चीनबाट ऋण लिँदै नलिने भनेको होइन : मन्त्री अधिकारी

काठमाडौँ, १५ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले चीनबाट ऋण नलिने भन्ने कुनै घोषणा नगरेको स्पष्ट पार्नुभएको छ ।

शनिबार नेपाल–चीन सम्बन्धमा रुपान्तरणकारी संवादका क्रममा बोल्दै मन्त्री अधिकारीले चीनसँगको सम्बन्धमा यस्तो बताउनुभएको हो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘नेपालको हितमा हुने कुनै पनि कार्यक्रमका लागि सम्झौतामा पुग्नुअघि त्यसको पूर्वतयारी हुनुपर्छ । आवश्यकताका आधारमा अनुदान लिने हो र आवश्यक परेको खण्डमा ऋण पनि लिने हो । त्यसैले, हामीले चीनबाट ऋण लिँदै नलिने भनेको होइन । सकेसम्म अनुदान नै लिन खोज्ने हो ।’

उनले थप्नुभयो, ‘कुनै कुरा बुझेर मात्र अघि बढ्नुपर्छ । यहाँ गलत अर्थ लगाएर बुझियो । चीनसँग ऋण लिने छैन, अनुदान मात्रै लिने छ र सम्बन्ध बिगार्ने भन्ने हो भन्ने कुरा आयो । त्यस्तो होइन । चीनसँगको सम्बन्धलाई हामी सधैँ सकारात्मक र पारस्परिक लाभकारी बनाउने छौँ ।’

मन्त्री अधिकारीले नेपाल र चीनबीचको आर्थिक सहकार्यलाई स्पष्ट पार्दै आगामी दिनमा दुई राष्ट्र बीचको साझेदारीलाई अझ प्रगाढ बनाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *