काठमाडौँ, १२ मंसिर । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताउनुभएको छ । ‘महिला हिंसा विरुद्घ म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानसिक हिंसा भएपनि महिलाहरुले निरन्तर लडाइँ गरेर हार मान्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय तहमा ४० प्रतिशत महिलाहरुको उपस्थिति छ भनेर हरेक पुरुष साथीले भाषण गर्नुहुन्छ, राजनीतिमा महिलाहरुलाई शारीरिकभन्दा पनि मांनसिक हिंसा धेरै हुन्छ । त्यो मानसिक हिंसा हुँदाखेरी हामीले हार खानु हुन्न । हामीले निरन्तर लडाइँ गर्नुपर्छ । हामी प्रत्येक व्यक्तिको पछाडि लेखियो भने थुप्रै उपन्यास बन्छन् । सबैभन्दा मुख्य कुरा राजनीति हो । सबै कुराको कमाण्ड राजनीतिले गर्छ । ’
साथै उहाँले महिलाहरु कुनै क्षेत्रमा पनि कमजोर नभएको बताउनुभयो । महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै क्षेत्रमा पनि महिला कमजोर छैनन् । महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्छन् । तर, म जुन समय महिला सभापति भए त्यो समयको अनुभव मलाई थुप्रै छ । उमेरको हिसावले म सानो सबैभन्दा सानो थिएँ । मन्त्री, सांसद सबैले मलाई छोरी भन्नुहुन्थ्यो । तर, पनि म महिला सभामुख भएर पनि हरेक दलका नेताहरुलाई भेट्न घरघरमा पुग्थे । अहिलेका सभामुख कोही घर घरमा पुगेको सुन्नुभएको छ ? ’
साथै उहाँले राजनीतिक दलहरुलाई एक बनाउनका लागि आफूले हरेक प्रयासहरु गरेको बताउनुभयो । उहाँले राजनीतिक दललाई एक नगरीकन र एक ठाउँमा नल्याइकन बनाइएका कानुनहरु दिगो नहुने बताउनुभयो ।