एमबीबीएसका विद्यार्थीको मौका परीक्षाबारे छलफल गर्न बनाइयो कार्यदल

    प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएसका विद्यार्थीलाई मौका परीक्षा दिनेबारे छलफल गर्न कार्यदल बनाइएको छ । गएको असोज ३० गते बसेको समितिको बैठकबाट सांसद सुमना श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

    एमबीबीएस अध्ययनरत एवं आन्दोलनरत विद्यार्थीको मौका परीक्षा र शुल्क फिर्तासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरिने समितिले जनाएको छ । मौका परीक्षाका निम्ति विद्यार्थीले गरेको मागको औचित्यता कार्यदलले अध्ययन गर्नेछ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त विभिन्न कलेजका एमबीबीएस र बीडीएस दोस्रो वर्षका झन्डै ३०० विद्यार्थीले मौका परीक्षाको माग गरिरहेका छन् । कोरोना महामारीका कारण पढाइ प्रभावित भएर त्रिविले तोकेको सीमाभित्र उत्तीर्ण हुन नसकेको उनीहरूको तर्क छ ।