यी ८ कुरा, जुन किशोर-किशोरीले गुगलमा खोजिरहेका हुन्छन् !

    अहिलेका किशोर–किशोरीले मनमै कुरा गुम्साएर राख्नुपर्ने वाध्यता छैन । उनीहरु आफ्नो मनमा गाँठो परेको कुरा कुनै न कुनै माध्यामबाट सहजै पोख्न सक्छन् । खासगरी सोशल मिडिया वा गुगल उनीहरुको भरपर्दो माध्याम हुन् ।कतिपय कुरा यस्ता हुन्छन्, जो अरुलाई सोध्न असहज लाग्छ ।

    त्यस्ता प्रश्नका जवाफ अहिले धेरैले गुगलमा खोजिरहेका हुन्छन् । यसरी गुगलबाट कुनैपनि जवाफ खोज्नेमा किशोरपुस्ता अगाडि छन् । आफ्नो करियर वा रुचीको कुरा होस् वा फेसन ट्रेन्डको, यौनको कुरा होस् वा परिकारको उनीहरु गुगलमा खोजिरहेका हुन्छन् । आखिर किशोर किशोरीले गुगलमा धेरैभन्दा धेरै के कुरामा खोजिरहेका हुन्छन् ?

    १. स्वास्थ्यको कुरा :झट्ट हेर्दा त लाग्छ, उनीहरु गुगलमा केवल मनोरञ्जात्मक सामाग्री खोजिरहेका हुन्छन् । तर, अहिलेका किशोर किशोरीले धेरैजसो स्वास्थ्यबारे जिज्ञासा राखिरहेका हुन्छन् । खासगरी उनीहरु डिप्रेसन, एन्जाइटी, फिटनेसको बारेमा धेरैजसो प्रश्न गरिरहेका हुन्छन् ।कस्तो खानपान गर्ने, कसरी मोटोपन नियन्त्रण गर्ने जस्ता कुरा पनि उनीहरु गुगलमा खोजिरहेका हुन्छन् । कतिपयले गुगलबाटै व्यायामको विधि सिकिरहेका हुन्छन् ।

    २. विन्डो सपिङ :विन्डो सपिङले अहिले चल्तीमा आएको भाषा हो । यसले अनलाइन खरिदारीलाई इंगित गर्छ । विन्डो सपिङ भनेको भौतिक रुपमा कुनैपनि पसलमा उपस्थिती नभई गुगलबाट आफुलाई जरुरी सरसामनको विवरण हेर्नु भन्ने बुझिन्छ ।अहिलेका किशोर किशोरीले लुगाकपडा, मोवाइल, ल्यापटप, घडी, जुत्ता, किताब, चस्मा आदिको डिजाइन र मूल्यबारे गुगलबाट जानकारी लिइरहेका हुन्छन् । एक अध्ययन अनुसार धेरैजसो किशोर किशोरी अनलाइनबाटै सरसामन खरिद गर्न सहज मान्छन् ।

    ३. रिलेसनसिप र डेटिड :स्वभाविक हो, किशोर चरणमा पुगेपछि प्रेम र यौनको बारेमा बढी नै उत्सुकता हुन्छ । उनीहरु यस्तो कुरा आमाबुवा वा साथीभाईसँग खुलेर गर्न सक्दैनन् । त्यसैले आफुभित्र आउने यस्ता जिज्ञासाहरु उनीहरुले आफैभित्र गुम्साएका हुन्छन् ।कसरी केटा वा केटीसँग सम्बन्ध बनाउने, कसरी प्रेम गर्ने, कसरी डेटिङ जाने भन्ने कुरादेखि उनीहरुले यौनसँग सम्बन्धित थुप्रै प्रश्न गुगलमै खोजिरहेका हुन्छन् ।आफ्नो उत्सुकता मेट्नका लागि गुगल नै उनीहरुका लागि सुरक्षित र गोप्य माध्याम बन्ने गर्छ ।

