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस र कलेजोले काम गर्न छोड्छ । यति मात्रै नभई मदिरा सेवनसँगै जुवातास खेल्ने र लाखौँ रुपियाँ हार्ने हुनाले आर्थिक क्षति देखी घरपरिवार तथा समाजबाट समेत बहिष्कृत हुनुपर्ने सामाजिक समस्या पनि उत्पन्न हुने गरेको पाइन्छ । यसले स्वास्थ्य, संस्कार एवं संस्कृतिलाई नै गलत दिशातर्फ धकेलेको छ ।

त्यसैले चाडपर्वको उन्मक्तमा नमात्तिएर व्यक्तिगत, परिवार, समाज र राष्ट्रको हितलाई ध्यानमा राख्दै जुवा, तास, मादक पदार्थ तथा नशालु पदार्थलाई बहिस्कृत गर्दै बालबालिका, गर्भावस्था, वृद्धावस्थादेखि परिवारका सबै सदस्यलाई पोषणयुक्त सन्तुलित भोजन गराएर स्वस्थ जीवनशैली अवलम्वन गर्दै चाडपर्वको उत्सव मनाउनु पर्छ । हाम्रो खाने थालीमा सबै प्रकारका परिकार समावेश हुनु नै सन्तुलित भोजन हो । जीवनशैली विज्ञान आयुर्वेदले प्राकृतिक ६ रसहरु गुलियो, अमिलो, नुनिलो, टर्रो, तितो र कषाय मिश्रित सन्तुलित भोजनको वर्णन गरको छ । यसमा शरीरलाई चाहिने पौष्टिक तत्व पर्याप्त मात्रामा हुनुपर्दछ। तरल पदार्थ, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो, भिटामिन तथा मिनरल्स शरीरलाई चाहिने पौष्टिक तत्व हुन् । यी सबैको सन्तुलित सेवनले शरीर स्वस्थ रहन्छ
।चाडपर्व मनाउदा सन्तुलित र स्वस्थकर आहार÷विहारको लागी ध्यान दिनुपर्ने कुराहरुः

