जनयुद्धमाथि हमला गर्ने काम भएको छ : विप्लव

जनयुद्धमाथि हमला गर्ने काम भएको छ : विप्लव

काठमाडौँ, ११ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले ‘ढेडु–बाँदरहरुको जमात’ खडा भएको टिप्पणी गर्नुभएको छ । उहाँले सत्ताका लागि दलहरु मारामार गरिरहेको भन्दै व्यङ्ग्य गर्नुभयो ।

बिहीबार चिनियाँ नेता माओ दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले हाल नेपालमा विविध किसिमका पात्रहरुले चर्चा कमाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज नेपाल कस्तो ठाउँमा छ भन्दा अलिकति उदेक लाग्दो, अनौठो अनि रमाइलो जस्तो देखिन्छ । ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ भन्या जस्तो आज नेपाल पुग्या छ ।’ उहाँले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उहाँले असन्तुष्ट व्यक्त गर्नुभयो ।

उहाँले नेपालको वर्तमान अवस्थालाई आलोचना गर्दै भन्नुभयो, ‘नेपाललाई यहाँसम्म कसले ल्यायो भन्ने बहस छाडेर, के कारणले गणतन्त्र आयो भन्ने कुरा नहेरी, अहिले नेपालमा ढेंडुहरुले पगरी गुथेका छन् । कोहीले रातो गुथेका छन्, कोहीले सेतो गुथेका छन्, च्यातेका छन् र हल्ला मचाएका छन् ।’

महासचिव विप्लवले हाल नेपालमा विविध स्वार्थ र उद्देश्यका पात्रहरु सक्रिय रहेको संकेत गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘कसैको अनुहार रातो छ, कसैको कालो छ । कोही स्यालजस्तो कराउँछन्, कोही ब्वाँसोजस्तो कराउँछन् । कोही अलिअलि बाघजस्ता पनि छन्, कोही राघेपाटे पनि छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *