धेरैलाई जानकारी नहुन सक्छ, जंगबहादुर राणा दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउँथे । यसको पछि पनि रोचक किस्सा रहेको छ । आफ्नो प्रारम्भिक दिनमा जङ्गबहादुर लफङ्गा, जुवाडे रहेको भएता पनि आफ्नो साहस, वीरता र चतुरपनका कारण नेपालको इतिहासमा एक सफल नायकका रूपमा चिनिने गर्छन्।
जङ्गबहादुर सेवामुक्त भएर हिँडिरहेको बेला वि.सं. १८९७ को माघ महिनामा हात्ती खेदामा आफ्नो बहादुरी देखाउँदा तत्कालीन राजा राजेन्द्र शाहबाट उनलाई तोपखानाको कप्तान दिएपछि उनी पुनः जागिरे हुन पुगेका थिए। जागिरे भएपछि उनले राजपरिवारको आँखामा पर्नका लागि अनेकौं वीरता देखाए । जसमा वि.सं. १९९८ मा दहचोक जङ्गलमा चितुवा काट्ने, मातेको हात्तीलाई नियन्त्रण गर्ने, त्रिशूली देवीघाटको झगडा मिलाउने, तत्कालीन युवराज सुरेन्द्रको आठपहरिया छँदा त्रिशुली बजार भ्रमणका सिलसिलामा त्रिशूलीमा हामफाल्ने, वि.सं. १८९९ वैशाखमा बाह्रवर्षे इनारमा हामफाल्ने लगायतका काम गरेका थिए।
नेपालका तत्कालीन युवराज सुरेन्द्रको स्वभाव रोमाञ्चकारी र सनकपूर्ण थियो। उनको अङ्गरक्षक रूपमा कार्य गर्दा जङ्गबहादुरले युवराजद्वारा दिइएको जोखिमपूर्ण, साहसिक र खतरनाक आदेशहरू पालना गर्नुपरेको थियो। जसमा त्रिशुली नदीमा घोडासहित हाम फाल्ने, धरहराबाट हाम फाल्ने, बाह्र वर्षे इनारमा हामफाल्ने जस्ता आदेश रहेको थियो। यस्तैमा वि.सं. १८९९ सालमा युवराजको आदेशमा जंगबहादुर कुँवरले काठमाडौंस्थित एक बाह्रवर्षे नामको इनारमा हाम फाल्नुपर्यो ।
त्यस इनारमा बाह्र वर्षसम्म काठमाडौंवासी राँगो, भैँसी आदिको हाड फाल्ने गरेका थिए । त्यस इनारमा युवराजले आफूलाई भोलि फाल हाल्न लगाउँछन् भन्ने कुराको जानकारी भएकाले जंगबहादुरले आफ्नो बाबु काजी बालनरसिंहलाई अवगत गराए । बालनरसिंहले ढाकरका ढाकर रूवा खरिद गरी त्यस इनारमा खसाल्न लगाए । युवराजको आज्ञाअनुसार भोलिपल्ट त्यस बाह्रवर्षे इनारमा फाल हाल्दा इनारभित्रको हाडले जंगबहादुरको दायाँ खुट्टाको कुर्कुच्चामा घोची घाउ भयो । जसका कारण उनले जीवनभर दायाँ खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठूलो लगाउँथे भन्ने किस्सा रहेको छ ।