काठमाडौँ, १३ कात्तिक । ऊर्जा जल श्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले वैकल्पिक ऊर्जा तथा प्रवर्द्धनसम्बन्धी ऐन कानुनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौँका आयोजित वैकल्पिक उर्जा तथा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मुलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षित हुन जरुरी रहेको बताउनुभयो । उहाँले वैकल्पिक ऊर्जासम्बन्धी ऐन चाँडै पास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘अहिले जे समय परिवर्तन भएको छ । पहिलेको समयबाट वा परिस्थितिबाट माथि उठिसकेका छौँ । र समय सापेक्षित निति नियम ऐन कानुनको व्यवस्था गर्नुपर्ने छ । यसमा मन्त्रालय निरन्तर लागेको कुरा यहाँहरुलाई जानकारी नै छ । अब चाँडै नै यो ऐन पास हुने कुरा जानकारी गराउन चाहन्छु । मुलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक छ । त्यसैले हामी समयसापेक्षित हुन जरुरी छ ।’
उहाँले अहिले सबै निकायहरुलाई सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौँ भन्ने अनुभूति भएको भन्दै सबै निकायहरु सरकारकै अंगहरु भएको बताउनुभयो । मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर नै दिने भन्दै सबै नेपालीहरुको दायित्व सरकारले लिन सक्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले सबै निकायहरु सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौँ कि अनुभूति भएको रहेछ । त्यस्तो होइन हामीलाई दातृराष्ट्रहरुले, मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर दिएको हो । सबै नेपालीहरुको दायीत्व सरकारले लि सक्नुपर्छ र लिन्छ पनि ।सबै निकायहरु सरकारका अंगहरु हुन् ।’
उहाँले वैकल्पिक ऊर्जालाई देशको आम्दानीको मुख्य श्रोतमा सरकारले लिएको पनि बताउनुभयो । मन्त्री खड्काले आगामि वर्षसम्ममा सबै घरमा विद्युत् वितरण गरिसक्ने सरकारको लक्ष्यलाई प्राधिकरणले मात्र गर्न नसक्ने अनुभूति रहेको भन्दै यसमा वैकल्पिक ऊर्जाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।