काठमाडौँ । नेपाली नर्सहरूलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाउने बाटो खुलेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै बेलायतमा नर्स पठाउने बाटो खुलेको हो ।
मन्त्रिपरिषद्बाट प्रोटोकल पारित भएसँगै दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव राजीव पोखरेलले प्रोटोकल पारित भएसँगै काम धमाधम अगाडि बढेको बताए ।
अबको एक महिनाभित्रमा अनलाइनमार्फत आवेदन आह्वान गरिने उनको भनाई छ । ‘प्रोटोकलमा साइन भएसँगै धमाधम सिस्टम बनाउने काम भइरहेको छ । एक महिनाभित्रमा आवेदन माग गर्छौँ । जति सक्दो चाँडो प्रक्रिया अगाडि बढाउँछौँ,’ पोखरेलले भने ।
एक महिनाभित्रमा कम्तीमा १०० जना नर्सलाई बेलायत पठाउने गरी अनलाइन मार्फत आवेदन आह्वान गरिने उनको भनाई छ । मन्त्रालयले तयार पारेको प्रोटोकल लामो समयदेखि पारित हुन सकेको थिएन ।
बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारीका अवसर दिन ६ भदौ २०७९ मा नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता (एमओयू) भएको थियो । सोही आधारमा दुवै देशका अधिकारीहरूले प्रोटोकल तयार पारेका थिए ।
सम्झौता भएको ९ महिनासम्म प्रोटोकल पारित हुने सकेको थिएन । कहिले परराष्ट्र मन्त्रालय, कहिले कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिएको प्रोटोकल केही दिन अगाडि बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।
प्रोटोकल अनुसार मापदण्ड पुगेका नर्सहरू सर्ट लिस्टमा नाम निकालिनेछ । र अन्तर्वार्ता मार्फत बेलायत जानका लागि छनोट गरिने सहसचिव पोखरेलले बताए । स्वास्थ्यकर्मीको छनोटको सम्पूर्ण प्रक्रिया नेपालमा वैदेशिक रोजगार विभागबाट हुनेछ । त्यसको प्रत्यक्ष मनिटरिङ बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर (डीएचएससी) मार्फत हुनेछ ।
सम्झौता पत्रमा ८ वटा विषय उल्लेख गरिएका छन्–१. स्वास्थ्यकर्मीको छनौट र पदस्थापन नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने ।
२. नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन. एच. एस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने ।
३. विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने ।
४. नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने ।
५. परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने ।
६. नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने ।
७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ती प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ती तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने ।
८. समझदारी पत्र, नियुक्ती प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेवसाइट https://moless.gov.np/ मा उपलव्ध हुने तथा थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने ।