युवा पुस्तामा निराशामा छ । १० वर्ष लामो सशस्त्र विद्रोह र दोस्रो जनआन्दोलनको बलमा व्यवस्था परिवर्तन भयो । संविधानसभाले ८ वर्ष लगाएर नयाँ संविधान जारी गरेको पनि ८ वर्ष भइसक्यो, तर अवस्था फेरिएको छैन ।
राजनीतिक अस्थिरता कायमै छ, शैक्षिक संस्थाहरूमा हुने राजनीति उस्तै छ, अनि रोजगारीका अवसरहरू सृजना हुनसकेका छैनन् । रोजगारीको अवसर सृजना हुन नसक्दा युवा पुस्तामा विदेश जाने होड नै चलेको छ ।
त्यही होडमा छन् आईटीमा स्नातक गरेका धादिङका विकल श्रेष्ठ (२८) । यो वर्ष नभए अर्को वर्ष राम्रो होला कि भन्ने आशमा सात वर्ष बित्दा पनि आफूलाई खर्च जुटाउन बाहेक केही नभएपछि बेलायत जाने निर्णयमा पुगेको उनले सुनाए ।
उनी भन्छन्, ‘यहाँ काम नै पाइँदैन, पाएकाले पनि थोरै तलबमा काम गर्नुपरेको छ । त्यसैले धेरै विदेश जान खोजिरहेका हुन्, त्यसमध्ये म पनि एक हुँ ।’
भर्खरै स्टाफ नर्सको पढाइ पूरा गरेकी ज्योति बोहरा यहीं जागिर गर्ने सोचमा थिइन् । तर नर्सले पाउने तलब सुनेपछि भने विदेश नै जाने निर्णयमा पुगेकी छिन् ।
‘कतै आठ हजार रे कतै १०, कतै १२ हजार मात्रै दिन्छौं भन्छन्’ क्यानडा जान लागेका भाइको कागजात रुजु गराउन वैदेशिक अध्ययन अनुमति पत्र शाखामा पुगेकी ज्योति भन्छिन्, ‘नर्स पढ्दा १२ लाख बढी खर्च भयो, त्यति तलब खाएर कहिले खर्च उठाउनु, कहिले कमाउनु ?’
क्यानडामा कामसँगै पीआर पाउन सहज हुन्छ भन्ने सुनेकी उनी २३ असारमा दिएको लाइसेन्स परीक्षाको नतिजा आएपछि प्रक्रिया अगाडि बढाउने सोचमा छिन् ।
कागजात रुजु गराउन छोराछोरीलाई वैदेशिक अध्ययन अनुमति पत्र शाखा, भक्तपुरमा पुग्ने अभिभावकहरू पनि रोजगारीको अवसर नहुँदा युवाहरू विदेश जाने गरेको बताउँछन् ।
सिभिल इन्जिनियरिङ पढेका छोरालाई स्नातकोत्तर पढ्न अष्ट्रेलिया पठाउने तयारीमा रहेका राजाराम केसी भन्छन्, ‘मुख्य त अवसर नै पाउँदैनन् । अहिले पढेका बच्चाहरू धेरै छन्, अवसर छैन अनि बाध्य भएर जान्छन् । पश्चिमा प्रभावले पनि काम गरेको होला ।’
बढ्दोछ विदेशिने संख्या
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन शाखाको तथ्यांकले पनि हरेक वर्ष वैदेशिक अध्ययनमा जानेको संख्या बढिरहेको देखाउँछ ।
वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाको तथ्यांक अनुसार २९ पुस २०७७ देखि १६ पुस २०७८ सम्म (२०२१ जनवरीदेखि डिसेम्बरसम्म) ४४ हजार ८१२ जनाले एनओसी लिएका थिए । त्यो वर्ष सबभन्दा बढी ११ हजार ७११ जनाले जापान जान एनओसी लिएका थिए ।
अष्ट्रेलियाका लागि ८ हजार ६८० जना, अमेरिकाका लागि ४ हजार २८७ जना, क्यानडाका लागि ४ हजार १८४ जना र संयुक्त अधिराज्य (यूके) का लागि ४ हजार ५१५ जनाले एनओसी लिएका थिए ।
अर्को वर्ष यो संख्या झण्डै ४४ ले प्रतिशत बढ्यो । १७ पुस २०७८ देखि १६ पुस २०७९ सम्ममा १ लाख २ हजार ५०० जनाले वैदेशिक अध्ययनमा जान अनुमति लिए । यो वर्ष अष्ट्रेलियाका लागि मात्रै ६६ हजार ८०२ जनाले एनओसी लिएका थिए ।
अमेरिकाका लागि ५ हजार १२० जना, क्यानडाका लागि ११ हजार ३२ जना, जापानका लागि १६ हजार १५७ जना र यूकेका लागि ७ हजार ६२७ जनाले एनओसी लिएका थिए ।
२०७७ साल भदौदेखि अनलाइन आवेदन लिन थालेको शाखाले सुरुको दुई वर्ष अंग्रेजी महिना अनुसार तथ्यांक तयार पारेको थियो । तर पछिल्लो समय आर्थिक वर्ष अनुसार विवरण राख्न थालिएको छ, । जसअनुसार आर्थिक वर्ष २०७९/८० मा १ लाख १० हजार २१७ जनाले एनओसी लिएको शाखा प्रमुख वासुदेव वस्ती बताउँछन् ।
१११ देशका लागि एनओसी आवेदन परेकोमा सबभन्दा बढी अष्ट्रेलियाका लागि ३३ हजार ९९१ जनाले एनओसी लिएका छन् । क्यानडाका लागि २१ हजार ५४४ जना, जापानका लागि २१ हजार ६५८ जना र यूकेका लागि १० हजार ५२७ जनाले एनओसी लिएका छन् ।
पूर्व शिक्षामन्त्री शिशिर खनाल युवालाई नेपालमा रोजगारीको अवसर दिन नसक्दा विदेशिनेको संख्या बढेको स्वीकार गर्छन् । ‘एकातिर उच्च शिक्षाको गुणस्तरप्रति विश्वास घट्दो छ भने पढिसकेपछि पनि रोजगारीको अवसर देखिदैन’ खनालले भने, ‘नेपालमा पढेर भविष्य सुरक्षित बनाउन सकिन्छ भन्ने वातावरण तयार नहुँदा विद्यार्थीमा निराशा छाएको देखिन्छ ।’
ठीक विपरीत विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भन्दै उनले भने ‘अहिलेदेखि बाहिर गयो भने भविष्य सुरक्षित हुन्छ भन्ने भावनाले प्रेरित भएको देख्छु ।’
शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला पनि आशा जगाउनेभन्दा बढी निराशा छर्नेहरू धेरै भएकाले पनि युवा पुस्ताले यहाँ भविष्य नदेखेको बताउँछन् । विद्यार्थीलाई सम्भावना देखाइदिने, सम्भव बनाउने उपाय बताइदिने नहुँदा विदेशिएको उनको तर्क छ ।
भन्छन्, ‘उनीहरूलाई आशा जगाउने कोही पनि भएन । कन्सल्टेन्सी, पत्रकार, प्राज्ञिक, नेता भनाउँदाले केही छैन भनेपछि किन बस्छन् उनीहरु ?’