चुरोटकाे लत छोड्‌न चाहनुहुन्छ ? वीर अस्पताल जानुहोस्,चुइङ्गम खानुहोस्

    तपाईं चुरोटको लतबाट छुटकारा खोज्दै हुनुहुन्छ ? चुरोटको तलतल छोड्न सक्नु भएको छैन ? छैन भने चुइङ्गम खानुहोस् । नपत्याएर वीर अस्पताल गएर चिकित्सकलाई भेट्नुहोस् त । अस्पतालले तपाईंलाई एउटा चुइङ्गम दिन्छ, त्यही चुइङ्गमले चुरोटको लत छोडाईदिन्छ । एक महिनाअगाडि विश्व स्वास्थ्य संगठनले वीर अस्पताललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत छोड्न चाहनेहरूका लागि निकोटिन चुइङ्गम उपलब्ध गराएको थियो ।

    संगठनले वीरलाई उपलब्ध गराएको २५ हजार ट्याब्लेट निकोटिनयुक्त चुइङ्गम एक महिना नपुग्दै सकिएको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । उनले भने, ‘चुरोट छोड्न चाहने व्यक्तिले एक दिनमा कतिवटा चुरोट सेवन गर्छ । त्यही अनुसारको मात्रा मिलाएर दिनुपर्ने हुन्छ । त्यही अनुसार एक जनाले एक दिनमा १२ वटासम्म ट्याब्लेट प्रयोग गर्नुपर्ने हुन्छ ।’

    चुरोटमा निकोटिनमात्र नभएर थुप्रै रसायन हुने गर्छन्, जसले क्यान्सर बनाउन मुख्य भूमिका खेल्ने गर्छन् । निकोटिनले लत बसाउने काम गरे पनि यसमा क्यान्सर बनाउने तत्व नभएको विज्ञहरूको भनाइ छ । वीरले चुइङ्गम वितरण सुरु गरेपछि अहिले यसको माग बढ्दो रहेको डा. पौडेल बताउँछन् । उनी भन्छन्, ‘अस्पतालले क्यान्सरका लागि छुट्याइएको रुपैयाँबाट किन्ने योजना बनाए पनि अनुमति नपाएका कारण हामीले ल्याउन सकेनौँ ।’

    अस्पतालमा चुइङ्गमको माग बढ्दै गर्दा त्यसको खरिदमा भने समस्या देखिएको छ । औषधि व्यवस्था विभागले उक्त चुइङ्गम खरिदका लागि अनुमति नदिएका कारण खरिदमा समस्या भइरहेको छ । उसो त, छिमेकी मुलुक भारतले लामो समयदेखि निकोटिनयुक्त चुइङ्गम बिक्री तथा वितरणका लागि अनुमति दिँदै आइरहेको छ । भारतमा उक्त चुइङ्गम व्यक्ति स्वयम्‌ले मेडिकलमा खरिद गरेर प्रयोग गर्न सक्ने प्रावधान छ ।

    तर, नेपालमा भने अहिलेसम्म यसले कानुनी रूपमा बिक्री तथा वितरणको अनुमति पाउन सकेको छैन । सरकारले धुम्रपान छोडाउनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । त्यस्तै धुम्रपान छुटाउनका लागि औषधिहरू उपलब्ध छन् । तर, यो बारेमा धेरैलाई थाहा छैन । औषधिको उपलब्धता कसरी हुन्छ र कुन माध्यमबाट सेवा पाइन्छ भन्नेबारे अलमलमा छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *