काठमाडौँ, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका मुलुक पनि एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उहाँले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले ग्लोबल वार्मिङका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ तर त्यसको मार खेप्न बाध्य भएका छौँ । नबिराएको काममा सजाय भोग्नुपरेको छ । नेपाल प्रभावित हुनु हाम्रो मात्रै होइन यो ग्लोबल मुद्दा हो । हिमालय जलवायुको मुद्दा हिमालको मात्रै होइन, हिमालसँग विश्वको वार्मिङ सिस्टम जोडिएको छ । हावालाई चिसो पार्ने क्षमता हिमालसँग छ । यस क्षमताको ह्रास हुन जलवायु चुनौती हो । त्यसकारण हामीले हिमालदेखि समुद्रसम्म रक्षाको अवधारणामा जानुपर्छ ।’
नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा पनि राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको जनाउनुभयो ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारुप महासन्धिका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो ।
सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा समीक्षा गरिएको हो । उक्त सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, संघीय सांसदहरु, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि, नीति निर्माता र स्थानीय तहका जनप्रतिनिधिसमेतको सहभागिता थियो ।