मकवानपुर, ११ पुस । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदै छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समूह डी मा रहेको बट्टर युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्ने छ ।
मध्यान्ह १२ः३० बजेदेखि सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहान्छ । यस्तै, आजै दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो खेलमा समूह ए मा रहेका थिमी युथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबीच प्रतिस्पर्धा हुँदै छ । दुवै टोली उच्च मनोबल लिएर मैदान उत्रिँदै छन् ।
यसअघि प्रतियोगिताअन्तर्गत हिजो भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्दे सुखद् सुरुवात गरेको थियो ।
प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौँ, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन् ।