महिला हिंसा सह्य हुँदैन : गृहमन्त्री लेखक

काठमाडौँ, २० मंसिर । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताउनुभएको छ ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको बताउँदै उहाँले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरु क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो ।

‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियाले महिलाहरु पनि प्रताडित छन् । लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढंगबाट गर्नुपर्छ ।’

उहाँले डिभिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताउनुभयो ।

त्यसैगरी, संविधानको भावना अनरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकीकृत निर्वाचन विधयेक आगामी संघीय संसद्मा पेस हुने गरी गृहमन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाइ थियो ।

जातीय आधारमा हुने विभेद, अपमान र सबैखाले हिंसा अन्त्य लगायतका १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृति महिला महासंघलगायतका २६ वटा संस्थाका प्रतिनिथि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *