भूकम्प: सरकारले मृतकका परिवारलाई तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउने [मन्त्रिपरिषद्का निर्णयहरू]

    जाजरकोट भूकम्पका मृतकका परिवारलाई सरकारले तत्काल २ लाखका दरले राहत उपलब्ध गराउने भएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

    त्यस्तै, छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरिएको छ।

    भूकम्पबाट प्रभावित व्यक्तिहरुको सरकारी स्वास्थ्य संस्थाहरुले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरूः

    १) संवत २०८० कार्तिक १७ राति ११:४७ मा जाजरकोट र रुकुमपश्चिम जिल्लामा (जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर) गएको भूकम्पका कारण ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्ने।

    २) उक्त भूकम्पमा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने। घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने।

    ३) खोज, उद्धार, तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारमा प्राथमिकता दिने। साथै, भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने।

    ४) सुर्खेतलाई मुख्य सम्पर्कस्थल र नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाइ खोज, उद्धार र राहतसम्बन्धी कार्य एकद्वार प्रणालीबाट व्यवस्थापन मिलाउने।

    ५) मृतक परिवारलाई तत्काल २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने।

    ६) छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्ने।

    ७) भूकम्पपश्चात खोज, उद्धार, राहत र घाइतेको उपचारमा खटिने सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार, व्यक्ति एवं संघसंस्थालाई विशेष धन्यवाद दिँदै जिल्ला विपत् व्यवस्थापन समितिसँग समन्वय गरी यसलाई निरन्तरता दिन आग्रह गर्ने।

    ८) प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेलाई धन्यवाद दिँदै सहयोगका लागि अपिल गर्ने।

    ९) भूकम्पबाट क्षति भएका सडक, सञ्चारलगायतका संरचना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने।

    १०) क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने।

    ११) जीविकाका स्रोत संरक्षण र पशुधन सुरक्षाको व्यवस्था मिलाउने।

    १२) राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई नियमाअनुसार दैनिक खाना खाजा खर्च उपलब्ध गराउने।

    १३) शहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने। पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना १ वर्षभित्र निर्माण गरिसक्ने।

    १४) भूकम्पबाट आवास क्षति भएका परिवारलालाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने।

    १५) भूकम्पबाट प्रभावित व्यक्तिहरुको सरकारी स्वास्थ्य संस्थाहरुले निःशुल्क उपचारको व्यवस्था गर्ने।

    १६) राष्ट्रिय विपत्को यस घडीमा धैर्यधारण गर्न सबैलाई आग्रह गर्ने।

    १७) सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा वस्ती विकास गर्ने व्यवस्था मिलाउने।

    १८) विपत् प्रभावितहरुका लागि आवश्यक पर्नसक्ने राहत तथा उद्धार सामग्रीहरुको पूर्वतयारी स्वरुप मौज्दात राख्ने।