महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीमा अनियमितता भएको आरोप

काठमाडौँ, २५ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीर बहादुर खडकाले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिप २०२४ को टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उल्लंघन भएको बताउनुभएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै उहाँले टिकट बिक्रीमा अनियमितता र भष्ट्राचार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उल्लंघन भएकोले अनियमितता र भष्ट्राचार भएको मेरो बुझाइ छ । एन्फाको एक जिम्मेवार पदाधिकारी भएकोले चुप लागेर बस्नु आम खेलाडी र फुटबलप्रेमीप्रति अन्याय हुने ठानेर राज्यको नियमनकारी निकाय र आम फुटबलप्रेमी दर्शकको ध्यान आकृष्ट गराउन यो पत्रकार सम्मेलनको आयोजना गरेको छु ।’

साथै उनले टिकट बिक्रीका लागि टेण्डर आह्वान गर्नु कार्यसमितिको निर्णय र एन्फाको विधानविपरीत भएको बताउनुभयो।

यस्तो छ वरिष्ठ उपाध्यक्ष वीर बहादुर खडकाको ठम्याइः
१. एन्फा कार्यसमितिको मिति २०६१ भाद्र ११ र १३ गते सम्पन्न बैठकको निर्णय नम्बर १६ मा साफलगायत अन्य प्रतियोगिताको गेट टिकटको दररेट निर्धारण तथा व्यवस्थापन गर्नका लागि एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकास नारायण श्रेष्ठ, प्रविण यादव, सुरेश शाह र सजिव पाण्डे सम्मिलित ५ सदस्यीय समिति गठन गरिएको थियो ।

२. ७ दिने सूचना नै प्रक्रियाविपरीत छ र ७ दिनमा पनि ५ दिन त पर्व बिदा नै छ । समयसीमाभित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नुपर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नु वदनियत देखिन्छ ।

टेण्डर दिइसकेको अवस्थामा पुनः अवैधानिक तवरले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शी र स्वार्थ प्रेरित देखिन्छ । एन्फाले टिकट बिक्री गर्दा Online platform मार्फत् गर्नु पर्नेमा सो समेत गरिएको देखिएन ।

३. माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रालिलाई जुन आरोप लगाएर सम्झौता रद्द गर्ने निर्णय गरिएको छ । सोही काम एन्फाले दोहोर्‍याएको छ । फाइनलमाएन्फाले साधारणतर्फ १० हजार र भिआइपीतर्फ १००० टिकट बिक्री गर्ने निर्णय गरेको थियो त्यो आफैँले उल्लंघन गरी भिआइप तर्फ १०८२ साधारण तर्फ १० हजार १३५ टिकट बिक्री गरिएको छ । जुन तथ्य बिक्री टिकट नम्बरबाट प्रमाणित भएको देखिन्छ ।

४. अध्यक्ष देश बाहिर रहेको अवस्थामा संघको विधानको धारा ३७ (६) ले म स्वतः कार्यवाहक अध्यक्ष हुने व्यवस्था गरेको छ । माथिको निर्णयले एन्फालाई करिब १ करोड ५० लाख क्षति पुगेको मेरो बुझाइ छ । संस्थालाई क्षति पुग्ने गरी अवैध कार्यहरु गरी किन टेण्डर रद्द गरियो, बढी टिकट बिक्री गर्नुको आशय के हो ? एन्फामा टिकट बिक्री वापतको रकम जम्मा भयो भएन ? यी सबै निर्णयहरु गैरकानुनी, प्रक्रियाविपरीत र अपारदर्शी भएकोले राज्यका निकायलाई छानबिनका लागि आह्वान गर्न चाहन्छु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यो विषयमा उजुरी परिसकेकोले गम्भीरतापूर्वक छानबिनका लागि सम्मानित अख्तियारको ध्यानाकर्षण गर्न चाहन्छु र अन्तमा, महिला साफ च्याम्पियनसिपबाट उठेको सम्पूर्ण रकम देशका लागि रगत पसिना बनाउने महिला खेलाडीहरुलाई दामासाहीले दिनु पर्दछ भनी जोडदार माग पनि गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *