इजरायली समकक्षीसँग परराष्ट्रमन्त्री साउदको टेलिफोन, १० नेपालीको शव ल्याउनका लागि सहजीकरण गरिदिन अनुरोध

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन्। मन्त्री साउदले हमासको आक्रमणप्रति दु:ख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन्।

‘अब हामीले मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाइले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने छ,’ उनले भने, ‘तसर्थ शवहरु नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ।’

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरेका छन्। उनले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे।

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन अनुरोध गरेका छन्।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको पनि बताए।

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेकोप्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरेका छन्।

उनले इजरायल अहिले कठिन मोडमा रहेको बताए। मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिए।