तीन दिने भारत भ्रमण उपलब्धिमूलक भयो : मन्त्री खड्का

काठमाडौँ, २१ कात्तिक । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का भारत भ्रमण सकाएर स्वदेश फिर्ता हुनुभएको छ ।

गत आइतबार तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएका मन्त्री खड्का आज स्वदेश फर्किनुभएको हो ।

उहाँ भारतको नयाँ दिल्लीमा नोभेम्बर ३ देखि ६ सम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सातौँ महासभामा भाग लिन जानुभएको हो ।

उहाँले आफ्नो भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकार सम्मेलन गर्नुहुँदै आफ्नो तीन दिने भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो । उहाँले भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो भ्रमण उपलब्धिमूलक रहेको छ । भारत सरकारले उच्च सम्मानकासाथ नेपाललाई हेरेको छ । अरु राजनीतिक केही भेटघाटहरु पनि भए ।’

उहाँले २०३५ सम्म २८ हजार पाँच सय मेघावट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई परिपूर्ति गर्न सहयोगको लागि भारत सरकार उत्साहित रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब जुन २०३५ सम्म २८ हजार पाँच सय मेघावट विद्युत उत्पादन गर्ने जुन लक्ष्य लिएको छौँ । त्यसलाई कसरी परिपूर्ति गर्ने भनेर त्यहाँका ठुला व्यवसायीक व्यक्तित्वहरुसँग पनि छलफल भयो । उहाँहरु पनि उत्साहित हुनुहुन्छ, चाँडै आउँदै हुनुहुन्छ यहाँ काम गर्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *