सुदूरपश्चिम रोयल्स र सूर्य प्लाइबीच सम्झौता

काठमाडौँ, १२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइसँग प्रायोजन सम्झौता गरेको छ ।

रोयल्सले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाइको साथ पाएको हो । सूर्य प्लाइको तर्फबाट सवारागी प्लाइवूड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि सिइओ खड्काले रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो । ‘प्लाइवूड क्षेत्रमा अग्रणी रहेको सूर्य प्लाइ नम्बर १ संस्था हो । सुदूरपश्चिम नेपाली क्रिकेट समर्थकमाझ निकै लोकप्रिय रहेको अवस्थामा समर्थकहरुले एनपिएलको सुरुवाती चरणमा लगानी गरिरहेको संस्थाहरुलाई आफ्नो स्थानबाट साथ दिनुहुनेछ भन्ने आशा छ,’ खड्काले भन्नुभयो ।

प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपिएलले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सूर्य प्लाइको साथ रहने विश्वास दिलाउनुभयो । ‘सुदूरपश्चिम रोयल्ससँग हातेमालो गर्न पाउँदा निकै खुसी छौँ । खेलकुद विकासमा हामी सधैँ सकारात्मक छौँ र म आफैँ पनि कुनै समय मेचीको प्रतिनिधित्व गर्दै टुँडिखेलमा क्रिकेट खेलेको थिएँ । खेलकुदको विकासका लागि निजी क्षेत्रको आवद्धता हुनुपर्ने बुझेर नै हामीले रोयल्ससँग हातेमालो गरेका हौँ,’ उहाँले भन्नुभयो ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहनुभएको छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अली जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (युएई) लाई टिममा समावेश गरेको छ ।

त्यस्तै, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाएर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर बसन्त खत्रीलाई छनोट गरेको छ । अर्जुन र नरेन भने हाल यू-१९ टोलीमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *