काठमाडौँ, १६ मंसिर । नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपिएल) लागि कीर्तिपुरस्थित टियू क्रिकेट मैदान दर्शकहरुले खचाखच छ ।
सीमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उद्घाटन खेल सुरु हुनु तीन घण्टा अघिदेखि दर्शकहरु प्रवेशद्वारमा खचाखच थिए ।
उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुने भएकाले आ–आफ्ना टिमका समर्थकहरु प्ले कार्ड र खेलाडीका तस्बिरहरु बोकेर मैदान परिसरमा देखिन्थे । खेल हेर्नका लागि मैदान बाहिर दर्शकको उपस्थिति थामिनसक्नु छ ।
विश्वचर्चित खेलाडीहरुको आगमनले एनपिएलको क्रेज थप बढेको छ । नेपाली क्रिकेटप्रेमीहरु विशेषगरी स्टार खेलाडीहरुको समर्थनमा मैदानमा आएको प्रतिक्रिया दिएका छन् ।
जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै, टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।
यता, विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेप्रति दर्शकहरुको क्रेज तुलनात्मक रुपमा बढी देखिएको छ ।
मैदान परिसरमा भेटिएका दर्शकहरुले टिम र खेलाडीका बारेमा प्रतिक्रिया दिएका छन् । मैदान परिसरमा भेटिएका दर्शक सञ्जिता नेपालले विरानगरको समर्थनका लागि खेल हेर्न आएको प्रतिक्रिया दिनुभयो ।
‘म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ । टिममा प्राय लोकल खेलाडीहरु भएका हुनाले उहाँहरुले राम्रो खेल्नुहुन्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो ।
अर्का दर्शक विवेक धितालले विराटगरको समर्थनमा आएको प्रतिक्रिया दिनुभयो । ‘म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ तर टिकटबारे अन्योलता छ । टिकट कहाँबाट लिने हो कहाँबाट हेर्ने हो केही थाहा छैन,’ उहाँले भन्नुभयो,‘जे होस म क्रिकेटको ठुलो फ्यान हुँ ।’
जनकपुरको समर्थनमा आएका ऋषि कुमार महतोले टिममा धेरै राम्रा खेलाडीहरु रहेको प्रतिक्रिया दिनुभयो । उहाँ भन्नुहुन्छ,‘सबैले जनकपुरलाई सपोर्ट गरिदिनुहोला ।’
मैदानमा भेटिएका अधिकांश क्रिकेटप्रेमीहरुले सन्दीप लामिछाने आबद्ध विराटगरप्रति सहानुभूति देखाएका थिए ।