मेन्छियाम हाइड्रोपावरको आइपीओ बुधबार (वैशाख १३ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार बुधबार बिहान १०.३० बजे लैनचौर ब्यांक्वेटमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, मेन्छियामको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १४.४४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यसमा १२ लाख २८ हजार २०० जनाले कुल १ करोड ३५ लाख ७ हजार ९६० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ९३ हजार ४९१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ३४ हजार ७०९ जना भने आइपीओ पाउनबाट बञ्चीत हुनेछन् ।
कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ । त्यस्तै, ५% अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो ।
बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।