 दैनिक जीवनमा सकेसम्म सात्विक भोजन सेवन गर्नु सर्वोतम हुन्छ । सात्विक भोजनले शरीरमा ताजापन, स्फूर्ति, हल्का एवं जीवन उर्जावान बनाउँछ । शुद्ध, ताजा र कार्बोहाइड्रेट,प्रोटिन,फ्याट, मिनरल तथा भिटामिनयुक्त भोजन नै सात्विक भोजन हो । सात्विक भोजनमा चामल, मकै, गहुँ आदि अन्न, करेला, फर्सी, काँक्रो,आलु, मूला आदि तरकारी, सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी, हरियो सागपात, फलफूल, दूध, दही, घिउ आदि पर्दछन् ।
 मासु प्रोटिनयुक्त पौष्टिक तर तामसिक आहार हो । तामसिक भोजनले अल्छीपन, निद्रा, मादकता, आलस्य, रोग, अविद्या तथा मोह पैदा गर्दछ । तर सन्तुलित तवरबाट मासु भोजनमा समावेश गरेमा मात्र शरीरलाई फाइदा हुन्छ । स्वस्थ मानिसले दिनभरमा १०० देखि १५० ग्रामसम्म मासु खान उपयुक्त मानिन्छ । मोटोपना भएकाहरुले एकपटकमा बढीमा दुई देखि तिन पिस मासु खान सक्छ ।
 कम चिल्लो र स्वास्थ्यको हिसाबले हड्डिको रस फाइदाजनक छ ्र हड्डीको रसमा एमिनो एसिड ग्लुटामिन प्रशस्त मात्रामा पाइन्छ जसले शरीरका कोशिकालाई मर्मत गर्नुका साथै प्रतिरक्षा प्रणाली सुदृढ बनाउँछ ।
 स्वास्थ्यका हिसाबले सकेसम्म रातो मासु कम मात्रामा खानुपर्छ ।
 मांसाहारी थालीमा सबै किसिमका मासुका परिकार कहिले कुखुराको मासु, कहिले माछा सन्तुलित मात्रामा खानुपर्छ ।
 मासु खरीद गर्नुभन्दा पहिला गुणस्तर थाहा पाउँनुपर्छ । बजारमा पाईने मासु ताजा छ कि छैन, त्यसको रंग, गन्ध आदि प्राकृतिक छ कि छैन भन्नेर परिक्षण गरेर मात्र किन्नुपर्छ । हरियो वा प्याजी रंगको भएको वा अमिलो र नमीठो गन्ध भएको मासु खान योग्य हुँदैन ।
 फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म स्टोर गरेर राख्न सकिन्छ । फ्रिजमा काँचो र पाकेको मासु एकै ठाउँमा राख्नु हुँदैन साथै मासु छोपेर राख्ने गर्नुपर्छ ।
 तारेका खानेकुरामा ट्रान्स फ्याट बढी हुने भएकाले मुटु रोगको जोखिम बढ्छ त्यसैले स्टिम गरेर कम तेलमा मासुका परिकार बनाएर सेवन गर्नु स्वस्थकर हुन्छ ।
 मासुमा बजारमा पाईने मसला, मिट मसलाभन्दा घरमै बनाइएको ल्वाङ, मेथी, सुकमेल, बेसार, जिरा, सुप, धनियाँ र मेथीको मिश्रणयुक्त मसला प्रयोग गर्नुपर्छ ।
 शाकाहारी व्यक्तिले मासुजन्य पदार्थको सट्टामा च्याउ, भटमास आदिको सेवन गर्न सक्छ । च्याउमा फाइबर, भिटामिन १२, सेलेनियम, पोटासियम तथा भिटामिन डीको उपयुक्त मिश्रण हुन्छ । च्याउले मांसाहारी भोजनबाट मात्र प्राप्त हुने भिटामिन बी–१२ पनि परिपूर्ति गर्छ ।
 बजारमा पाइने रेडिमेड चियो पेयको सट्टामा दही, जुस पिउन सकिन्छ । दहीलाई लस्सी बनाएर वा फलफूलसँग घोलेर खान सकिन्छ । दही बिहान र दिउँसो सेवन गर्नु उपर्युक्त मानिन्छ तर राती राति दहीको सेवन वर्जित छ ।
 दैनिक एकमुठी फाइबर, कपर, म्याग्नेसियम र ओमेगा फ्याटी एसिडयुक्त ओखर, बदाम, काजु, पिस्ता, फर्सीको बीउ, किसमिस खानु धेरै लाभदायक हुन्छ ।
 मदिराजन्य पेयपर्दाथ प्रशस्त मात्रामा पिउनुभन्दा पानी तथा जुस जन्य पर्दाथ पिउँदा स्वास्थ बन्न सकिन्छ।मदिरा सेवन गरिहाले पनि ९० मिलि लिटर भन्दा बढी गर्नुहुन्न ।
 दैनिक खानामा कार्बोहाइड्रेट पाइने अन्न तथा कन्दमूल सामान्य मानिसले ५५ देखि ६० प्रतिशत समावेश गर्नु पर्दछ ।
 दैनिक खानामा प्रोटिन पाइने माछा, मासु, अन्डा, दही, चीज, दाल तथा गेडागुडी आदि १५ देखि २५ प्रतिशत समावेश गर्नु पर्दछ ।
 भिटामिन तथा महत्वपूर्ण खनिजतत्व प्राप्त गर्न तरकारी, हरियो सागसब्जी, फलफूल दैनिक ३ सय देखि ४ सय ग्रामसम्म समावेश गर्नु पर्दछ ।
 खानामा फाइबर खानेकुरा बढी मात्रामा समावेश गर्नुपर्छ । यसले रगतमा ग्लुकोज, ट्राइग्लिसिराइड तथा कोलस्टेरोलको मात्रालाई नियन्त्रणमा राख्न सहयोग पु¥याउँछ । बोक्रा सहितको दाल, टुसा उमारेको गेडागुडी, सागपात खानु राम्रो मानिन्छ ।
 भिटामिन सीयुक्त खानेकुरा जस्तै सुन्तला, कागती पानी, अमला, अनार, टमाटर, ब्रोकाउली, टुसा उम्रिएका खानेकुरा, बेरी तथा किबीले छालालाई चम्किलो बनाउन, घाउ खटिरा निको पार्नुका साथै घामबाट उत्पन्न हुने घातक किरणबाट जोगाउन मद्दत गर्छन् ।
 दैनिक भोजनमा ५ ग्रामभन्दा कम नुनको प्रयोग र कम चिल्लो भएको खाद्यवस्तुले मुटु स्वस्थ रहन्छ ।
 बासी, सडेगलेका तथा पुरानो तेलमा तारेका खानेकुरा खानुहुँदैन ।
 आफ्नो शारिरिक प्रकृति, अवस्था, रुचि र ऋतु अनुसारको सन्तुलित भोजन गर्नुपर्दछ ।
 तारेको, भुटेको, नपच्ने र फ्रिजमा लामो समयसम्म राखेका खानेकुरा सकभर प्रयोग गर्नुहुदैन ।
 एकपटक प्रयोग गरेको तेल पूनः उपयोग नगरौ ।
 बजारमा पाईने रेडिमेड प्याकेट खाना, फास्टफूड, जंकफुड, मैदाको परिकार आदिको सकभर प्रयोग नगरौ ।
 दैनिक २–३ लि. उमालेर सेलाएको पानी खाने गरौ ।
 दैनिक बिहान ब्रह्ममुहूर्तमा (सुर्योदय भन्दा १ घण्टा ३६ पहिलेको समय) वा कम्तिमा पनि सुर्योदय हुनुभन्दा पहिला उठ्ने बानी बसलौ ।
 दैनिक ४८ मिनेट वा कम्तिमा ३० मिनेटसम्म व्यायाम वा योगाभ्यास (असन, प्राणायाम, ध्यान, यौगिक क्रिया आदि ) गरौं ।
 धुम्रपान, मद्यपानजस्ता कुलतको परित्याग गर्ने, यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउछ ।
 साझ ६–७ बजेसम्म भोजन गरेर १–२ घण्टापछि करिब ८ बजे आरामदायी शैयामा सुत्ने बानी बसलौ ।

You might also like