मधेसमा लोकपर्व समाचकेवा पर्वको उल्लास

सामचे सामचके आबिहे हो, जोतला खेतमे बैठिए हो, सब रङ पटिया ओछाइहियै हो, तै पटियामे के–के सुते, छोटे बरहे लादहैन सुते अर्थात् समाचकेवा सधैं आउनु है जोतेको खेतमा बस्नु है सबै रङको गुन्द्री ओछ्याउनु है त्यो गुन्द्रीमा को को सुत्ने? सानोदेखि ठूलो सबै भाइ सुत्ने।

मिथिलाबासीको महापर्व छठ सकिएसँगै यस क्षेत्रमा समाचकेवाको यी र यस्तै गीतले गाउँबस्ती मुग्ध छन्।यस पर्वलाई यहाँका आदिवासीसँगै मधेसी समुदायले पनि उत्तिकै आस्था र उत्साहका साथ मनाउँछन्।दिदीबहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउँछन्। मधेसको गाउँबस्तीमा बाँसको नाङ्लोमा काँचो माटोबाट विभिन्न आकारका मूर्तिहरु बनाइएका छन् । जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया÷मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेलिरहेका छन्।

कात्तिक शुक्ल द्वितिया तिथिदेखि शुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्म दिदीबहिनीहरु प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै हर्षोल्लासका साथ मनाइरहेका छन्।

यो पर्व मधेसमा मात्र नभई अहिले काठमाडौंमा पनि मनाउन थालिएको छ।काठमाडौंमा बसोबास गर्न थालेका थारु तथा अन्य समुदायका महिलाहरु सामाचकेवा खेल्ने गरेका छन्।

मधेसका सहरमा हराउँदै गएपनि गाउँघरमा यो पर्व अझै जीवन्त रहेको मधेस प्रदेशसभा सदस्य सन्जीलाकुमारी यादव बताउँछिन्।यहाँको संस्कार र संस्कृतिलाई जीवन्तता दिँदै व्यापक बनाउन सांस्कृतिक जागरण अभियान चलाउनु पर्ने उनको कथन छ।जहाँ बसेपनि संस्कृतिक मौलिकता नहराओस् भनेर गाउँदेखि सहरसम्म सांस्कृतिक जागरण सुरु गर्ने उनले बताइन।

‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो। त्यसैले होला सहरमा यो पर्व हराउँदै गएपनि मधेसको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गदर्छन्।यसको बहुआयामी स्वरूप, गायन–विविधता, प्रकृतिप्रतिको अगाधप्रेम, माइति र चेली बीचको स्नेहपूर्णसम्बन्ध, चुगला (समाजविरोधी) प्रतिको सामूहिक–संगठित विरोध, लोककल्याणको भावना, संस्कारगत–प्रशिक्षण जस्ता अनेक खण्डमा बाँडेर यस पर्वलाई विश्लेषण गर्न सकिने प्रदेशसभा सदस्य यादव बताउँछिन्।रात्रिको बेलामा मनाइने यो पर्व एघार दिनसम्म मनाउने चलन छ।

छठ पर्वका भोलिपल्टदेखि मनाइने यो पर्व कहिलेदेखि मनाउन थालिएको हो भन्ने ऐतिहासिक पृष्ठभूमि स्पष्ट छैन । यो पर्वका सम्बन्धमा संस्कृतिविद्हरूबीच पनि मतभिन्नता पाइन्छ।पद्म पुराण, स्कन्द पुराण र साम्बपुराण जस्ता विभिन्न पुराणमा यो पर्वको सम्बन्धमा चर्चा गरिएको पाइन्छ। ‘सामा–चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान कृष्णको समयदेखि सुरुवात भएको पाइन्छ।यो पर्व भगवान श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ।यस कथाप्रसंगअनुसार भगवान् श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फ १० भाइ छोरा र एउटी छोरी गरी एघारजना सन्तान थिए।ती मध्ये जेठा छोराको नाम साम्ब र छोरीको नाम साम्बा थियो ।

साम्बा जति सुशीला र चरित्रवती थिइन् त्यत्तिकै उनको सुन्दरताको बखान हुने गथर््यो।साम्बाको सौन्दर्यमा मोहित भई भगवान् श्रीकृष्णकै पुरी द्वारिकामा बसोबास गर्न ‘चूडक’ लट्ठ भएको थियो । तर उसको एकतर्फी प्रेम साम्बालाई थाहा नै थिएन । उता साम्बाको ‘चारुवाक’नामक युवकसित गान्धर्व विधिले विवाह सम्पन्न हुन्छ।त्यसपछि आफ्ना पतिको घरमा बसोबास गर्न थाल्छिन्।साम्बालाई आफूले प्राप्त गर्न नसकेकाले प्रेमान्ध चूडक श्रीकृष्णको दरबारमा जाने र उनकी छोरी साम्बाको चरित्रबारे चियोचर्चा गर्न थाल्छन्।

