काठमाडौँ, १४ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने बताउनुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चन्दले क्रिकेटलाई थप उचाइमा पुर्याउन सबैको सहयोगले सम्भव भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘शनिबार हाम्रो प्रतिक्षाको दिन हो । नेपाली क्रिकेटले नयाँ युगको सुरुवात गर्ने दिन ३० नोभेम्बर २०२४ । नेपाल प्रिमियर लिग (एनपिएल)मार्फत् नेपाली क्रिकेटलाई थप नयाँ उचाइमा पुर्याउने एउटा प्रयास हो । यो सबैको सहयोगले सम्भव भएको छ । टियु क्रिकेट मैदान ९९ प्रतिशत काम क्रिकेट खेल्नको लागि पूरा गरिसकेका छौँ ।’
साथै उहाँले ८ वटै टिमको तयारी राम्रो भएको जानकारी गराउनुभयो । उहाँले आज राति पनि फिल्ड अपरेसनको काम पूरा गरेर शनिबारको तयारी हुने बताउनुभयो ।