स्वास्थ्यका लागि कति मासु खाँदा राम्रो हुन्छ ? यस्तो छ चिकित्सकको सल्लाह

    दशैंलाई खानपिन गरी मनाइने चाडको रुपमा लिइन्छ । विशेषगरी दशैंमा माछामासुका परिकार बढि खाने गरिन्छ । सन्तुलित तरिकाले मासु खानु स्वास्थ्यका दृष्टिले राम्रो भए पनि मासु बढी खाँदा ठूला स्वास्थ्य समस्या पनि आउन सक्छन् । त्यसैले दशैको समयमा मासु खाँदा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा.शेरवहादुर पुनसँग गरिएकाे कुराकानीः

    दशैंमा मासु धेरै खाने चलन छ, मासु खाँदा कुन–कुन कुरामा ध्यान दिनुपर्छ ?

    सबैले त होइन तर, दीर्घ रोगीहरुले चाहिँ मासु खाँदा ध्यान दिन जरुरी छ । जो डाइविटिज, प्रेसर, सुगर, ग्याष्ट्रिकका बिरामी छन् अथवा पेटको समस्या छ, पचाउन सक्ने क्षमता छैन, कमजोर छ भने त्यस्ता मानिसहरुले मासु खाँदा विशेष ध्यान दिन जरुरी छ । रमाईलो चाड मान्ने धूनमा हामीकहाँ दशैंमा एकै दिन धेरै पकाउने अनि लामो समयसम्म खाइराख्ने चलन छ । यो एकदमै गलत हो । हामी मासु कति खान्छौं, त्यति मात्र पकाउने गर्दा स्वास्थ्यलाई राम्रो गर्छ ।

    अनि पकाएर राखेको मासुलाई लामो समयसम्म खाने गर्दा पकाएको मासुमा बिभिन्न किटाणुले आक्रमण गर्र्छ त्यसको व्यवस्थापन हुन नसक्दा फुडपोईजनको समस्या पनि आउन सक्छ । त्यो कसरी हुन्छ भन्दा हामी दशैंमा मासु बढी खान्छौं त्यसलाई अझ बढि स्वादिलो बनाउन नुनिलो, पिरो,मसला हाल्छौ । त्यो उच्च रक्तचाप भएकाले खानै हुँदैन । त्यसले खराब गर्छ । दोस्रो, सुगर,युरिकएसिड, ग्याष्ट्रिक भएकालाई पनि मासुले अत्याधिक नराम्रो गर्छ । चिल्लो, पिरो मसालेदार खानेकुरा मीठो हुन्छ भन्ने चलन छ । त्यसले पनि शरीरलाई असर गर्छ । त्यही भएर दीर्घरोगीहरुलाई तत्काल नराम्रो प्रभाव पार्ने भएकाले सबै सजग हुनुपर्छ । दशैं हो भनेर हेलचेक्र्याई गरेर मसालेदार मासु खाएमा एक दिनको खुवाईले स्वास्थ्यलाई नोक्सान पर्छ ।

    स्वास्थ्यका लागि ठीक हुन कति मासु खाँदा राम्रो हुन्छ ?
    मासु धेरै खाएमा पेट गडबडी हुने, स्वास प्रस्वासमा कठिनाई हुने, वेचैनी हुने हुन्छ । यति नै खानुपर्छ भन्नु भन्दा पनि सामान्य मान्छेले मासुको प्रयोग ठिकै गर्छन् तर मोटोले अलि बढि खाने हुन्छ । त्यसमा आफनो शरीरले कति पचाउन सक्छ भन्ने हो । परिवारमा अरुबेला मासु कसरी खाइन्छ त्यो बेष्ट हो । तर दशैमा तीनचार दिन लगातार खानु राम्रो होइन । किनभने त्यसका लागि हाम्रो शरीर तयार भएको हुँदैन । जुन सामान्य तरिकाले हामी मासु खाईरहेका छौं त्यो ठीक छ । अचानक खाने तरीका बदल्दा समस्या आउँछ ।

    धेरै खाने र रेगुलर चारपाँच दिन खाँदा पाचन प्रक्रियामा अनियमितता र असन्तुलन भएर त्यसले दीर्घकालीन र तत्कालीन असर देखिन सक्छ । त्यही भएर मासु थोरै खाने, थोरै भनेको ३,४ पिस खाने हो। अझ त्यसमा किड्नीको बिरामी छ भने त १,२ पिस मात्र खाउँ भन्छौ हामी । चिल्लो देखिने गरी खानु भएन । नुनिलो किन धेरै खानु पर्यो ? दैनिक खानेडाइट भन्दा बढि खानु भएन ।

    मासु खाँदा फाइदा पनि त होला नि, होइन र ?

    नियमित तरिकाले जसरी खाइन्थ्यो त्यहि तरिकाले त्यति नै मात्रामा खाँदा फाइदा नै हुन्छ । नियमित खाएजसरी खाँदा जे कुरा खाए पनि त्यसले असर गर्दैन । तर एक्कासी खानेकुराको मात्रा बढाइयो भने मासुले मात्र हैन जुनसुकै खानेकुराले पनि असर गर्छ। मासु शरीरको लागि कति आवश्यक छ या छैन भन्ने एकिन निचोड निस्किसकेको छैन । तर स्वस्थ्य मासुले शरीरमा प्रोटिनको मात्रा बढाउँछ । जति पचाउन सक्छ त्यति खाने हो । मासु खाने मानिस एकदमै हेल्दी छ भन्नु पनि बेकारको कुरा हो। आज नभए भोलि त्यसको असर देखिन्छ । तर सामान्य तरिकाले कम नुन तेल मसलाको प्रयोगबाट बनाएको छ भने फाइदा नै गर्छ ।

