दीपावलीको अवसरमा चलचित्र ‘डोरी’को घोषणा

दीपावलीको अवसरमा चलचित्र ‘डोरी’को घोषणा

काठमाडौँ, १६ कात्तिक । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नुहुने छ । यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो ।

निर्देशक लामाले यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताउनुभएको छ । ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाउनुभयो । उहाँका अनुसार चलचित्रमा हासो, त्रास, र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ।

चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नुतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहने छ भने मुख्य नायिकाको चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । यस चलचित्रमा प्रमुख भूमिका निभाउने मध्येका एक कलाकार राज पौडेलले यही चलचित्रमार्फत् चलचित्र अभिनयमा डेब्यू गर्दै हुनुहुन्छ ।

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गर्नुभएको छ भने स्क्रिप्टलाई अझ प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गर्नुभएको छ । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहनुभएको छ । सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशनमा राजु तामाङले गर्नुहुने छ ।

‘डोरी’ आगामी वर्ष सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *