अर्जेन्टिनाको नयाँ राष्ट्रपतिमा घोर दक्षिणपन्थी जाभियर माइली निर्वाचित

    अर्जेन्टिनाको नयाँ राष्ट्रपतिमा घोर दक्षिणपन्थीका रुपमा चिनिने ५३ वर्षीय जाभियर माइली निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनबाट माइलीले ५६ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन्। वर्तमान वामपन्थी सरकारका अर्थमन्त्री समेत रहेका राष्ट्रपतिका अर्का प्रतिस्पर्धी सर्जियो मासाले करिब ४४ प्रतिशत मात्रै हासिल गरेका छन्। आइतबार भएको निर्वाचनमा करिब ७६.३९ प्रतिशत मतदाताले मतदान गरेका थिए।

    प्रतिस्पर्धी मासाले हार स्वीकार गरिसकेका छन्। उनले माइलीलाई जितका लागि बधाई समेत दिएका छन्।

    तीव्र आर्थिक संकट बेहोरिरहेको अर्जिन्टिनाले कट्टर दक्षिणपन्थी माइलीलाई नयाँ राष्ट्रपति निर्वाचित गरेको हो। वार्षिक मुद्रास्फीति १४३ प्रतिशतसम्म बढेको छ भने ४० प्रतिशत अर्जेन्टिनी गरिबीको रेखा मुनि छन्।

    माइलीले आफ्नो चुनावी अभियानमा ‘अर्जेन्टिनालाई फेरि महान बनाउने’ नारा जोडतोडका साथ उठाएका थिए।

    चुनाव अगाडि माइलीले आर्थिक व्यवस्थामा व्यापक सुधारको वाचा गरेका थिए। उनले संस्कृति, महिला, स्वास्थ्य, शिक्षालगायत मन्त्रालय बन्द गरेर कल्याणकारी भत्ता कटौती गर्ने र कर्मचारीतन्त्र कटौती गर्ने अजेन्डा पनि अगाडि सारेका थिए।

    राष्ट्रपतिमा निर्वाचित भएका माइली बन्दुकसम्बन्धी कानुनहरू खुकुलो पार्न चाहन्छन्। गर्भपतन उन्मूलन गर्न चाहन्छन्, जसलाई जुन २०२० मा अर्जेन्टिनामा वैधानिक गरिएको थियो।