बझाङ जान लागेका प्रधानमन्त्री प्रचण्डलाई रविको सन्देश– चर्किएका घरहरु हेलिकोप्टरको आवाजले नभत्किउन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित बझाङको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डलाई प्रभावितलाई निरास नबनाउन आग्रह गरेका छन्।

    मंगलबार गएको भूकम्पपछि बझाङ पुगेका लामिछानेले प्रभावित क्षेत्रमा चिसो बढ्ने क्रममा रहेको र प्रभावितहरुलाई ओढ्ने–ओछ्याउने कपडाको आवश्यकता रहेको बताएका छन्। स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेन्ट आवश्यक रहेको लामिछानेले उल्लेख गरेका छन्।

    प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्री चढेको हेलिकोप्टरले चर्किएका घरहरु नभत्किउन् भन्दै लामिछानेले सचेत समेत गराएका छन्।

    लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्– प्रधानमन्त्रीज्यू आज (शुक्रबार) भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनेँ। यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ। सबैका लागि पर्याप्त त्रिपाल पनि छैन। चिसो बढ्द‍ो छ, ओढ्ने-ओछ्याउने आवश्यक छ। बच्चा र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ। स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन्।

    प्रभावितलाई अब क्रमश: अरु समस्याले पिरोल्ने छ। घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ। प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नुभएको होला। प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु। हेलिकोप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकोप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको साथमा छौं।