काठमाडौँ, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना दलहरु रुपान्तरण हुनुपर्ने बताउनुभएको छ ।
शनिबार सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै अध्यक्ष प्रचण्डले नयाँ दल र व्यक्तिहरुमाथि राज्यले डण्डा हान्नु नहुने धारणा राख्नुभयो ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन् । जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैँचामा फूलेका सुन्दर फूल भन्दै आएको छु,’ अध्यक्ष प्रचण्डले भन्नुभएको छ,‘लोकतान्त्रिक प्रक्रिया अबलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न सम्भव छ।’
अध्यक्ष प्रचण्डले बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुने पनि औंल्याउनुभयो । त्यस्तै, उहाँले अगाडि भन्नुभएको छ,‘ सही र गलतको पहिचान जनताले गर्छन्, शासकको डण्डाले हैन । यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’