    मासुको बढी प्रयोगले के कस्ता समस्या आउन सक्छ ?
    मासुको बढि प्रयोगले युरिक एसिडको समस्या आउँछ । रेडमिटले त क्यान्सर नै बनाउन पनि सक्छ । रातो मासुले नकारात्मक नै असर गर्छ । बोसो तथा छालारहित मासु खाने गरेमा हानी कम हुन्छ । बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन । रगत पकाएर रक्ती बनाएर खाने चलनलाई पनि त्यति उपयोगी मानिंदैन । यस्तो मासुको प्रयोगले खाएको केही समयभित्र नै झाडापखाला चल्ने, अपच हुने, ग्याट्रिक बढ्नेसमस्या हुन सक्छ । मासुबाट रोगहरु सर्न सक्ने कुरामा सधैं सचेत हुनुपर्छ ।

    कस्तो मासु नखाने ?
    त्यसको क्वालिटी कस्तो छ नहेरी प्रयोग गर्दा शरीरले दुःख पाउँछ । बजारमा बेच्न राखिएको मासु हल्का गुलावी रंगको छ भने त्यसमा केही न केही खराबी छ भन्ने बुझ्नुपर्छ । अनि मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भईसक्यो भनेर बुझ्दा हुन्छ । मासुबाट अमिलो, बिग्रिएको,नमीठो गन्ध आएको छ भने त्यस्तो मासु खानु हुँदैन, पसलमा झुण्डयाएर खुल्ला रुपमा राखिएको मासुमा पनि व्याक्टेरियाको संक्रमण हुन्छ । दशैंको लागि खसी किन्दा पनि सिंगान बगेको, मेडिकल डक्टरले स्वस्थ्य छ, भनेर चिन्ह नलगाएको अस्वस्थयकर हुन्छ ।

    कस्तो मासु कसरी खाने ?
    सुरुमा खसी बोका कुखुरा च्याङग्रा किन्दा नै मेडिकल डाक्टरले स्वस्थ्य छ भनेर प्रमाणित गरेको मात्रै किन्नु पर्छ । यदि हामी त्यति गर्न सक्दैनांै भने नजिकको पसल, जहाँ तपाईंलाई विश्वास लाग त्यसबाट मात्र लिने गर्नुपर्छ । जहाँ पायो त्यहिँबाट मासु लिनु हुँदैन । मासु राम्रोसँग पकाएर खानु पर्छ । राम्रोसँग नपाकेको मासुले शरीरलाई हानी गर्छ । मासुमा राँगा खसी भन्दा कुखुरा, माछा स्वस्थ्यकर हुन्छ । खसीमा अलि रेडमिट बढी हुन्छ ।

    छाला खाँदा पनि पाचन प्रक्रियामा असर गर्छ । छालामाधेरै बोसो हुने भएकाले त्यो स्वस्थ्यकर हुँदैन । पोलेर साँधेर भुटेर राखेको मासुमा क्यान्सर बनाउने तत्व हुन्छ । त्यो स्वस्थ्यकर मासु होइन । त्यसले पाचन प्रक्रियालाई राम्रो गर्दैन । दशैंमा मानिस मीठो बनाउने ध्यानमा हेल्दी कुरा बिर्संदै गएका हुन्छन् । मासु बनाउँदा हरेक कुरा कम हुनुपर्छ, जस्तो नुन, मसला तेल । अहिले हामी देख्छांै दशैमा,भोजभतेरमा जसरी बनाउने गरेको छ चिल्लो, पिरो,नुनिलो अत्यधिक मसलाको प्रयोग, त्यो एकदमै गलत हो । मासु पकाउँदा एकदमै सामान्य पकाई हुनुपर्छ ।

    मासुसँगै रक्सी खानु कत्तिको राम्रो मानिन्छ ?
    मासु दीर्घरोगीलाई नराम्रो त मैले भनिसकेँ । रक्सी र मासु खायो भने प्रेसर, लिभर कलेजोका बिरामीलाई प्रत्यक्ष रुपमा असर पार्छ । मैले प्रत्यक्ष भनेको छु है, त्यो भनेक तत्काल बेफाईदा । अप्रत्यक्ष त कति छन् कति । प्रत्यक्ष चाहिँ कलेजो र मुटुको रोगसँग सम्वन्धित छन् । दशैंमा रक्सी बढि नै खान्छन्, उस्तै पर्यो भने त बेहोस नै हुनेगरी पनि खाने गर्छन् । दशैं हो, के भयो त भन्दै वियरका बोत्तल लडाएर सुत्ने चलन पनि छ । त्यो दुईवटा रोगीका लागि चाहिँ प्रत्यक्ष नै असर पुर्याउँछ भनेपछि त्यस्ता रोगीले मासु र रक्सी खानु भएन । अरुहरुका लागि पनि रक्सी र मासु त्यति हेल्दी खाना मानिंदैन ।

    दशैको मासुलाई धेरै दिनसम्म कसरी राख्ने ?

    मासुलाई फ्रिजमा तापक्रम मिलाएर राख्नु पर्दछ । अनि जति पकाउने हो त्यस अनुसार बेग्ला बेग्लै राख्दा राम्रो । सकेसम्म धेरै मासु बनाएर नराख्ने । जति चाहिन्छ त्यतिमात्र बनाउने सबभन्दा राम्रो त्यो हुन्छ । केही गरि धेरै भयो भने त्यसलाई फ्रिजमा राम्रोसँग राख्ने । फेरि लोडसेडिङका कारण फ्रिज बन्द हुँदै खुल्दै गर्ने अवस्था भयो भने मासु बिष हुन सक्छ । त्यसमा त टक्सिन निस्किन्छ,व्याक्टेरियाले विषाक्त भएपछि त समस्या निस्किहाल्छ ।