काठमाडौँ, ८ मंसिर । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धका लागि अपरिहार्य सेतु बन्न सक्ने धारणा राख्नुभएको छ ।
धम्म स्टडी एन्ड सर्पोट फाउन्डेसनले काठमाडौँले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले भगवान् गौतम बुद्धले अंगिकार गरेको विश्व शान्तिको मान्यता विश्वमा पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धका लागि अपरिहार्य सेतु बन्न पुगेको धारणा राख्नुभएको हो ।
‘विश्वको एक पवित्र भूमिमध्ये बुद्धको जन्मभूमि नेपाल रहँदै आएको तथ्य सर्व विदितै छ,’ उहाँले भन्नुभयो ‘बुद्धले तय गरेका अष्ठमार्गको आधारमा हाम्रो समाजको विकासक्रम अघि बढिरहेको छ भने बुद्धले पहिल्याउनु भएको चार आर्य सत्यलाई पछ्याउन सकियो भने संसारबाट दुःख निवारण हुन्थ्यो होला । जो आज पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धका लागि अपरिहार्य सेतु बनेको छ ।’
उपाध्यक्ष घिमिरेले कार्यक्रमले धर्मका वास्तविक पक्ष, यसको व्यावहारिक पक्ष, र समाजमा यसको प्रभावबारे बहस र संवाद गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै धर्मका माध्यमबाट प्राप्त शिक्षाले मानिसलाई आन्तरिक शान्ति मात्र नभइ समाजमा शान्ति र स्थिरता कायम गर्न मार्गदर्शन गर्नमा ठुलो योगदान पुर्याउने बताउनुभयो । उहाँले मानवजातिमा बढ्दै गएको अंहकारबाट छुटकारा दिलाउँदै शान्त र सौम्य मानव समाजको दिगो आवश्यकताको मार्ग कोर्न समेत भूमिका खेल्ने धारणा राख्नुभयो ।
भगवान् बुद्धको अभिधर्म शिक्षाले सही दृष्टिकोण, सही विचार, सही कर्म, र सही आचरणलाई जीवनमा अवलम्बन गर्न प्रेरित गरेको पाइने र बौद्ध दर्शनबाट मिल्ने शिक्षालाई सही रूपमा आत्मसात गर्न सकेमा हाम्रो जीवनमा शुद्धता र समाजमा सकारात्मक परिवर्तन सम्भव भएको धारणा पनि उपाध्यक्ष घिमिरेको थियो ।