धेरै हिँड्ने मानिसमा पत्थरीको जोखिम बढी

    धेरै हिँड्ने मानिसमा पत्थरीको जोखिम बढी

    मिर्गौलामा हुने पत्थरी कस्तो समस्या हो ?
    मिर्गौलामा अनियमित आकारको ठोस वस्तु जम्मा हुनु नै मिर्गौला पत्थरी हुनुु हो। मानिसको व्यस्त जीवनशैलीले स्वास्थ्य धेरै समस्या निम्तिन्छन्। जसमध्ये मिर्गौलाको पत्थरी पनि एक हो। शरीरमा पानीको कमी हुँदा किड्नीको सिस्टममा समस्या आउँछ, जसले पत्थरी हुन्छ। कतिपय अवस्थामा जन्मजात पत्थरी हुन्छ। युरिक एसिड बढ्यो भने पनि पत्थरी हुन्छ।

    कस्तो मानिसमा बढी हुन्छ पत्थरी ?
    यो हरेक उमेर समूहमा देखिन्छ। बुवामा पत्थरीको समस्या छ भने छोराहरूमा देखिनसक्छ। विशेष गरेर धेरै हिँड्ने मानिसमा पानीको मात्रा कम हुने भएकाले पत्थरी हुने जोखिम बढी हुन्छ।

    पत्थरीका लक्षण के हुन् ?
    पत्थरी शरीरको विभिन्न स्थानमा हुनसक्छ। केटा मान्छेको पिसाब आउने बाटो लामो हुन्छ त्यहाँ पनि अड्केको हुनसक्छ। त्यसैले लक्षण पनि त्यही अनुसार फरकफरक हुन्छन्। युरेटरमा भयो भने धेरै दुख्छ। पिसाबको थैलीमा भयो भने छिटोछिटो पिसाब लाग्ने हुन्छ। पिसाबले पोलेको जस्तो हुनु, पिसाब बाक्लो तथा रातो हुनु, ज्वरो आउने, बान्ता आउला जस्तो हुने हुन्छ। केटी मान्छेको बच्चा पाउँदा दुखेजस्तै गरी दुख्यो भन्दै अस्पताल पुग्नेको संख्या पनि छ।

    यो समस्या कस्तो कस्तो व्यक्तिमा धेरै देखिएको छ ?
    यो भनेको बढी सक्रिय हुने मानिसमा हुन्छ। २० देखि ५० वर्षसम्मका मानिसमा बढी हुन्छ। बढी काममा हिँड्ने भएकाले यो उमेरमा पत्थरीको समस्या देखिन्छ। खानपान र पानी प्रशस्त नपुग्दा पत्थरी हुन्छ। यो समस्या भएर कोखमा हल्का दुख्दा इगनोर गरेर हिँड्ने र धेरै दुःखेपछि मात्र अस्पताल आउने संख्या ठुलो छ।

    पत्थरीको उपचार कसरी हुन्छ ?
    पत्थरी एक पटक एकातर्फ भयो भने अर्को तर्फ पनि दोहोरिने सम्भावना हुन्छ। त्यसैले एक पटक पत्थरी निस्के पनि उसको पिसाब र रगत शरीरमा नै रहन्छ। पत्थरी कुन ठाउँमा छ भनेर भिडियो एक्स–रे र सिटी स्क्यान गरिन्छ। क्याल्सियम युरिक एसिडदेखि लिएर २४ घण्टाको पिसाब राखेर पनि जाँच गरिन्छ। यस्तो जाँच पछि कुन साइजमा पत्थरी छ भनेर थाहा पाउनु पर्दछ। पत्थरी ५ एमएम भन्दा सानो छ भने पानी बाट नै जान्छ। ठुलो भएको छ भने पानीबाट जाँदैन । ठुलो पत्थरीको लागि शल्यक्रिया नै गर्नुपर्छ।

    पिसाबको नलीबाट क्यामेरा छिराएर मिर्गौलाकै पत्थरी निकाल्न सकिन्छ। सानोसानो पत्थरीको उपचार सहज हुन्छ। ठुलो पत्थरी भए मिर्गौलालाई प्वाल पारेर पनि निकाल्न सकिन्छ। तर समयमै यसको उपचार गर्नुपर्छ। कसैलाई नदुखी र थाहा नपाई भित्र भित्रै मिर्गौला बिग्रिसकेको पनि हुन्छ। कतिपय बिरामीको यसले दुई वटै मिर्गौला बिगारेको हुन्छ। त्यो अवस्थामा उपचार गर्नु जोखिमपूर्ण हुन्छ।

    पत्थरी भइसकेपछि के के कुरामा ध्यान दिने ?
    पानी प्रशस्त मात्रमा खानुपर्छ। झोलिलो पदार्थ बढी खाने बानी गर्नुपर्छ। नुन धेरै नखाने, माछा मासु थोरै खाने, प्याकिङ गरेका सुख्खा खानेकुरा धेरै खानु हुँदैन। काजु बदाम, चकलेटहरू कम खाने बानी गर्नुपर्छ। पत्थरी भएको मान्छेले दुई हप्तामा एक दिन जति उपवास गर्नु राम्रो हुन्छ। चिया, मदिरा, सोडा, कफीको सेवन गर्नु हुँदैन। परिवारमा एक जनामा पत्थरी भयो भने त्यो घरको अरू सदस्यले समय समयमा परीक्षण गर्नुपर्छ। यसले सबैलाई हुने जोखिमबाट समयमै बच्न सकिन्छ।