बचतकर्ताको बचत फिर्ता गर्नका लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अघि बढेको बताउनुभएको छ ।

बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवम् उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अगाडि बढाउने छु । जो सुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने छौँ । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ र ल्याउँदै छ । सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अघि बढेको छ । हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ । ५७५ भन्दा बढी त जेलमै छन् ।’

साथै, उनले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभई बचतकर्ताको बचत फिर्ता गर्नका लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने समेत बताउनुभयो । उहाँले यसका लागि सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारी ठगहरुलाई कारबाही मात्र गर्ने होइन बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम सँगसँगै अघि बढाइँदै छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *