भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि आवासीय घर कर्जा दिइने

    – नेपाल राष्ट्र बैंकले भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि आवासीय घर कर्जा दिइने जनाएको छ। शुक्रबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र केन्द्रीय बैंकले २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरेको बताएको छ।

    सो कर्जा प्राप्त गर्नका लागि सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवार हुनुपर्ने बैंकले जनाएको छ।

    यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने बैंकको भनाइ छ। २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिने बैंकले जनाएको छ।