बझाङ भूकम्पबाट शिक्षा र स्वास्थ्यमा भएको क्षति पहिल्याइ पुनःनिर्माण गर्न सरकारलाई निर्देशन

    प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बझाङ जिल्लामा भर्खरै गएको भूकम्पको कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति पहिल्याएर तत्काल पुनःनिर्माणको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले समितिले भूकम्पको कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनःनिर्माणको लागि सरकारलाई निर्देशन दिएको हो यस्तै चिकित्सा शिक्षा एवं सिटिइभिटीको सम्बन्धन र गुणस्तर लगायतका विषयमा अध्ययन प्रतिवेदनको लागि गठित उपसमितिको समयावधि कार्तिक २० गतेसम्म कायम गर्ने निर्णय गरेको छ।

    समितिको आजको बैठकले संसदीय समितिहरुको प्रयोजनार्थ संघीय संसद सचिवालयवाट प्राप्त वार्षिक कार्यक्रम र विनियोजित रकमका सम्बन्धमा समितिका सदस्यहरुलाई अवगत समेत गराएको छ। त्यस्तै समितिले आवश्यकता ठहर गरेको विषयमा समस्या समाधान एवं गुणस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्र अन्तर्गतका विषय क्षेत्रगत उपसमिति वा कार्यदल गठन गर्ने निर्णय गरेको समिति सभापति भानुभक्त जोशीले बताए। समितिले आवश्यकता ठहर गरेको विषयमा समस्या समाधान एवम् गुणस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्र अन्तर्गतका विषय क्षेत्रगत उपसमिति वा कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।