पोखरा, १६ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसका लागि कसैसँग सम्झौता गर्न नसक्ने सिद्धान्त रहेको बताउनुभएको छ ।
मंगलबार पोखरामा ४९औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक शक्ति भएकाले राष्ट्रियता र प्रजातन्त्रप्रति कांग्रेसका लागि कसैसँग कम्प्रोमाइज गर्न नसक्ने सिद्धान्त रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘एउटा के बुझ्न र बुझाउनपर्ने छ भने कि कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । स्थापनाकालदेखि नै कांग्रेसले दुईवटा कुरा उठायो । नेपालको राष्ट्रियता र अर्को प्रजातन्त्र हो । राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसका लागि कोही कसैसँग कम्प्रोमाइज गर्न नसकिने सिद्धान्त हो ।’
उहाँले गणतन्त्रपछि ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रवर्द्धन र संरक्षण गर्नका लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनेको बताउनुभयो ।
मुलुकलाई राजनीतिक स्थिरता दिन नसक्दाको असर प्रजातन्त्र, संविधानमा, र गणतन्त्रमा देखिन थालेको कारण राजीनितक स्थितिरता दिनका लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनाउन परेको उहाँको भनाइ छ ।