वृन्दावनको दिव्य जंगलको बीचमा गोपेश्वर महादेवको मन्दिर रहेको थियो।आफ्नो दाम्पत्य जीवनमा उतारचढाव नआओस् र दीर्घ सौभाग्य प्राप्ति होस् भन्ने उद्देश्यले उनी पति चारुवाकको आज्ञा लिई नित्यदिन उक्त मन्दिरमा गई पूजा आराधना गदर्छिन् ।उक्त पूजाअर्चनाको प्रभाव तथा भगवान्को असीम अनुकम्पाले साम्बाका पति चारुवाकको स्वरूप देवतातुल्य मनोहर र दिव्य हुन पुग्छ। त्यसपछि उनी पति चारुवाकसँगै विभिन्न सुरम्य स्थलमा वनविहार पनि गर्न थाल्छिन्। तर यसै प्रसंगलाई जोड्दै ‘साम्बाले पतिको हत्या गरी परपुरूषसँग वृन्दावनमा विहार गर्दै गरेको’ कुरो गाँसेर चूडकले भगवान् श्रीकृष्णलाई भएनभएको उपाख्यान सुनाई पोल लगाउँछ।

कुरो सुन्नासाथ सत्यताको निरूपण नै नगरी श्रीकृष्णले छोरी साम्बालाई पक्षी हुने शराप दिनुहुन्छ । चारुवाकले देख्दादेख्दै पत्नी पक्षी भएको दृश्य देखेर उनी रुँदै कराउँदै भगवान् श्रीकृष्णको शरणमा पुग्दछन् र बास्तबिकता बताउँदछन्।कृष्णलाई आफ्नो निणर्यप्रति पछुतो हुन्छ र चूडकलाई चुगलखोरी गरेवापत् देशनिकालाको सजाय हुन्छ।उता ससुरा कृष्णसँग आँफू पत्नीविना बाँच्न नसक्ने भन्दै चारुवाकले विलाप गर्दछन्।अनि भगवान् श्रीकृष्णले आफ्नो श्राप आँफै फिर्ता लिन नमिल्ने बताउनु हुन्छ।

त्यसो भए पत्नी पक्षी नै रहने भएपछि आँफूलाई पनि पक्षी बनाइदिन ज्वाइँले अनुरोध गरेपछि भगवान् श्रीकृष्णले उनलाई पनि पक्षी नै बनाइदिनुभयो । यसरी पक्षीका रूपमा साम्बाका दम्पती रहनलागे । बहिनीले श्राप प्राप्त गरेको र पक्षी भएको समाचार दाजु साम्बले प्राप्त गर्दछन्।उनी पनि निर्दोष बहिनीज्वाइँलाई पक्षीयोनीबाट मुक्त तुल्याउन पिता श्रीकृष्णसित अनुनय–विनय गदर्छिन्।तर भगवान् श्रीकृष्णले राजधर्मको बाध्यता र विवशताका कारण उक्त शराप फिर्ता लिन नसक्ने बताउँछन्। अनि पितासित साम्बले बहिनीज्वाइँ मुक्त हुने उपाय बताउने आग्रह गर्दछन्।

भगवान् श्रीकृष्णले समस्त ब्रज क्षेत्रका साध्वीहरूलाई साम्बाको पातिव्रत्य धर्म डगेको छैन भनी विश्वस्त तुल्याई ती सम्पूर्णले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन प्रत्येक दिन सायंकालमा गोपेश्वर महादेवको मन्दिर परिसरमा गीत र नृत्य गरी भगवान् भोलेनाथलाई प्रसन्न तुल्याएमा ती दम्पतीको पक्षीयोनीबाट छुट्कारा हुने उपाय बताउँछन्।

यसै उपायलाई अनुसरण गरी साम्ब महिलाहरूलाई संगठित बनाउँछन् र आँफूले पनि शिवको आराधनामा घनघोर तपस्या गर्छन् । ती संगठित साध्वी स्त्रीहरूले शिवालयको परिसरमा साथै भगवान् श्रीकृष्णको दरबार जाने चौबाटोमा प्रत्येक साँझ गीत र नृत्य प्रस्तुत गर्दछन्।साम्ब र द्वारिका पुरीका समस्त साध्वी स्त्रीको आराधनाले शिव प्रसन्न हुनुहुन्छ र साम्बाका जोडीलाई पंक्षीयोनीबाट मुक्त बनाउछन् । स्त्रीहरूको संगठित प्रतिरोध, चेलीबेटी र माइतिबीचको अटूट प्रेम र घुसघुसे एवं पोल्याहा(चुगला)हरूलाई सजाय दिने सन्देश बोक्ने यही उत्सव हो–‘सामा–चकेवा’पर्व।

