कांग्रेस बिपीको विचारमा हिँडेको छ : गृहमन्त्री लेखक

धरान, २२ मंसिर । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस बिपीको विचारमा आधारित रहेको बताउनुभएको छ । शुक्रबार धरानमा लेखक तथा साहित्यकार गिरिराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यक विचारहरु’ नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले कांग्रेस बिपीको विचारमा हिँडेको बताउनुभयो ।

गृहमन्त्री लेखकले कांग्रेस बलियो भए लोकतन्त्रलाई बलियो हुने दाबी गर्नुभयो । ‘कांग्रेस आज सबैभन्दा ठुलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ । जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइराख्नुपर्छ,’ उहाँले भन्नुभयो ।

यस्तै, कांग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको बताउनुभयो । ‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,’ उहाँले भन्नुभयो, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो ।’

धरानको विकासका लागि मदन भण्डारी राजमार्ग र किमाथांकाको सडक बाइपास गरी अगाडि बढाउने निर्णय ७ वर्षअघि आफू भौतिक पूर्वाधारमन्त्री हुँदा भएको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘आज मदन भण्डारी राजमार्गको काम अगाडि बढेको छ । किमाथांकाको काम अगाडि बढेको छैन । यसलाई सरकारले उच्च प्राथमिकता राखेको छ । धरानको विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।

कार्यक्रम पत्रकारलाई सम्मान गरिएकोमा धन्यवाद दिँदै गृहमन्त्री लेखकले पत्रकारलाई सम्मान र पुरस्कार गर्न जरुरी रहेको बताउनुभयो ।

‘प्रेस लोकतन्त्रको पहरेदार हो । हामीले संविधानमा पूर्ण स्वतन्त्रताको व्यवस्था गरेका छौँ । हामी सबैले प्रेस स्वतन्त्रता पूर्णरुपमा सम्मान गर्नुपर्छ,‘ गृहमन्त्री लेखकले भन्नुभयो, ‘प्रेसको अधिकार हनन गर्नु हुँदैन । सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टीको वातावरण बनाउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *