सापु रोग : समयमै उपचार नभए दृष्टि गुम्न सक्छ

    सापु रोग : समयमै उपचार नभए दृष्टि गुम्न सक्छ

    धादिङका एक नौ वर्षीय बालकको दाहिने तर्फको आँखा अचानक रातो भई हेर्न गाह्रो हुने भयो । लगातार दुई दिनसम्म राम्ररी हेर्न सहज नभएपछि उनलाई त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल जाँच गराइयो । त्यसपछि पत्ता लाग्यो कि उनको आँखामा सेतो पुतलीको झुस पो रहेछ ।

    यस्तै, नुवाकोटकी एक १३ वर्षीय बालिकाले लगातार आँखा बिझाएर हेर्न गाह्रो भई आँखाको नानीमा सानो छिर्का देखिएको अभिभावकलाई सुनाइन् । आँखा पाकेको आशङ्कामा नजिकैको मेडिकलबाट आइ ड्रप किनेर राख्दा समेत भोलिपल्ट पनि आँखा बिझाएपछि उनलाई आँखा अस्पतालमै लगियो । उपचारका क्रममा ती बालिकाको आँखामा पनि सेतो पुतलीको झुस देखिएको थियो ।

    पछिल्लो दुई सातायता ८ देखि १६ वर्षसम्मका बालबालिका त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा ९ जनामा सेतो पुतलीको झुसबाट हुने सापु रोगको उपचार गराउन आइपुगेको अस्पतालका मेडिकल निर्देशक डा कमल खड्काले बताए ।

    उता त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आँखा विभागमा सापुका ८ जना बिरामी उपचारका लागि पुगेको नेत्ररोग विशेषज्ञ डा.सञ्जिव भट्टराईले जानकारी दिए ।

    टिचिङ अस्पतालमा सापुको उपचार गराउन आएका आठैजना शिवपुरी क्षेत्रको तल्लो भागका रहेका छन् । शिवपुरी भन्दा तल तारकेश्वर, टोखा, बूढानीलकण्ठ नगरपालिका क्षेत्रबाट बिरामी आएको उनले बताए ।

    पछिल्लो समय सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु) रोगका बिरामीहरू धमाधम देखिन थालेको नेत्ररोग विशेषज्ञहरू सुनाउँछन् ।

    सापु भएको २४ देखि ४८ घण्टाभित्र बिरामीलाई नेत्ररोग विशेषज्ञ पुर्‍याउनु पर्ने डा.भट्टराई बताउँछन् । यो सेतो पुतलीबाट सर्ने सापु रोग विगतमा कास्की क्षेत्रमा देखिएपनि पछिल्ला वर्षहरूमा काठमाडौँ सँगैका पेरिफेरिका जिल्लामा देखिन थालेकाले सजग हुनुपर्ने निर्देशक डा.खड्का बताउँछन् ।

    Shapu1भदौदेखि मंसिरसम्म सापु रोग देखिने भएकाले अव मध्यपहाडी क्षेत्रका बासिन्दा अझ सजग हुनुपर्ने डा. खड्काको भनाइ छ ।

    उता नेत्ररोग विशेषज्ञ डा.भट्टराईले विगतमा फाट्टफुट्ट देखिने सापु रोग पछिल्लो समयमा सङ्ख्या बढ्दै गएकाले सावधानी नअपनाएमा दृष्टि नै गुम्ने खतरा बढेको सुनाउँछन् ।

    सापु रोग लाग्दा एक्युट हेमोरेजिक भाइरल कन्जङ्ग्टिवाइटिस अर्थात् आँखा पाक्ने रोग भनेर ढुक्क भएर बस्दा दृष्टि गुम्ने खतरा बढेको डा.भट्टराईको भनाइ छ ।

    उनी भन्नछन्, ‘आँखामा सापु रोग लाग्दा र आँखा पाक्दा फरक फरक लक्षण देखिन्छ भन्ने कुरा थाहा पाउन जरुरी छ । आँखा पाकेर अस्पताल बिरामी आउँदा दुवै आँखामा समस्या आई दुख्ने, पोल्ने, चिप्रा लिएर आउँछन् । सापु हुँदा एउटा आँखामात्रै समस्या देखिन्छ । बिझाउने, हेर्न गाह्रो हुन्छ ।’

    डा. खड्काका अनुसार सापुको समयमै उपचार नगरिएमा आँखा कुहिने र दृष्टि नै नास हुन सक्छ ।

    यस्तै, सबै सेता पुतलीले सापु रोग नफैलाउने नेत्र रोग विशेषज्ञ डा. भट्टराईको भनाइ छ । ठुलो अनि सेता पुतलीको पखेटामा कालो धर्सा भएका पुतलीको झुसले सङ्क्रमण गराउने उनको भनाइ छ ।

    यस्ता पुतलीको सम्पर्कमा पुगेको शंका लागेमा परीक्षणका लागि स्वास्थ्य संस्था पुग्न उनको सुझाव छ । उनी भन्छन्, ‘सेता धर्सा भएका पुतलीको सम्पर्कमा पुगेको ४८ घण्टाभित्र पुगेको खण्डमा जोखिम कम हुन्छ । ढिलो गरी उपचार गर्न पुग्नेहरूको दृष्टि फर्काउन समस्या हुन्छ ।’

    चिकित्सकहरूका अनुसार सापु रोग नेपालमा मात्रै देखिएको छ । यो रोग सन् १९७५ मा पत्ता लगाइएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२१ मा करिब १५५ जनामा सापु रोग लागेको पाइएको थियो । हाल नेपालभरका अाँखा अस्पतालहरूमा करिब ६० जनामा यस रोगको सङ्क्रमण भएको पाइएको छ ।

    पाटन अस्पतालको आँखा विभागका प्रमुख डा. रञ्जु शर्माका अनुसार सापु सङ्क्रमण हुँदा निम्नानुसार लक्षण देखिन्छ:

    –आँखा पाकेजस्तो देखिएपनि चिप्रा नलाग्ने ।

    –आँखाको भित्री नानीको बीचमा सेतो देखिने ।

    – एउटा आँखा अचानक रातो हुने ।

    –भित्री भागमा पिप भरिने ।

    –छोटो समयमा ज्योति कम हुँदै जाने ।

    –उज्यालोमा हेर्न गाह्रो हुने ।

    –आँखा त्यति नदुख्ने ।