मधेसका दूरदेहातमामा महिलाहरू अझै ‘सामा–चकेबा’को अभिनय गर्दछन् । यस पर्वमा यो र यसै कथानकसँग जोडिएका पात्रहरू शाम्बा (सामा), चकेवा (चारुवाक)का अतिरिक्त शाम्ब, सतभैया, खडरीच, चुगला(चूडक), वृन्दावन, चौकीदार, झांझी, कुकुर(कुत्ता) आदिको माटोको मूर्ति निर्माण गरी रोचक अभिनय देहातमा अझै जीवन्त रहेको मैथिला भाषाका सहप्राध्यापक उमेशकुमार झा बताउँछन् । दाजु र बहिनीबीचको आत्मीय प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन् सहप्राध्यापक झा भन्छन्,‘ यस पर्वका दुईवटा प्रमुख पात्र हुन्छन् सामा र चकेवा।सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र।त्यसैगरी समाजको खलपात्रको प्रतीकको रूपमा चुक्ली लगाउने अर्को पात्र ‘चुगला’ पनि हुन्छ ।’

एक दशकअघिसम्म मिथिला तथा मधेस क्षेत्रमा विभिन्न पात्रको प्रतीकको रूपमा बनाइएको माटोका मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल पञ्चमीको साँझदेखि टोलछिमेकका दिदी बहिनीहरू गाउँको बाहिर खुला ठाउँमा एकभित्र भई सामा–चकेवासम्बन्धी गीतहरू गाएर अभिनय गर्ने गर्थिन् । यस क्रममा समूहमा महिलाहरू डालो(ढाकी)मा मूर्तिहरू सजाउँदै कार्तिकको शुक्लपक्ष पञ्चमीको बेलुकाबाट शुरु गरी गाउँगाउँको दोबाटो, चौबाटो, चौक आदि स्थलमा भेला भई लोकगीत गाउँदै नृत्य गर्थिन्।

यसरी मनाउँछन् समाचकेवा

सामा खेले चलली सखी सँग सहेली हो.., साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है.., चुगला करे चुगलपन बिलैया करे म्याउँऊं, चुगला के फांसी देंऊ जस्ता लोकगीत गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँघालाई प्रत्येक दिन डढाउँदै त्यस चुगलाको प्रतिमालाई महिलाहरू कुटेपिटे झैं पनि गर्ने चलन छ । गीतमा आफ्ना दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ । त्यसैगरी सामा–चकेवालाई शीत र दूबो खुवाइन्छ।

सामा–चकेवालाई शीत र दूबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बीचमा राखी त्यहाँ उपस्थित दिदीबहिनीहरू वृत्ताकारमा बस्दछन् र टोकरीलाई दाहिने हातले एकले अर्कालाई दिंदै बाँया हातले फेरि लिने गर्दछन्।दिने र फर्काउने यो क्रम नथाकेसम्म गीत गाउने र अभिनय गर्ने क्रम चलिरहन्छ । त्यसपछि असत्य, पाप र असामाजिक तत्वको प्रतीकको रूपमा रहेको चुक्ली लगाउने पात्रको जीउमा आगो लगाइन्छ।

त्यसपछि दिदी–बहिनीहरू सामा–चकेवाको गीत गाउँदै आ–आफ्नो घर फर्कन्छन् । घर पुगेपछि सामा–चकेवाको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ। यो क्रम पञ्चमीदेखि चतुर्दशीका दिनसम्म चलिरहन्छ र पूर्णिमाका दिन यो लोकपर्वको विसर्जन गरिन्छ। पूर्णिमाका दिन बिहान मूर्तिलाई सफासुग्घर बनाई रङरोगन गरी विशेष किसिमले सजाइन्छ। त्यसपछि किशोरीहरूले आँफूले गाउँगाउँ डुली अभिभावकवर्गबाट संकलन गरेको रकम र अन्नादिको उपयोग गरी तैयार गरिएको प्रसाद दही, चिउरा, चिनी र मिठाईसहित विभिन्न परिकारको भोजन तैयार गर्छिन् । साँझ सर्वप्रथम मूर्तिहरूलाई भोजन गराइन्छ।

त्यसपछि दिदी–बहिनीहरूले आआफ्ना दाजुभाइलाई मूर्तिकै जुठोस्वरूप त्यही भोजन प्रसादका रूपमा दिन्छन्।प्रसाद ग्रहण गरेपछि दाजुभाइले ती मूर्तिलाई आफ्नो घुँडामा राखी भाँच्छन्। त्यसबेला दाजुभाइले दिदीबहिनीलाई नगद, गहना, लुगा कपडा आदि उपहार दिने चलन छ।अनि सामा, चकेवा र अन्य भाँचिएका मूर्तिहरूलाई गाउँनजीकैको खोला, पोखरी वा तलाउमा विसर्जित गरिन्छ । तर, चुगलाको मुर्तिलाई भने फोहोर ठाउँमा फ्याल्ने गरिन्छ र यस पर्वको समापन गरिन्छ