    ४. प्रविधि र गेमिड :किशोरपुस्ता नयाँ नयाँ उपकरणप्रति चासो राख्छन् । विश्व बजारमा के कस्ता उपकरण भित्रिए ? उनीहरु सकेसम्म अपडेट हुन्छन् । मोवाइल होस वा अरु केही कुरा, उनीहरुलाई त्यसप्रति औधि रुची हुन्छ । गेमिङ र गेमिङ डिभाइसमा पनि उनीहरु धेरै चासो राख्छन् ।गुगलमा उनीहरु नयाँ नयाँ उपकरणबारे खोजिरहेका हुन्छन् । नयाँ मोवाइल वा कुनै डिभाईसको फिचर, मूल्यबारे प्रश्न गरिरहेका हुन्छन् । त्यसैगरी कतिपयले गेमिङको तौर तरिकाबारे गुगलमा खोज्ने गरेका छन् ।

    ५. शैक्षिक सहयोग :अहिलेका किशोर किशोरीले आफ्नो पढाई वा करियरका कुरा पनि गुगलमा खोज्ने गरेका छन् । असाइनमेन्ट गर्दा वा परीक्षाको तयारी गर्दा पनि उनीहरुले गुगलको सहयोग लिने गरेका छन् ।त्यसो त अहिले शैक्षिक सामाग्रीका थुप्रै स्रोत इन्टरनेटमा नै फेला पार्न सकिन्छ । कतिपय पाठ्पु्स्तमा नभएका कुरा पनि उनीहरु गुगलमा खोज्ने गर्छन् ।साथै समय व्यवस्थापन कसरी गर्ने, अध्ययन प्रक्रिया कस्तो हुनुपर्छ, कसरी नोट बनाउने जस्ता जुक्ति लिन पनि गुगलको सहयोग लिने गर्छन् ।

    ६. मनोरञ्जनका कुरा :अहिलेका किशोर किशोरी मनोरन्जनका कतिपय जानकारी पनि गुगलबाट लिने गर्छन् । सिनेमाका बारेमा, संगीतका बारेमा, कलाकारका बारेमा, कुनै इभेन्टका बारेमा उनीहरु गुगलबाटै जानकारी लिइरहेका हुन्छन् ।प्रख्यात कोरियाली सांगीतिक व्यान्ड बिटिएस, ब्ल्याक पिंकका बारेमा पनि धेरैले गुगलमा खोजिरहेका हुन्छन् । त्यसैगरी प्रदर्शनको मुखैमा रहेका सिनेमाका बारेमा पनि उनीहरु निकै चासोपूर्वक गुगलमा जानकारी खोजिरहेका हुन्छन् ।

    ७. करियरको खोजी:किशोरावस्थामा नै यस्तो चरण हो, जतिबेला उनीहरुलाई पढाईका साथसाथै करियरको पनि चासो हुन थाल्छ । भविष्यमा के गर्ने, के बन्ने, कसरी सुखी र खुसी जीवन पाउने भन्ने कुराले उनीहरुलाई करियरतर्फ चासो बढाइदिन्छ ।त्यसैले उनीहरु गुगलमा आफ्नो रुची अनुसारको करियरबारे जानकारी लिइरहेका हुन्छन् । साथसाथै रोजगारको अवसरबारे पनि उनीहरु खोजीरहेका हुन्छन् । कहाँ, के गर्ने भन्ने कुरामा उनीहरुको बढी नै चासो हुन्छ । अनलाइनबाटै गर्न सकिने कामहरुबारे पनि उनीहरु गुगलमा अवसरका खोजी गरिरहेका हुन्छन् ।

    ८. समाचार र घटनाक्रम :किशोरहरुलाई विश्वमा के भइरहेको छ ? कुन विषयमा वहस भइरहेको छ ? कुन कुरामा कसले के प्रतिक्रिया दिइरहेका छन् भन्ने कुरामा पनि चासो हुने गर्छ । विश्वमा भइरहेको राजनीतिक, सामाजिक कुराहरुबारे उनीहरुले गुगलबाटै जानकारी खोजिरहेका हुन्छन् । त्यसैगरी प्रविधि, मनोरन्जन जस्ता विषयमा पनि उनीहरु अपडेट भइरहेका हुन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *