स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल, १७ प्रतिशत बोनस सेयर पारित

    स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल, १७ प्रतिशत बोनस सेयर पारित

    हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो । जुन जारी पुँजीको १५ प्रतिशत हो । प्रतिकित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ ।

    यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ । अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ ।

    साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ । साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, दल बहादुर भण्डारी र प्रेम बहादुर भण्डारी नियुक्त भएका छन् । यस्तै, सर्वसाधारण तर्फ गीता जोशी सायमी नियुक्त भएका छन् ।

    साधारणसभाले स्वतन्त्र सञ्चालकमा टंकमणी शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्व महालेखा परीक्षक हुन् ।