काठमाडौँ, १२ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) ऋणमा लिनु उचित नभएको बताउनुभएको छ ।
बुधबार काठमाडौँमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उहाँले अहिले चीनसँग बिआरआई अन्तर्गत कुनै ठुला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बिआरआई ऋणमा लिनु उचित नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पुँजीगत खर्च २२–२३ प्रतिशत जम्म छुट्याउँछौँ कुल बजेटको खर्च हुन्छ त्यसको पनि ५० प्रतिशत खर्च हुन्छ । यो स्थितिभित्र हामीले थप लोनहरु लिन सक्ने अवस्थामा चाहिँ छैनौँ । त्यसैले अहिले यति नै बेला चीनसँग बिआरआईअन्तर्गत कुनै ठुला प्रोजेक्टमा लोन लिएर गरौँ भन्ने खालको कुरा चाहिँ आवश्यक छ जस्तो लाग्दैन । उचित छैन । यो समय परिपक्क होइन भन्ने नै लाग्छ ।’
उहाँले बाहिरबाट दिने ऋणमा अप्ठ्यारा सर्तहरु आउने गरेको भन्दै अप्ठ्यारा कुराहरुलाई राजनीतिक आँखाले हेर्न नहुने बताउनुभयो । प्रधानमन्त्रीको चीन भ्रमणमा चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउने गरी सफल पार्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘लोनहरुमा हुने अथवा आउने सर्तहरु अलि अलि अप्ठ्यारा छन् । जुन सुकै देशको हकमा पनि यस्ता अप्ठ्यारा कुराहरुलाई त्यहीँ ढंगले डिल गर्नुपर्छ । यसलाई राजनीतिक आँखाले हेर्नु हुँदैन भन्ने मेरो आँखा छ । प्रधानमन्त्रीज्यूको चीन भ्रमण हुँदै गर्दा यी सबै विषयलाई ध्यानमा राखेर चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउने गरी भ्रमण सफल होस् आग्रह गर्न चाहन्छु ।’